मन्त्रिमण्डल परिवर्तन: माओवादीबाट वर्षमान पुन, शक्ति वस्नेत र देव गुरुङ मन्त्री बन्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन्त्रिमण्डल परिवर्तन: माओवादीबाट वर्षमान पुन, शक्ति वस्नेत र देव गुरुङ मन्त्री बन्दै



काठमाडौं- मन्त्रिमण्डल परिवर्तन र समासामयिक विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरुको बैठक अहिले बालुवाटारमा सुरु भएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत छन् ।

गठबन्धनको बैठकमा अमेरिकी सैन्य रणनीतिपछि बढेको चौतर्फी बिबाद, अर्थमन्त्रीबारे भइरहेको आलोचना, सरकार पुर्नगठन र संघ र प्रदेशको निर्वाचन घोषणालगायतका विषयमा छलफल भइरहेको छ ।

त्यसैगरी आजको बैठकमा बजेट पासको बेला एमालेको आकस्मिक सदन बहिस्कारको रणनीति, राष्ट्रपतिको अस्वभाविक चांसो र अमेरिकी सरकारको निम्तोमा हुन गइरहेको प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगनको विषयमा समेत छलफल हुने स्रोतको दावी छ ।

सत्तारुढ दलको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा गृहमन्त्री बालकृष्ण खांड र मुख्यसचिव शंकरदास वैरागीसंग समेत भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा केही बढुवा र सरुवाका बारेमा उनले चांसो राखेको स्रोतले बतायो ।

सत्ता गठबन्धनमा मन्त्रिमण्डल पुर्नगठनबारे आवाज उठिरहेको छ । समाजवादी र जसपाभित्र मन्त्रिमण्डल पुर्नगठन गर्नुपर्ने आवाज उठेपनि प्रधानमन्त्री देउवा भने पुर्नगठन गर्ने पक्षमा छैनन । आजको बैठकमा त्यसबारेमा छलफल हुंदैछ ।

माओवादी केन्द्रले मन्त्रिमण्डलको नाम प्रधानमन्त्रीले मागेमा नेताहरु वर्षमान पुन, शक्ति वस्नेत र देव गुरुङको नाम पठाउने तयारी गरेको छ ।