माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने तयारी,मंसिरसम्म सरकार परिवर्तन नगर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने तयारी,मंसिरसम्म सरकार परिवर्तन नगर्ने



काठमाडौं /असोज १७ 

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको छ । बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा एमाले सहितका बाम पार्टीहरुबीच एकता तथा सम्भावित तालमेलकाबारेमा छलफल भएको प्रवक्ता पम्फा भुसालले  बताइन् ।

माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई एकताको लागि छलफल गर्ने जिम्मा दिएको पनि भुसालले बताइन् ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । यसका लागि मंगलबार नै एमालेसँग तीन नेताले छलफल गर्ने पनि माओवादी स्रोतले बतायो ।

एमालेको निर्णय लगत्तै भएको माओवादी केन्द्रको यो निर्णय दुई पार्टीबीच तत्कालै पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ । एमाले र माओवादी केन्द्र यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।

मंसिरसम्म सरकार परिवर्तन नगर्ने  

दुई पार्टीबीच सहकार्य र तालमेल भए पनि तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकार भने परिवर्तन नहुने भएको छ । निर्वाचनअघि नै सरकार परिवर्तन गर्न निर्वाचनमा विभिन्न षड्यन्त्र हुन सक्ने भन्दै मंसिरसम्म सरकार परिवर्तन नगर्ने पनि दुई दलबीच समझदारी भएको माओवादी एक हेडक्वाटर सदस्यले बताए ।

प्रारम्भिक निर्णय मंगलबार सार्वजनिक गर्ने 

एमाले र माओवादी केन्द्रबीच भएको समझदारीको प्रारम्भिक निर्णय मंगलबार नै सार्वजनिक गर्ने भएको छ । सहमतिका केही प्रारम्भिक निर्णय सार्वजनिक गरिने ती हेडक्वाटर सदस्यले बताए ।