माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने



काठमाडौं,साउन ८  ।

सत्तारूढ नेकपा माओवादी केन्द्रले युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताउने भएको छ । माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णयसमेत गरेको छ । शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रूपमा वाईसीएल गठन गरेको थियो ।

अाजको राजधानी दैनिकमा खबर छ– देशभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स गठन गरेको थियो । दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भिडन्तका साथै युवा संगठनका नाममा ज्यादती बढेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २ साउनबाट सुरु भएर शनिबार सम्पन्न सचिवालय सदस्यहरूको बैठकले २ र ३ भदौमा वाईसीएलको सम्मेलन गर्ने र सक्रिय बनाउने निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

नेकपा माओवादी केन्द्रले पुराना मुद्दाहरूलाई जोडतोडका साथ ब्युँझाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न सक्रिय भएर लाग्ने निर्णय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा जोडतोडले उठाउने निर्णय भएको छ, हेडक्वार्टर सदस्य मणि थापाले राजधानीसँग भने,‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्न सबै राजनीतिक दलहरूसँग आह्वान गर्नेे र पार्टीले यसलाई मुख्य राजनीतिक नारा बनाउने निर्णय भएको छ ।’

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारा बोक्दै आए पनि संविधान निर्माणको क्रमदेखि थाती राखेको थियो । करिब डेढ वर्षपछि माओवादीले ओझेलमा रहेको आफ्नो पुरानै एजेन्डालाई स्थापित गर्ने निर्णय गरेको हो ।

वैद्य र विप्लवसँग पार्टी एकता आह्वान माओवादी केन्द्रले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि अपिल गरेको छ । सचिवालय बैठकले माओवादी धु्रवीकरणको प्रस्ताव पास गर्दै वैद्य र विप्लव समूहलाई पार्टी एकताका लागि अपिल गरेको हो ।

बैठक समापनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीसँग एकताका लागि लचक भएर प्रस्तुत हुने बताए । उनले परिवर्तनका एजेन्डा रक्षाका लागि माओवादी शक्तिहरू मिल्नुको विकल्प नरहेकोमा जोड दिएका थिए । केही दिनयता विभिन्न माओवादी घटकबीच अनौपचारिक रूपमा एकताको पहल हुँदै आएकोमा माओवादी केन्द्रले बैठकमार्फत नै एकताका लागि अपिल गरेको हो ।