माओवादीका अधिकांश पदाधिकारीलाई जनताले रुचाएनन् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादीका अधिकांश पदाधिकारीलाई जनताले रुचाएनन्



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ मध्ये अधिकांश पदाधिकारी पराजित भएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उम्मेदवार बनेका १० मध्ये ४ जना पदाधिकारी मात्रैले संसदीय यात्रा तय गरेका हुन् ।

केही पदाधिकारी उम्मेदवार नै बनेनन् भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनुपरेको छ । हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत छन् ।

सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित भए । उपमहासचिव हरिबोल गजुरेल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा यसपटकको निर्वाचनमा उम्मेदवार नै बनेनन् ।

महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित भए । नौ जना सचिवमध्ये देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित भए । सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट पराजित भए भने अन्य सचिवहरू गणेश साह, दिनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य उम्मेदवार नै बनेका थिएनन् ।