जनार्दन मन्त्री भएर फर्के, सचिव मरासिनी भागे - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनार्दन मन्त्री भएर फर्के, सचिव मरासिनी भागे



काठमाडौं । बजेट बनाउँदा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ चर्को दबाबमा थिए ।

त्यति नै बेला अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले ‘अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिए । आफ्नै मन्त्रालयका सचिवले राजीनामा दिनुपर्ने भनेपछि जनार्दन झनै दबाबमा परेका थिए ।

त्यति मात्र होइन, अर्थमन्त्रीलाई थप नैतिक दबाबमा पार्न मरासिनी अचानक बिदामा बसे । तर, अर्थमन्त्री शर्माले राजीनामा दिनएको भोलि पल्ट असार २३ गते मरासिनी टुप्लुक्कै मन्त्रालय हाजिर भए । शर्माले राजीनामा दिएको भोलि पल्ट टुप्लुक्क मन्त्रालय आएपछि उनलाई अर्थमन्त्रीको विरुद्धमा लागेको आरोप लाग्यो ।

चौतर्फी आलोचना र राजीनामा माग गर्दै संसद अवरोध लगायतको दबाबपछि जनार्दनले असार २२ गते राजीनामा दिए । त्यसपछि उनी निरन्तर काममा थिए । तर, आइतबार पुनः हराए ।

जनार्दनले अर्थमन्त्रीबाट राजीनामा दिएपछि संसदीय छानविन समिति बन्यो । समितिले अर्थमन्त्रीलाई लगाइएको आरोप पुष्टि गर्ने केही प्रमाण नभेटिएको प्रतिवेदन तयार पर्यो । जनार्दन २५ दिनपछि पुनः अर्थमन्त्री भएर मन्त्रालय फर्के । तर, अर्थमन्त्रीलाई हटाउन नैतिक दबाब दिने सचिव मरासिनी एकाएक गायब भए ।

आफैले मन्त्रीबाट राजीनामा दिन दबाब दिएका व्यक्ति पुनः मन्त्री भएर आएपछि मरासिनी नैतिक संकटमा परेका छन् । त्यसैले उनी मन्त्रीलाई स्वागत गर्न आएनन् । मन्त्रालयलाई नै जानकारी नदिई सुटुक्कै भागे ।

अर्थ मन्त्रालयमा दुई सचिव हुन्छन् । हाल मरासिनी र कृष्णहरी पुष्कर अर्थका सचिव हुन् । मरासिनी मन्त्रालय हेर्ने मन्त्री पछिका सचिव हुन् । तर, अर्थमन्त्री शर्मालाई दोस्रो वरियताका सचिव पुष्करले मात्र स्वागत गरे ।

अर्थमन्त्रीमाथि छानविनका क्रममा संसदीय समितिले सचिव मरासिनीलाई किन अचानक बिदामा बसेको ? भनेर सोधेको थियो । उनले मानसिक दबाबमा परेका कारण बिदामा बसेको भन्दै सामान्य जवाफ दिएका थिए । त्यतिखेरसम्म पनि उनी जनार्दनले ‘क्लिन चिट’ पाओस भन्ने पक्षमा नरहेको अर्थका एक कर्मचारीले बताए ।

अर्थ स्रोतका अनुसार जनार्दन पुनः मन्त्री हुने भएपछि मरासिनी अब कसरी मुख देखाउने ? भन्दै आइबार विहानै पोखरातिर लागेका हुन् ।

स्रोतसँग मरासिनीले भनेका थिए– ‘मन्त्रीबाट राजीनामा दिनुपर्छ भनियो, त्यति नै बेला बिरामी भएको बहानामा बिदा पनि बसियो । उनै व्यक्ति मन्त्री भएर आउँदैछन् अब कसरी मुख देखाउने ? म पोखरातिर लागेँ ।’

नजिकका ति व्यक्तिलाई पोखरातिर लागेँ भनेता पनि मरासिनी आइतबार पोखराका कुनै पनि सार्वजनिक स्थल र कार्यक्रममा देखिएनन् ।