मास्क नलगाई घरबाहिर निस्किने जो कोहीलाई पनि पक्राउ गर्न गृहको निर्देशन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मास्क नलगाई घरबाहिर निस्किने जो कोहीलाई पनि पक्राउ गर्न गृहको निर्देशन



काठमाडौं- गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।