कथा भन्ने मास्टर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कथा भन्ने मास्टर



-दुर्गा ढेंगा

कहिलेकहीँ कक्षामा आफूले कथा पढाइरहँदा केटाकेटीले मेरै पो कथा बनाइरहेका छन् कि भनेर डराउने गर्छु । अझ केटाकेटी मुसुमुसु हाँस्न थाले भने त मेरो सातो नै जान्छ । कता हो कता शङ्काले घेर्न थाल्छ र म थाहा नपाउने गरी किताब माथि सार्छु । अनुहार छोपिन्छ । म घाँटीलाई मरक्कै पार्छु र भुइतिर हेर्छु । जुत्ताका तुना पनि ठिक छन् र पाइन्टको ‘चेन’ पनि । आश्वस्त हुन्छु र फेरि कथा अगि बढाउँछु ।
मलाई नेपाली पढाउने गुरुलाई जस्तो कथा कण्ठ हुँदैन । म हरेक वर्ष त्यही कथा नयाँ मानेर पढ्छु । हरेक वर्ष फरक तरिकाले पढाइरहेको हुन्छु ।
धेरै दिन भएको थियो अङ्ग्रेजीको ग्रामर पढाउँदा पढाउँदा दिक्क भएको । सायद म भन्दा पनि विद्यार्थी ।
उनीहरूको माग थियो आज मैले कथा सुनाउनु पर्छ । हुन त कक्षामा केही त्यस्ता विद्यार्थी पनि थिए, जसलाई मेरो कथा फिटिक्कै मन पर्दैनथ्यो । यो मलाई कसरी थाहा हुन्थ्यो भने, उनीहरूलाई मैले पढाएको राम्रो लागेको वेला मलाई हेरेर बस्थे । मन नपरेको वेला, किताबमा हेरेर बस्थे । एकोहोरो ।
तर म त्यस्तो मेरा कथा मन नपर्नेका कुरा छाडिदिन्थेँ । आखिर थिए नि त मेरा कथाका श्रोताहरू पनि । उनीहरू मलाई कहिलेकाहीँ त बाटोमा भेट्दा पनि कथा सोध्थे ।
तर त्यसदिन मसँग कुनै कथा थिएन । किताबका कथा सबै सुनाइसकेको थिएँ । कथा सुनाउने मेरा बहाना गजवका थिए । एक, लामो बिदा पछि स्कुल खुलेको दिन । दुई, कुनै कारणवस कक्षामा विद्यार्थी थोरै भएको दिन । तीन, हरेक शुक्रवार । यो प्रक्रिया वर्षौँ भरी चलिनैरहन्थ्यो । कहिलेकाहीँ त दुइतिन दिन नै लगाएर लघुउपन्यासहरु समेत सुनाएको याद छ ।
अँ, तर त्यसदिन मसँग कुनै कथा थिएन ।

महिनौँदेखि म एउटा मानसिक तनावमा थिएँ । त्यो समस्या न कसैलाई भन्न सकिरहेको थिएँ न त त्यसको निकास नै भेटिरहेको थिएँ ।

विशेषतः कक्षा आठमा जान मलाई सकस परिरहेको थियो । कारण, सनमले मलाई एकोहोरो हेरिरहनु । हुन त सम्भावना, यस्तो भएको पनि हुनसक्थ्यो, मैले नै सनमलाई एकोहोरो हेरिरहनु ।
तर स्पष्ट के थियो भने, जब मैले उतिर हेर्थेँ । उसले पनि मलाई नै हेरिरहेकी हुन्थी । यो प्रक्रिया जहाँतहीँ चलिराखेको हुन्थ्यो । कक्षामा । मर्निङ प्रेमा । क्यान्टिनमा । धारोमा । जताततै । जहिलेसुकै ।

मैले उतिर हेर्नु र उसले मतिर हेर्नु संयोग मात्र हैन भन्ने मेरो बुझाइ थियो । किनभने हाम्रा आँखा जुधेपछि ऊ पनि हाँस्थी । एक सेन्टिमिटर गाला तन्काउँथी । तर आवाज शून्य । म भने यता दुइचारवटा जुँगा मात्रै हल्लाउँथे । आफ्नै मात्र कानले सुन्ने गरी आवाज आउँथ्यो–हेँ ।
मैले उनीहरूलाई एक पेज ह्यान्ड राइटिङ्ग लेख्न दिएँ ।
साँझ रेस्टुरेन्टमा रक्सी खाँदै गर्दा साथी योगन्द्रलाई यो कुरा सुनाएँ । योगेन्द्र जो मेरो सबैभन्दा मिल्ने साथी । स्कुलमा गणित पढाउँथ्यो ।
ऊ छाँगाबाट खसे झैँ भयो । एक ‘स्वाक’ रक्सी तान्यो र निधार मिच्दै भन्यो, ‘थेत् यार । तिमी यस्तो कुरा नगर त मसँग ।’

गर्न मन त कहाँ थियो र मलाई पनि । आफ्नै विद्यार्थी अनि प्रेम ! कस्तो उकुसमुकुस लाग्दो विषय ।
त्यसपछि मैलै अरू कुरै गरिनँ । तर मनले भने उसैलाई खोज्न थालिसकेको थियो । ऊसँग बोल्ने बहाना । ऊसँग भेट्ने बहाना ।
तर यी सब सम्भव थिएन । मेरो, उसको र सिङ्गो विद्यालयको इज्जतको सवाल थियो ।
एक दिन अफिसमा कपी ल्याएर चेक गर्दैगर्दा उसको कपीमा अनौठो नाम देखेँ । सनम कार्की ‘मोटाकली’ ।

मोटाकली ? के हो यो ? तत्काल शब्दकोशमा शब्द खोजेँ । तर शब्दकोशमा भेटिन । हुन त हरेक नामको अर्थ हुनुपर्छ भन्ने के छ र ? कतिपय वेअर्थी नाम नहुने हैनन् ।
तर मोटाकली ?
बेअर्थी नामको पछाडि पनि त एउटा कथा हुन्छ । जस्तो, पण्डितले राखिदिएको । बाउले राखिदिएको । जन्मदर्ता गर्दा एकातिर लेख्दिएको । यस्तैयस्तै ।
तर मोटाकली चाहिँ कसले राखिदिएको ? या किन राखेको ? यसको पनि त एउटा कथा हुन सक्छ ।

कक्षामा गएर कापी दिँदै भने, ‘के छ मिस मोटाकली ?’
सबै हाँसे । सिवाय हामी दुई ।
ऊ चुपचाप उठी र कापी लिई । यसो गर्दैगर्दा एक पटक आँखा तरेर हेर्न पनि भ्याई । के त्यो हेराइमा माया थियो ?
टिफिन टाइममा उसलाई मछेउँ बोलाएँ ।
‘मोटाकली भनेको के हो ?’ सोधेँ ।
‘नेवारी भाषा हो ।’ उसले भुईँतिर हेर्दै भनी ।
‘के अर्थ ?’ मैले सोधेँ ।
‘खोइ । एउटा चिज हो ।’
‘कस्तो चिज ?’
‘मलाई था’छैन ।’
‘त्यसोभा’ नाम किन राखेको त ?’
‘अजीले त्यसै भन्नुहुन्छ ।’ उसले भनी ।
‘अजी ?’ मेरो प्रश्न थपिएको थपियै ।
‘घरबेटी अजी ।’
‘त्यसोभा’ तिम्रो अजीलाई भेट्न म तिम्रो रुममा आउँछु ।’ मलाई बहाना चाहिएको थियो ।
उसले एक पटक पुर्लुक्क हेरी । निधारमा आएको कपाललाई टाउको हल्लाएर मिलाई ।
‘कैले ?’
‘साँझ ।’
‘कतिखेर ?’ उसको प्रश्न थपिन थाल्यो ।
‘एक पटक घर गएर आउँछु ।’ जिस्किएँ, ‘नास्ता बनाएर राख है ।’
‘के नास्ता पकाम् ?’ उसले सोधी । अलि सहज भएर बोली ।
नजिकै प्रिन्सिपल आएको देखेर भनेँ, ‘एज यु लाइक् ।’

मोटाकली
खुरुखुरु घर आएँ । मनमा अनौठो तरङ्ग फैलिइरहेको थियो ।
सफल सर । तर सबै केटाकेटीले राखिदिएको नाम चाहिँ कथा भन्ने मास्टर । हुन पनि उहाँ हामीलाई बारम्बार कथा भनिरहनुहुन्थ्यो । उहाँ आफैले पनि कथा लेख्नुहुन्थ्यो र सुनाउनु हुन्थ्यो ।
मेरो नाम सनम कार्की । घर वन्दीपोखरा । तानसेनबाट पाँच किलोमिटर पश्चिम । अं सदरमुकामबाट नजिकै भए पनि हाम्रो गाउँमा बोर्डिङ स्कुल नभएकाले बाबाले मलाई तानसेन राख्नुभएको थियो ।
टक्सारटोलको एक पुरानो घरको दोस्रो तलामा डेरा । आमा घरमै व्यस्त । बाबा खरिदार । गुल्मीको एउटा गाउँमा गाविस सचिव ।

कोठामा आएपछि झोलालाई खाटमा फालेँ । जुत्ता फुकालेँ र खाटमुनि राखेँ । छिट्छिटो ड्रेस फुकालेर अजीलाई भेट्न गएँ । एकतला माथि ।
अजी घरमा एक्लै बस्नुहुन्थ्यो । हुन पनि उहाँका छोरा भएनछन् । तीन छोरीको बिहे भएर कता कता आफ्नै घरमा । अजाले छोडेर गएको पनि पाँच वर्ष भैसकेको ।
अनि अजीकी साथी म भएकी थिएँ । यसो गर्नु परे पनि म । उसो गर्नु परे पनि म । मासु पाके पनि म । चिया पाके पनि म ।
तर उहाँले मेरो नाम भने विगारीदिनुभो । उहाँले मेरो नाम मोटाकली राखिदिनुभो ।
मोटाकली । दियो । उज्यालो । उहाँले यसै भन्नुभो, ‘तिमी उज्याली छेउ । दियो जस्तै धपधप वलेकी ।’
उहाँले कान्छी छोरीलाई समेत मोटाकली भन्नुहुँदोरहेछ । म पनि उहाँलाई उहाँकी कान्छी छोरी जस्तै लाग्दी रहिछु ।
बिस्तारै मलाई पनि मोटाकली नाम प्रति माया बढेर आयो । अनि नामको पछाडि कहिलेकाहीँ मोटाकली झुन्ड्याउन थालेँ ।
तर यत्तिको लागि सर मकहाँ आउने कुराले मभने अचम्ममा परेँ ।
अजी तरकारी किन्न बजार जानुभएको रहेछ । फर्केर आएँ । चिया पकाएर खाएँ । कापीकिताव निकालेर होमवर्क लेख्न थालेँ ।
तर मन भने कता कता पुगिरह्यो । आफ्नै ठेगानमा रहेन मन । कतै हराए जस्तो ।
झ्यालबाट बाहिर हेर्न थालेँ । बा, सर सञ्चालिकै आउनुहुने पो हो कि ! सरको कुरामा विश्वास नभए पनि अविश्वासै गरिहाल्नुपर्ने कारणै पनि त थिएन ।
किनकिन मलाई पनि सफल सर मन पर्न थालेको थियो । उहाँलाई हेरुँहेरुँ लाग्न थालेको थियो । बोलुँबोलुँ लाग्न थालेको थियो । उहाँको मन्द मुस्कान । मधुर स्वर । शान्त अनुहार । किनकिन मलाई उहाँसँग माया बसे हुन्थ्यो झैँ लाग्न थालेको थियो ।
तर मेरो उमेर कहाँ पुग्नु ? भर्खर पन्ध्र वर्ष ।
के सरले पनि मलाई मन पराउनुहुन्छ ?
के कुनै चौबिस वर्षे ठिटोले पन्ध्र वर्षको आफ्नै विद्यार्थीलाई प्रेम गर्न सक्छ ?
नभन्दै सरलाई परबाट आउँदै गरेको देखेँ । अब भने ममा उकुसमुकुस सुरु भो । के गरूँ र नगरुँको दोधारमा अल्झिएँ । उहाँलाई म बस्ने घर त थाहा थियो । तर कोठा थाहा थिएन ।
उहाँले गेटमा आएर माथि हेर्नुभयो । मलाई देखेर मुसुक्क हाँस्नुभयो ।
‘माथि आउनु ।’ मैले भनेँ ।
म ढोकाको चुकुल खोलेर बाहिर निस्केँ । सर आउनुभयो । हल्का हल्का हाँस्दै । सर भित्र आएर खाटमा बस्नुभयो । मैले चुकुल लगाइनँ ।
म टुलमा बसेँ । सरले यताउता हेर्नुभयो । निक्कैवेर सम्म केही बोल्नुभएन । मैले पनि केही भन्नै सकिनँ ।
लामो सास फाल्नुभयो र भन्नुभो, ‘मोटाकली, खै त नास्ता ?’
‘छैन ।’ डराउँदै, शर्माउँदै र केही अक््मकाउँदै भनेँ ।
‘आउँछु जस्तो ला’थिएन ?’
‘हैन ।’
‘अनि किन त ?’
‘त्यसै ।’ यति भनेर म चिया बसाल्न लागेँ । उहाँले चुपचाप हेरिरहनुभो । मलाई लाज लागिरह्यो ।
तर चिया मात्रै पनि के दिनु जस्तो लाग्यो । त्यसैले चिया बसालेर म बिस्कुट किन्न तल पसलमा झरेँ ।
पसलको दाइ नहुनुहुँदोरहेछ । यता उता हेरेँ देखिनँ । पसलमै कुरेर बसेँ । अहँ दाइ आउनुभएन । उता चिया उम्लिसक्यो होला । यता आफ्नो भने मन पोलेर आँखाबाट निस्केला निस्केला जस्तै भइसक्यो ।

फर्केर जाऊँ, के खालीहात जाऊँ । नफर्कूँ उता चिया के भैसक्यो होला । सरले के भन्नुहोला ।
दाइ आउनुभो । घरभित्रैवाट । ट्वाइलेट जानुभएको रहेछ । बिस्कुट लिएर कोठामा पुग्दा सरले एउटा किताब हेरिरहनुभाथ्यो । त्यो स्कुलबाटै ल्याएको बालकथाको किताब थियो ।
सरले मलाई ढोकामा देखेर एकफेर हेर्नुभयो ।
ग्यास बन्द थियो । सायद सरले आफै बन्द गरिदिनु भयो होला । मलाई झन् कस्तो अप्ठ्यारो लाग्यो ।
चियालाई गिलासमा राखेर सरलाई दिएँ ।
भन्नुपर्ने त ‘सर चिया लिनुस्’ नै हो । तर मुखबाट शब्द निस्क्यो, ‘अँ ।’ बिस्कुट थालमा राखेर दिएँ । फेरि पनि शब्द उही, ‘अँ ।’
‘तिमीलाई खै त ?’ सरले सोध्नुभयो चिया गिलास समाउँदै ।
‘अघि नै खाइसकेँ ।’ टुलमा बस्दै मैले भनेँ ।
सरले अरू केही नबोली चियामा बिस्कुट चोवलेर खानुभयो ।
चिया सकिए पछि सोध्नुभयो, ‘खै त तिम्रो अजी ?’
‘बजार जानुभाछ रे । अब आउनुहोला ।’
नभन्दै अजी आइपुग्नुभो । पावरवाला चस्मा । फुलेका कपाल । चाउरी परेका गाला । कुप्री परेको जिऊ । र सिधा लट्ठी ।
सरले हात जोडेर नमस्कार गर्नुभयो । तर अजीले मुखले मात्रै फर्काउनुभयो । म बसेको टुल अजीलाई दिएँ । म सर नजिकै खाटमा गएर बसेँ ।
‘अजी, उहाँ सर । मोटाकली भनेको के हो भनेर बुझ्न आउनुभएको ।’ मैले सरतिर नहेरी खुरखुरु भनेँ ।
अजीले सरतिर हेर्नुभयो । उहाँले हेरेपछि भने मलाई पनि अलि सहज भयो ।
‘के मोटाकली बुझ्ने बाबु ?’ अजीले सोध्नुभयो ।
‘सनमको नाम मोटाकली राख्दिनुभारैछ । त्यसैले अजी ।’ कति सजिलै राखिदिनुभएको सरले ।
‘केही हैन बाबु ।’ अजी हाँस्नुभयो । एकचोटी खोक्नुभयो ।
‘केही त होला नि अजी यसको अर्थ ।’ सरले पनि हाँस्दै भन्नुभो ।
‘ल बाहिर हेर त झ्यालबाट,’ अजीले भन्नुभो ।
सरले बाहिर हेर्नुभयो । मैले पनि हेरेँ । सडक पारिको घर ठिङ्ग उभिएको थियो । बरन्डामा फुल फुलेका थिए । झ्याल ढोका बन्द थिए । लुगा सुकाइएका थिए ।
‘के देख्यौ ?’ अजीले सोध्नुभयो ।
हामी दुवै वाल्ल प¥यौँ । के भन्ने ? हामी हाँस्यौँ मात्र ।
‘त्यहाँ झुन्डिएर बसेको केही चिज देख्यौ ?’
हो त ! त्यहाँ पानसजस्तो वस्तु झुन्ड्याइएको रहेछ । हामीले ख्याल नगरेका रहेछौँ ।
‘पहिले पहिले बिजुली थिएन । मान्छेहरू रातीमा हिँड्न सजिलो होस् भनेर यस्तोमा बत्ती बालेर राख्ने चलन थियो । विशेष गरेर असोजको औँसी देखि कात्तिके औँसी सम्म यो बालिन्थ्यो । यसलाई मोटाकल भनिन्छ ।’ अजीले वुझाउनुभो । र लामो सास फेर्नुभो ।
‘अनि मोटाकली ?’
‘बाबु पनि । जिस्केर भनेको यिनलाई । उज्याली भएकीले ।’ अजी यति भनेर जान खोज्नुभो, ‘लौ त म माथि जान्छु ।’
हामीले एकएकवटा झ्यालबाट हे¥यौँ । ती देखिएका घरहरूमा एक–एक वटा मोटाकल झुन्डिएका थिए, तोरणमा प्रसाद जस्तै । साँच्ची ! हाम्रै झ्यालनिर पनि त झुन्डिएको रहेछ !
‘म जान्छु है ।’ सरले भन्नुभो ।
मैले हुन्न भन्ने कुनै कारण भेटिनँ । हुन्छ भनेँ ।
सर जानुभो । तर किनकिन खाना खाएर जानुभएको भए पनि त हुन्थ्यो जस्तो लागिरह्यो ।

अर्को अनुच्छेद

मे आइ ह्याभ अटेन्सन् प्लिज !
(सर कथा सुनाएर बाहिर निस्केपछि एउटा ब्याकवेन्चर अगाडि आयो । र आफ्नो कुरा भन्न थाल्यो । उसलाई आफ्नो कुरा अर्को सर नआइपुगुन्जेलमा सकाउनुपर्ने बाध्यता थियो ।)
म । मेरो नाम सन्दीप कुमार । तिमीहरू सबैलाई थाहै छ ।
भर्खरैको कथा सुनिसक्यौ । डिड यु लाइक् ड्याट ? नो वे !
यी कथा भन्ने मास्टर संसारकै झुर कथाकार हो । साँच्चै भनूँ, उसलाई आफ्नै कथाको अन्त्यसँग डर लाग्छ ।
हैन भने किन ऊ अगिको कथा बिचमै छोडेर जान्थ्यो ? उसलाई कथा बिचमै छाड्ने अधिकार छ ?
बेल ! भनूँ यसको अन्त्य ?
मलाई त्यसैदिन रिस उठेको थियो, जुन दिन उसले मेरी सनमलाई मिस मोटाकली भनेको थियो ।
उसले किन अब सनमको लव सन्दीपसँग पर्छ भनेर भन्न सकेन ? आइ लव सनम । सी लव्स सन्दीप । अफकोर्स मी !
(त्यसैवखत विज्ञानसर आइपुगे । र उसको न्यारेसन सकियो । तर यस कथाको अर्को अनुच्छेद अझै बाँकी रह्यो । किनभने अन्तिम घण्टीमा अफिसमा गएर सनम उर्फ मोटाकलीले कथा भन्ने मास्टरलाई उजुरी गरिसकेकी थिई । यसको बाँकी भाग भोलि बिहानको मर्निङ प्रे सम्म कुर्नु हामी सबैको लागि हितकर हुनेछ ।)
समाप्त