विश्व माटो दिवस घोडाघोडीमा पनि मनाइयो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विश्व माटो दिवस घोडाघोडीमा पनि मनाइयो



विशाल पाण्डेय / सुखड,कैलाली ।
छैटौं अन्तर्राष्ट्रिय स्वयंसेवक तथा विश्व माटो दिवस कैलालीको घोडाघोडी नगरपालिकामा पनि मनाइएको छ । घोडाघोडी नगरपालिकाको सहयोग तथा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचको आयोजनामा बिहिवार घोडाघोडी नगरपालिका -१ कौवामा उक्त दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

कार्यक्रममा किटनासक औषधि र मलको प्रयोग गर्न नजान्दा उर्वरा शक्ति कम भएर कृषि उत्पादनमा कमि भएको स्थानीय किसान पुर्ण ध्वजले बताए । उनले आफुहरुले विज्ञ टोलिहरु बाट सल्लाह सुझाव नपाउँदा उत्पादन गर्न नसकिएको गुनासो व्यक्त गरे ।

टेङ्गुवा सामुदायिक वनका अध्यक्ष मैना ढकालले वन जोगाउदा भुक्षय लगायतका समस्याको अन्त्य हुने हुँदा खेतको छेउछाउमा विरुवाहरु रोप्नु पर्ने बताइन् । सिचाइको व्यवस्था राम्रो नहुदा कौवा बासीका कृषकहरु पिडित बनेको बताउदै अध्यक्ष ढकालले सिचाइका लागि राम्रो व्यवस्था मिलाउन आग्रह गरिन । उनले किसानको माझमा कार्यक्रम राखिएको प्रती आयोजकलाई धन्यवाद समेत व्यक्त गरिन ।

बग्द्याैली सिचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष नरहरि रिजालले परम्परागत खेतीमा मात्र ध्यान जादा आधुनिक खेती तर्फ कृषकहरू अनविज्ञ भएको बताए । उनले माटो परिक्षण गराएर त्यै अनुसारको खेती गरेमात्र फाइदा हुने बताए ।

यस्तै नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ कैलाली-डोटी शाखाका अध्यक्ष हरिलाल सापकोटाले वडाका सबै ठाउँमा एक जना कृषि प्राविधिक राख्नुपर्ने बताए । उनले कुन माटोमा कस्तो खाले बीउ लगाउने , कुन औषधि प्रयोग गर्ने भन्ने कुरामा कृषकहरु अनवीज्ञ रहेको हुँदा वडामा रहेकोे प्राविधिकले ठाउँमा ठाउँमा गएर अनुगमन गरि सल्लाह सुझाव दिइयो भने उत्पादनमा वृद्धि हुने बताए । अध्यक्ष सापकोटाले छाडा पशु चौपायाले गर्दा किसानहरु खेती नै नगरी बस्न बाध्य भएकोले नगरपालिकाले चौपाया व्यवस्थापनको लागि नीति नियम बनाउन आवश्यक रहेको समेत बताए ।

घोडाघोडी नगरपालिकाका कृषि शाखा प्रमुख जनक सिंह धामिले परम्परागत तरिकाले खेती गरि मल हाल्दा कृषि उत्पादनमा कमि भएको बताए । भुक्षयले गर्दा माटोको नास भइरहेको छ भन्ने थाहा पाएर पनि किसानहरुले नियन्त्रणमा चासो नदिएको बताए । धामिले किसानहरुलाई सल्लाह सुझावको लागि आफू तयार रहेको बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहिले सरकारले कुनै पनि अधिकार वडालाई नदिएको हुनाले वडामा कृषि प्राविधिक राख्न नपाइने बताए । फरक प्रसंगमा बोल्दै वडाध्यक्ष शाहिले घोडाघोडी तालको गेट निर्माणमा समयमै ध्यान नदिने हो भने भोलिका दिनमा बाध फुटेर बस्तिनै जोखिममा हुने बताए । उनले गत बर्ष पनि बजेट विनियोजन गरेपनी इ आइ ए रिपोर्ट तयार नहुदा रकम फृज भएको बताए । अध्यक्ष शाहिले कुनै पनि संघसंस्थाले पुर्ण रुपमा पशु चौपाया व्यवस्थापन गर्छ भने वडा वा नगरबाट १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचका अध्यक्ष दिपेन्द्र शाहिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन मंचका सह सचिव टेकराज आचार्यले गरेका थिए ।