सधै सत्तामा बसेकाले माओवादीलाई जनताले पत्याउन छाडे- मात्रिका यादव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सधै सत्तामा बसेकाले माओवादीलाई जनताले पत्याउन छाडे- मात्रिका यादव



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री मात्रिका यादवले माओवादी केन्द्र लगातार सरकारमा गएकाले पनि जनमत घट्दै गएको बताएका छन् ।

उनले सधै सत्तामा बसेका कारण जनताले माओवादीलाई पत्याउन छाडेको तर्क गरे । यसै कारण पनि अब माओवादी सरकारमा जान हर्तार गर्न नहुने उनले बताए । माओवादी केन्द्रको चुनावी समिक्षा बैठकपछि उनले माओवादी केन्द्रको जनमत घटेको बारे बताएका थिए ।

उनले नेकपा (एमाले) सँग तत्काल मिल्ने सम्भावना नरहेको समेत बताएका छन् । शनिबार बोलाइएको पदाधिकारी बैठकपछि उनले एमालेमा केपी ओलीको नेतृत्व रहेसम्म एमाले–माओवादी केन्द्रबीच सहाकार्य, एकता नहुने बताएका हुन् ।

उनले अब प्रचण्डको नेतृत्वमा सरकार बने देशको कल्याण हुने दाबी समेत गरे । ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन’, उनले भने, ‘जहाँसम्म एमालेले अफर गरेको कुरा छ, त्यो अवसरवादी अफर हो । ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो हुन्नँ ।’

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकका लागि दुई अजेण्डा तय गरिएका छन् । पहिलो चरणमा मंसिर ४ गते सम्पन्न निर्वाचनको हालसम्म आएका नतिजाको समीक्षा गरिने र दोस्रो चरणमा आगामी सरकार गठनका सन्दर्भमा भइरहेका पहल र प्रयत्नका सन्दर्भमा छलफल गरिने बैठकको एजेण्डा छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १७ सिट जितेको माओवादीले एक सिटमा अग्रताका साथ बढिरहेको छ । समानुपातिकतर्फ भने माओवादी तेस्रो नम्बरमा छ । यसअघि, २०७४ को निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जित्दा समानुपातिकतर्फ भने १७ सिट जितेको थियो ।