कविता: बुझ्दैछु बुवा « Himal Post | Online News Revolution
Logo

कविता: बुझ्दैछु बुवा



मौसम भुसाल
 झ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकि
रीहरु निदाइरहेका बेला
मस्तिस्कको कुरुक्षेत्रमा
दुनिँया आउँदो छ
वचनका बन्दुकहरु लिएर
यो चकमन्न रातमा
आज बुझ्दै छु बुवा
हजुरलाई निन्द्रा किन लाग्दैन
हजुरलाई बल्लबल्ल लागेको निन्द्रामा
घुरेको आवाज आउँदा
यस्तो लाग्थ्यो
हिरोसिमा र नागासाकी अझै
निदाएको छैन
म सोच्थेँ
हजुरका निधारमा
सिङ्गै विश्व ज्वालामुखीको लाभा बनेर
सल्याङ्बल्याङ गरिरहेको छ-
आँखा मुनिका खोपिल्टा मानौँ
सुनामीले बनाएका हुन्
हजारौँ बर्ष अघिबाट
मलाई लाग्छ
हजुर सिङ्गो सभ्यता हो
एउटा जीवित सभ्यता
यहि अनिदो सभ्यताबाट बुझ्दैछु बुवा
भुकम्प गएझैँ आमाको चोली
तलब बुझेकै दिन
हजुरका ज्यानबाट आउने फरक गन्ध
ती मगर्नी बजैलाई भेट्न पाए भन्ने थिएँ
“बजै! मलाई नि ख्वाम्नुस् न औषधि
जसले मेरो बुवाको खाली खल्ति पनि
हँसाउथ्यो”
मैले बुझेको थिइन
दिनभर अस्तित्व गुमाएकि बाटै
छेउकि चमेली
एक्लै किन बसाउँछे रातभर
बिना सार
यो आफैले आफैलाई हराउने
सहरका
चोकका अनेक थोक पल्टाउँदै
बुझिरहेको छु बुवा
बिरौटाको जुधाइमा पराजित ठुटे
गोरुको लुते अनुहार
घरीघरी त यस्तो झोँक चलेर आउँछ
सडक छेउछाउका
फोहोरका थुप्राहरुमा
आफैलाई पुरिदिउँ
कोहि मलाई बोरामा उठाएर लैजानेछ
र म फोहोरलाई बेचिनेछ मोहोरका
भाउमा
र जीवन सार्थक हुनेछ
त्यतिबेलै सम्झन्छु
ती फुस्रा हातहरुले सुम्सुमाएका यी पाउहरु
अनि यस्तो लाग्छ
यी पाउलाई अर्कै ठाउँ चाहिन्छ
हजुरको भन्दा अलि माथी
अलि पर
म जन्मेदेखी हजुरले कल्पेका
म बुझ्दैछु बुवा
जिन्दगिले जिन्दगीलाई हराएपछी
जिन्दगी हुँदो रहेनछ
मौसम भुसाल पर्वत हाल: बेङ्ग्लोर