म्याक्सवेल र केरी चम्किँदा अष्ट्रेलियाले जित्यो उपाधि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

म्याक्सवेल र केरी चम्किँदा अष्ट्रेलियाले जित्यो उपाधि



एजेन्सी – अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज जितेको छ ।

जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियलाई उत्कृष्ट जित दिलाउन तल्लोक्रममा ग्लेन म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का सहित १ सय ८ रनको सानदार इनिङ खेले । म्याक्सवेलले आफ्नो ओडिआई करिअरको दोस्रो शतक मात्र ८४ बलमा पूरा गरेका थिए । म्याक्सवेल नै ‘प्लेयर अफ द सिरिज” र प्लेयर अफ द म्याच’ चुनिए ।

अर्का विकेटकिपर एलेक्स केरीले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ६ रन जोड्दै ओडिआई करिअरको पहिलो शतक प्रहार गरे । १६.५ ओभरमा ७३–५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेल र एलेक्स केरीले छैटौं विकेटका लागि २ सय १२ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै जित सम्म पुर्याएका हुन् ।

यी दुईबीचको साझेदारी ४८ औं ओभरको तेस्रो बलमा आदिल राशिदले टम करनबाट म्याक्सवेललाई क्याच गराउँदै तोडेका थिए । ४९ औं ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले र्माकवुडबाट केरीलाई क्याच आउट गराए ।

तेस्रो ओभरको पाँचौ बलमा क्रिस वोक्सले कप्तान ओरोन फिन्चलाई १२ रनमा एलबिडब्लू आउट गरे । वोक्सले पाँचौ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसलाई ४ रनमा कप्तान ओईन मोर्गनबाट क्याच आउट गर्दै पेभिलिएन फर्काए । ११ औं ओभरको पाँचौ बलमा जो रुटले डेभिड वार्नरलाई २४ रनमा बोल्ड आउट गर्दै ५१–३ को अवस्थामा पुर्याए । १३ औं ओभरको चौथो बलमा मिचेल मार्शलाई रुटले बटलरबाट २ रनमा क्याच आउट गराउँदै दबाब निरन्तर बढाए ।

१७ औं ओभरको पाँचौ बलमा मार्नस लाबुसेन २० रनमा रन आउट भएपछि बलियो लक्ष्य पछ्याई रहेको अष्ट्रेलिया ७३–५ को कमजोर अवस्थामा पुगेको थियो । तर छैटौं विकेटका लागि म्याक्सवेल र केरीले दोहोरो शतकीय साझेदारी गर्दै जितसम्म पुर्याए । मिचेल स्टार्क ११ र प्याट कमिन्स ४ रनमा अविजित रहे । स्टार्कले ३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

पार्टटाइम स्पिनर जो रुटले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर र आदिल राशिदले १–१ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । बेयरस्टोलाई ४१ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले बोल्ड आउट गरेका थिए । बेयरस्टोले ३७ औं ओभरको पाँचौ बलमा कमिन्सलाई छक्का प्रहार गर्दै १ सय १६ बलमा आफ्नो करिअरको १० औं ओडिआई शतक पूरा गरेका थिए ।

इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक रहेन । ओपनर जेसन रोय र जो रुट पहिलो ओभरको सुरुवाती दुई बलमै गोल्डेन डग आउट भएका थिए । तीव्र गतिका बलर मिचेल स्टार्कले रोयलाई ग्लेन म्याक्सवेबाट क्याच आउट गराए । दोस्रो बलमा स्टार्कले जो रुटलाई एलबिडब्लू आउट गर्दै ०–२ को अवस्थामा पुर्याए ।

तेस्रो विकेटका लागी बेयरस्टो र कप्तान ओइन मोर्गनले १०.२ ओभरमा ६७ रनको साझेदारी गर्दै इनिङ अघि बढाए । तर मोर्गनलाई स्पिनर एडम जाम्पाले स्टार्कबाट २३ रनमा क्याच आउट गराउँदैं साझेदारी तोडे । मोर्गनले २८ बलमा ४ चौका प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा जाम्पाले कप्तान आरोन फिन्चबाट क्याच गराउँदै विकेटकिपर जस बटलरलाई ८ रनमा पेभिलिएन फर्काए ।

पाँचौ विकेटका लागि साम बिलिंग्स र बेयरस्टोले १ सय १४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । बिलिंग्सलाई जाम्पाले ३८ औं ओभरको तेस्रो बलमा ५७ बलमा मिचेल मार्शबाट क्याच आउट गराउँदै शतकीय साझेदारी तोडेका थिए । बिलिंग्सले ५८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

टम करन १९ बलमा १ छक्का सहित १९ रनमा स्टार्कको बोल्ड आउटको शिकार हुन पुगे । क्रिस वोक्सले ३९ बलमा ६ चौका सहित ५३ रनमा अविजित रहँदै विशाल योगफल सम्म पुर्याए । आदिल राशिद ९ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।

एडम जाम्पाले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो ।

तीन टि२० सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो । अव अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडी शनिवार देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न जाने छन् ।