एमसीसीमा ट्विस्ट: कांग्रेसले पनि झिक्यो हात, यस्तो छ पछिल्लो खुलासा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमसीसीमा ट्विस्ट: कांग्रेसले पनि झिक्यो हात, यस्तो छ पछिल्लो खुलासा



काठमाडौं- पछिल्लो समय नेकपाभित्र रडाको मच्चाउने र कांग्रेसको जहाज डुबाउनेगरी चर्चामा रहेको मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे थप खुलासा भएको छ । वर्षौं अगाडी कांग्रेसको सरकारले गरेको सम्झौता पछि नेकपा सरकारले छुट्टै सम्झौता गरेको सुचना कांग्रेस मुख्यालय पुगेपछि कांग्रेस एकाएक ब्याक हुने अवस्था बनेको छ ।

२०१८ मा अमेरिका भ्रमणमा जाँदा परराष्ट्रमन्त्री ज्ञवालीले थप सम्झौता गरेको सूचना कांग्रेस नेतृत्वसमक्ष पुगेको छ । एमसीसीको बिरुद्ध देखिएका भीम रावललगायतका नेताहरुले ज्ञवालीले गरेको सम्झौतामा सैन्य गठवन्धनमा रहनेगरी हस्ताक्षर गरिएको दाबी गर्दै आएका छन् ।

एमसीसी अध्ययन कार्यदलमा पनि ज्ञवालीले गरेको सम्झौता के हुन् भनेर खोज्दा आलटाल गरिएको बताइएको छ। बिचमा अलग्गै सम्झौता गरेको भेटिएपछि कांग्रेसले पनि एमसीसीबाट हात झिक्ने संकेत देखाएको छ । नेपाल सरकार र अमेरिकाको एमसीसी बीच भएको सम्झौताका कतिपय बुँदाहरु नेकपा सरकारले हेरफेर गरेको भन्दै कांग्रेसले हात झिक्ने लक्षण देखाएको हो ।

चाख लाग्दो कुरा त के छ भने सुरुदेखि नै अनुमोदन गर्नैपर्ने भन्दै वकालत गर्दै एमसीसीको पक्षमा देखिएको कांग्रेस पछिल्लो समय शशंकित बनेको छ । यो सम्झौतामा कांग्रेसकै सरकार भएको बेलामा हस्ताक्षर भएको थियो ।

२०७४ भदौ २९ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यकारी निर्देशक जोनाथन जी नाशले गरेको मुल सम्झौताका केही बुँदाहरु हेरफेर गरेको सूचना कांग्रेस नेतृत्वले प्राप्त गरेको छ । एमसीसीमा गरेको मूल सम्झौता भन्दा पछिल्ला सरकारले गरेका सम्झौता घातक भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले हालको सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमा ज्ञवालीले अमेरिका भ्रमणका बेला केहि घटक सम्झौता गरेको हुनसक्ने बताएको छ। कांग्रेसको दाबी अनुसार संसदबाट अनुमोदन गराउने बुँदा मूल सम्झौतामा थिएन । अहिले संसदबाट अनुमोदन गर्ने बुँदा थपिएको हुनाले अन्य घटक बुंदामा पनि सम्झौता भएको कांग्रेसको आशंका छ ।

एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार पछिल्लो समय भएका थप सम्झौतामा जालझेल भएको भटिएको छ । कांग्रेस नेतृत्वले पाएको पछिल्लो सुचनामा पनि यसमा केहि बुंदा थप भएका छन् जुन बुँदा पहिलेका भन्दा फरक छन् र घातक पनि छन् ।

कांग्रेसले आफ्नो सरकारको नेतृत्वमा भएको एमसीसी सम्झौतामा उल्लेख नभएका अरु बुँदा थप गरिएको बुँदाहरू के के हुन् भनेर अध्ययन गर्ने बताएपछि एमसीसीको पक्षमा रहेको नेकपा नेतृत्व थप त्रसित भएको बुझिएको छ । कांग्रेस नेतृत्वले थप सम्झौता अध्ययन गर्ने बताएपछि प्रधानमन्त्री ओली पनि एमसीसीमा केहि लचिलो देखिएको बुझिएको छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सन २०१८ मा अमेरिका भ्रमणमा जाँदा एमसीसीसँग थप अर्को सम्झौता गरेको र उक्त सम्झौता गोप्य राखिएको सूचना कांग्रेस शिर्ष नेतृत्वमा समक्ष पुगेको छ।

यसअघि सत्तारुढ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलमा पनि ज्ञवालीले गरेको सम्झौता के हो? त्यो कार्यदलमा पेश गर्न अनुरोध गरिएको थियो । तर ज्ञवालीले उक्त सम्झौताकाबारेमा स्पष्ट कुरा नगरी आलटाल गरेको स्रोतको दाबी छ।

कांग्रेसमा विद्युत प्रसारण लाइन निर्माण गर्ने एमसीसी परियोजना सैद्धान्तिक रुपमा ठिक भएपछि आफ्नो सरकारका पालामा भएको सम्झौता तोडमोड गरेर अर्को सम्झौता भएको भए त्यो हेरेर मात्रै एमसीसीका बारेमा धारणा बनाउनु पर्ने दवाव परेको छ।

कांग्रेसभित्र एमसीसी सम्झौतामा केही बुँदाहरु हेरफेर गरिएको भन्दै समर्थन गर्न नहुने नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई सुझाव दिँदै आएका छन्।

नेकपाभित्र एमसीसीको विरुद्धमा सुरुदेखि लाग्दै आएका स्थायी समिति सदस्य भीम रावललगायतका नेताहरुले भने परराष्ट्रमन्त्री ज्ञवालीले सैन्य गठवन्धनमा रहनेगरी एमसीसीसँग अर्को सम्झौता गरेको दाबी गर्दै आएका छन्।