बुढाखाडालाई हराउन 'मेघा एलायन्स' चाहिन्छ – अनुप बोहोरा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बुढाखाडालाई हराउन ‘मेघा एलायन्स’ चाहिन्छ – अनुप बोहोरा



काठमाडौँ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अनुप बोहोराले निर्वाचनमा स्वतन्त्र र युवा उम्मेदवारहरूबीच ‘मेघा एलायन्स’ हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत मेघा एलायन्सको आह्वान गरेका हुन् । ‘पुर्खाले रगत साटेर आर्जन गरेको सुन्दर देश नेपाललाई राजनीतिक फोहोरीपनबाट निकाल्न हामी सबैले एउटा ‘मेघा एलायन्स’ गरेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भनेका छन्, ‘यो सुन्दर देशमा असक्षमहरूले राज गर्नुको प्रमुख कारण सक्षम युवाहरूको विभाजन पनि हो भन्ने कुरालाई स्वीकार गर्दै हामी एक हुनुको विकल्प नरहेको म अपील गर्न चाहन्छु ।’

उनले छुट्टाछुट्टै चुनाव लडे नयाँ र सक्षम युवाहरूबीच विभाजन आउने भएकाले सबै अहिलेसम्म उम्मेदवार घोषणा गरेकाहरूबीच मेघा एलायन्स हुनुपर्ने बताएका हुन् ।

आगामी निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवार उठ्ने लहर चलिरहेका बेला काठमाडौँ क्षेत्र नम्बर २ मा व्यवसायीक पृष्ठभूमिका रहेका बोहोराले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालले २७ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा बोहोराले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिजनेस एड्मिनिस्टे्रसनमा स्नातक गरेका बोहोरा सफल व्यवसायीसमेत हुन् । स्थानीय युवामाझ परिचित बोहोराले परिवर्तन कुनै पाकेको फल नभएको र पर्खेर बसे परिवर्तन नहुने धारणाका साथ उम्मेदवारी दिन लागेको बताए ।

‘परिवर्तन पाकेको फल होइन,’ बोहोराले भने, ‘यो आफैं आउँदैन । हामी अघि सर्नुपर्छ र परिवर्तनको बाहक बन्नुपर्छ । म मेरो पिढीका लागि नमूना बनेर यहाँको स्थानीय समस्याहरूलाई राष्ट्रिय मुद्दा बनाएर संसदमा आफ्नो आवाज उठाउन चाहन्छु ।’
बोहोरा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्यसमेत हुन् । व्यक्तिगत रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि उनी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला देशव्यापी संगठन बनाउन व्यस्त छ । बोहोरा पनि आफ्नो चुनावी अभियानमा होमिइसकेका छन् ।

सरकारले मङ्सिर पहिलो साताभित्र निर्वाचन हुने बताएपनि अहिलेसम्म औपचारिक रूपमा मिति सार्वजनिक गरेको छैन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते चुनाव गर्ने गरी आयोग तयार भएर बसेको प्रतिकृया दिएका छन् ।

उक्त क्षेत्रमा गत संसदीय निर्वाचनमा नेकपा एसका अध्यक्ष नेपाल निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १४ हजार ९ सय मत पाएर दोस्रो भएका थिए । विवेकशील साझाका तर्फबाट डा. सूर्यराज आचार्यले भने ७ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा पनि अध्यक्ष नेपाल सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । युवा उम्मेदवार बोहोराले नेपालसँग आफू प्रतिस्पर्धा गर्न सक्षम रहेको र जनताले आफूलाई मत हाल्ने विश्वास व्यक्त गरेका छन् ।