प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने



रुपन्देही, भदौ २४ ।

बुटवलमा गरिने मेला महोत्सवमा स्वदेशी उत्पादनलाई बढी प्राथमिकता दिइनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

हरेक वर्ष हुने विभिन्न मेला महोेत्सवमा स्वदेशी भन्दा विदेशी गुणस्तरहिन बस्तुले धेरै चर्चा पाउने गरेको भन्दै उनीहरुले स्वदेशी उत्पादनकै स्तर वृद्धि गर्न र प्रचार प्रसार गराउन मेला महोत्सवहरुले पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ गतेदेखि १८ गतेसम्म बुटवलमा गर्न लागेको राष्ट्रिय औधोगिक कृषि पर्यटन प्रवद्र्धन प्रदर्शनी २९७४ को अवसरमा आयोजकले शनिबार राजनीतिक दलसंग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

राजनीतिक दलका नेताहरुले उक्त प्रदर्शनीलाई सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले पुराना घरेलु उत्पादनलाई पनि आधुनिकीकरण गरी स्वदेशी बस्तुलाई नै प्राथमिकतामा राखेर मेला आयोजना गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले परिवर्तित समयको माग अनुसारका नयाँ उत्पादनको बजारीकरणको लागि पनि मेला महोत्सवहरु उपयुक्त माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो ।

बुटवलमा हुने कुनै पनि मेला महोत्सवलाई सफल पार्न आफ्नो पार्टीले सहयोगीको भूमिका खेल्ने उहाँले बताउनुभयोे ।

त्यस्तै नेकपा एमालेका बुटवल नगर संयोजक ऋषिराम पाण्डेले मेला महोत्वसले यस क्षेत्रको आर्थिक विकासमा सघाउने उल्लेख गर्नुभयो ।

मोओवादी केन्द्र बुटवल उपमहानगरका अध्यक्ष सुदिप न्यौपानेले प्रदर्शनी विगतका भन्दा केही फरकपनसहितको हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका राजेन्द्र कुमार अग्रहरी, जनमुक्तिका गोपाल चौहान, नेपाल कम्युनिष्ट पार्टीका श्याम सुवेदी लगायतले बोल्दै उक्त मेलालाई आ—आफ्ना पार्टीको सहयोग रहने उल्लेख गर्नुभयो ।

संगठनका बुटवल अध्यक्ष खेम श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य खिमनारायण पराजुली, बुटवल उपाध्यक्ष गोविन्द गैरे, महासचिव सिताराम रसाईली लगायतले प्रदर्शनीको तयारीका बारेमा बोल्नुभएको थियो ।