मेरै पार्टीका नेता कार्यकर्ताले कोरोनालाई गम्भीर रुपले लिएनन्: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेरै पार्टीका नेता कार्यकर्ताले कोरोनालाई गम्भीर रुपले लिएनन्: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन्।

उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापर्वाह, जनताप्रति उदाशिन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गरे।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन्।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ।’

उनले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए। उनले भने, ‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने । कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’’

विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन्।

कोरोना संक्रमण नियन्त्रण देखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे।

उनले भने, ‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन संक्रमित मान्छेहरुसँग उनीहरुले डिल गर्नुपरेको छ । अनेक कामहरुमा उनीहरु छन् । त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन् । ड्युटिको क्रममा संक्रमित भइरखेका छन् । रेस्कयु गर्न जाँदा संक्रमित भएर आएका छन् । अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ । सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने वित्तीकै जोखिमका साथ रेस्कयु टिम सरकारको तर्फबाट गएको छ ।

अरुले पनि सहयोग गरेका छन् । तर वौद्धिक जगतको टिप्पणीहरु सुन्छु कहाँ छ सरकार ? काठमाडौँमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ? त्यो रेस्कयु गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन । त्यहाँका जनतालाई सोध्नुप¥यो सरकार छ कि छैन । सरकारले जहिलेपनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेहरु त्यहाँ खटेका छन् रेस्कयु गरेको छ । रिलिफ पुर्‍याएको छ । ’’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए।

बैठकपछि नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलार्ई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए।

क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्न अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उनले बताए। शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताए।