अदालत जानुभन्दा बार्सिलोनामै बस्छु : लियोनल मेस्सी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अदालत जानुभन्दा बार्सिलोनामै बस्छु : लियोनल मेस्सी



एजेन्सी- लियोनेल मेस्सी यो सिजन बार्सिलोनामा नै रहने भएका छन् । कुनै पनि क्लबले आफूलाई अनुबन्ध गर्नका लागि ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गर्ने क्लबलाई अदालतसम्म डोर्याउन नचाहेको कारण आफू यो सिजन बार्सिलोनामा रहने मेस्सीले बताएका हुन् ।

गत मङ्गलबार ३३ वर्षीय अर्जेन्टिनी खेलाडीले बार्सालाई आफ्नो करारमा रहेको सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने प्रावधानलाई टेकेर क्लब छाड्न चाहेको सन्देशसहित फ्याक्स पठाएका थिए । तर, क्लबले भने उनको करारमा रहेको ७० करोड युरो रकम तिरे मात्र अन्य क्लबले उनलाई अनुबन्ध गर्न सक्ने बताएको थियो ।

‘मलाई लागेको थियो र म ढुक्क थिएँ कि म क्लब छाडेर जान स्वतन्त्र छु,’ गोल डटकमसँग कुराकानी गर्दै मेस्सीले भने, ‘अध्यक्षले मलाई जहिले पनि यो सिजनको अन्त्यमा तिमी यहाँ बस्ने कि नबस्ने भनेर निर्णय लिन पाउने छौँ भनेर भन्नुहुन्थ्यो ।’

‘यही कारणले म यो क्लबमा निरन्तरता दिन गइरहेको छु किनभने अध्यक्षले अहिले मलाई कसैले ७० करोड युरो तिर्यो भने मात्र म क्लब छाडेर जान सक्छु भनेर भन्नुभयो । र, यो असम्भव छ ।’

जुन १० अघि नै क्लबलाई आफू इच्छाबारे जानकारी नदिनु यहाँ सबैभन्दा महत्त्वपूर्ण पक्ष बनेको उनले बताए । यदी त्यसो गरेको भए उनको रिलिज क्लजको रकम कसैले पूरा गर्न पर्दैन थियो ।

‘उनीहरु अहिले १० जुन अघि किन नभनेको भन्ने विषयमा भुण्डिरहेका छन् । तर, त्यतिबेला कोरोनाभाइरसको महामारीका कारण पर धकेलिएको ला लिगाको सिजनमा हामी प्रतिस्पर्धा गर्दै थियौँ,’ उनले भने, ‘यहाँ अर्को बाटो पनि थियो, त्यो हो अदालतमा जाने । तर, म बार्सिलोनाविरुद्ध कहिले पनि अदालत जाने छैन किनभने म यो क्लबलाई माया गर्छु । म यहाँ आएदेखि यो क्लबले मलाई सबैकुरा दियो । यो क्लब मेरो जीवन हो, मैले मेरो जीवन यहीँ बनाए ।’

क्लब छाड्नका लागि मेस्सीका पिताले यो हप्ता बार्सिलोनासँग छलफल गरेका थिए । तर, ला लिगाले पनि बार्सिलोनाको रिलिज क्लजकै अडानलाई समर्थन गरेको थियो ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जापस्द हारपछि मस्सीले क्लबसँगको २० वर्षको सहकार्य अन्त्य गर्न चाहेको निर्णय सुनाएका थिए । हारसँगै यो सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो । अहिले क्लबले क्वीके सेटिनलाई बर्खास्त गर्दै नेदरल्याण्डका पूर्वम्यानेजर रोनाल्ड कोम्यानलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । तर, मेस्सीले हालसम्म नयाँ प्रशिक्षकको नेतृत्वमा टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरेका छैनन् ।

अन्तरवार्तामा मेस्सीले क्लबले पछिल्लो समय सफलता हासिल गर्न नसकेको कारणले आफूले क्लब छाड्ने निर्णय गरेको पनि स्वीकार गरेका छन् । ‘म सबैभन्दा उच्च तहमा प्रतिस्पर्धा गर्न चाहन्छु । उपाधि जित्न चाहन्छु, च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न चाहन्छु,’ उनले भने ।

घरमा पत्नी र छोराहरुलाई आफ्नो निर्णय सुनाउँदा त्यहाँ पनि ठूलो नाटक मञ्चन भएको उनले सुनाए । ‘सबै जना रुन थाले । मेरो बच्चाहरु बार्सिलोना छाडेर जान र स्कूल बदल्न चाहदैन थिएँ,’ उनले भने, ‘म बार्सिलोनलाई माया गर्छु र म कतै पनि यहाँभन्दा राम्रो स्थान पाउँदिन । तर, अझै पनि निर्णय गर्ने अधिकार मेरो हो ।’

‘म नयाँ लक्ष्य र नयाँ चुनौतिका खोज्न जान चाहन्थे । तर, भोलि म फेरि बार्सिलोना फर्कदैछु किनभने यहाँ मेरो सबैकुरा छ ।’