यो सुन्दर कपका लागि हामीले निकै मिहिनेत गरेका छौं- लिओनेल मेस्सी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यो सुन्दर कपका लागि हामीले निकै मिहिनेत गरेका छौं- लिओनेल मेस्सी



एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् ।

आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’

मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।

फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए ।

तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए । फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए ।

प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पेले सिल्भर बल प्राप्त गरे। उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका थिए । क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमश: गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ । संयोगवश उत्कृष्ट तीन खेलाडी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्न सफल टोलीका जर्सी नम्बर १० रहे ।