घरेलु मैदानमा मेस्सीको सबैभन्दा खराव खेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घरेलु मैदानमा मेस्सीको सबैभन्दा खराव खेल



काठमाडौं- लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा गोलरहित बराबरीमा रोकिएको छ ।

समूह एफ अन्तर्गत घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना चेक गणतन्त्रको क्लब स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो ।

सन् २०१२ यता पहिलोपटक घरेलु मैदानमा भएको च्याम्पियन्स लिग खेलमा मेस्सीले गोल या गोलका लागि सहयोग नगरेको यो पहिलो खेल हो ।

मेस्सीले पहिलो हाफमा प्रहार गरेको बल प्रागका गोलरक्षक अनड्रेज कोलारले जोगाए । त्यसपछि पनि बार्सिलोनाले गोल गर्ने राम्रा मौका बनाएको थियो, तर त्यसमा सफल हुन सकेन ।

गोलरहित बराबरीपछि पनि बार्सिलोना समूह एफ को शीर्ष स्थानमा छ, उसको चार खेलबाट ८ अंक भएको छ ।

मंगलबार राति नै भएको खेलमा इन्टर मिलानलाई ३–२ ले पराजित गरेको बोरुसिया डर्टमुण्ड सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानको चार तथा प्रागको दुई अंक छ ।