तनाव भएपछि मेस्सीले छोडे बार्सिलोना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तनाव भएपछि मेस्सीले छोडे बार्सिलोना



एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गरेका छन् । पछिल्लो समय बार्सिलोनाको मैदान भित्रको प्रदर्शन र मैदान बाहिरको अन्तरिक कलहको सबै दोष आफूमाथि थोपरिन थालेपछि आजित भएका उनले यस्तो निर्णय गरेका हुन् ।

स्पेनको प्रतिष्ठित रेडियो स्टेसन कादेनासेरका अनुसार क्लबका कप्तान समेत रहेका मेस्सीले क्लबसँग जारी रहेको सम्झौता नविकरणबारे छलफल रोक्न आफ्नो पितालाई आग्रह गरेका छन् । अध्यक्ष बार्टोमेउ र मेस्सीका पिताबीच पछिल्लो केहि सातायता सम्झौता नविकरणलाई लिएर छलफल चलिरहेको थियो ।

मेस्सीको हालको सम्झौता अनुसार उनी सन् २०२१ को जुन महिनासम्म क्लबमा रहने उल्लेख गरिएको छ । सम्झौताको विशेष प्रावधान अनुसार मेस्सीले गत जुन १० अघि क्लब छाड्न चाहेको अवस्थामा यसै क्लब छाड्न पाउने व्यवस्था थियो । तर त्यसबेला मेस्सीले क्लबमा नै बस्ने निर्णय लिएका थिए ।

पछिल्लो समय बार्सिलोनाले मैदानभित्र लगातार खराब नतिजा हासिल गर्दा मेस्सी उक्त नतिजाको केन्द्रविन्दु बन्दै आएका छन् । प्रदर्शनका आधारमा मेस्सीले औसत प्रदर्शन गरेपनि अन्य खेलाडीले सोहि अनुसार खेल्न नसक्दा नतिजा आउन सकेको छैन । तर क्लबमा भने सबैले मेस्सीमाथि नै खराब नतिजाको दोषारोपण गरेपछि उनले कडा कदम चाल्न लागेका हुन् ।

मैदानभित्र नतिजाको समस्यासँगै क्लबका खेलाडी र प्रशिक्षकबीच पनि पछिल्लो समय सम्बन्ध सुमधुर रहन सकेको छैन । खेलाडी छनोट र परिवर्तन तथा प्रशिक्षण पद्दतिलाई लिएर खेलाडीहरु असन्तुष्ट रहेको खबर सार्वजनिक भएको छ । खेलाडीहरुले सार्वजनिक अन्तर्वार्तामै पनि प्रशिक्षकबारे असन्तुष्टि पोख्न थालेका छन् ।

सिजनको सुरुवातमा नै बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्न नसक्दा मेस्सी क्लबसँग असन्तुष्ट रहेका थिए । क्लबले एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेकोमा खुसी नरहेका मेस्सीले पछिल्लो समय टोली छनोटमा पनि सिन्डिकेट गरेको आरोप लाग्दै आएको छ । आफू निकट रहेका लुइस सुआरेज र आर्टुरो भिडाल टोलीमा राख्दा मेस्सीले ग्रिजमनलाई संलग्न नगराएको आरोप रहेको छ ।

अझ मेस्सीको सहायक प्रशिक्षक एडर सराबियासँग बिग्रँदो सम्बन्धले टोलीको माहोल नै खराब रहेको तर्क खेलाडी तथा क्लब पदाधिकारीको रहेको छ । क्लबभन्दा खेलाडी ठूलो नहुने भन्दै केहि पदाधिकारीले यसलाई चाडै सुल्झाउनुपर्ने बताएका छन् ।

लिग उपाधि टाढा हुँदै गएको र अन्य घरेलु प्रतियोगितामा बार्सिलोना नरहेकाले अब उपाधिविहिन हुनबाट जोगिन च्याम्पियन्स लिग नै बार्सिलोनाको एकमात्र लक्ष्य रहेको छ । पहिलो लेगमा नेपोलीसँग १-१ को बराबरी खेलेको बार्सिलोनासँग दोस्रो लेगमा जितबाहेकको विकल्प रहने छैन ।