धरहरा पुगेर मन्त्री चौधरीले ओलीलाई उक्साएको भन्दै सरकारी कर्मचारीलाई थर्काए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धरहरा पुगेर मन्त्री चौधरीले ओलीलाई उक्साएको भन्दै सरकारी कर्मचारीलाई थर्काए



काठमाडौँ- धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई थर्काएका छन् ।

चौधरीले आधा काम नहुँदै तत्कालिन प्रधानमन्त्री ओलीलाई किन उक्साएको भन्दै आफ्नो मातहतका कर्मचारीलाई प्रश्न गरेका थिए भने समयमा काम नसकेर पटकपटक म्याद थप्ने ठेकेदारलाई कम्तिमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् ।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै भने– ‘परियोजना सुरु गर्नु अघि चुनौतीबारे किन ख्याल नगरेको ? चार पटक म्याद थप भैसकेछ । अब कति पटक थप्नु पर्ने ? कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् । पैसा मात्रै कमाउन खोजे जस्तो नगर्नुस् ।’

‘करिब आधा मात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउँनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईँहरुको होइन र ?’ सचिवतर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तेस्र्याएपछि सबैजना गम्भीर बनेका थिए ।

‘धेरैको आसा भएको ठाउँ हो । काम छिटो गर्नुस् । नत्र पेनाल्टी समेत हुन सक्छ ।’ मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले पनि ताकेता गरे ।

आयोजना निर्देशक अधिकारीले धरहरा निर्माण परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै भने, ‘कुल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैया ४६ पैसा (भ्याट सहित) को लागतमा २ वर्षमा सक्नेगरि सम्झौता भएको थियो । चार पटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ । हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तियतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ ।’

जिआइइटिसी –रमन जेभी (सम्झौता कम्पनी) का प्रोजेक्ट म्यानेजर संजय नकर्मीले ५ रोपनीबाट काम सुरु गरिएको तर नेपाल राष्ट्र बैंकको टक्सार विभाग, हुलाक कार्यालय, कर्मचारी संचय कोषको भवन समेत हटाउँदा धरहरा निर्माण परियोजनाको क्षेत्रफल ४२ रोपनी पुगेको बताए । र त्यसैकारण पनि बढी समय लागेको उनको भनाई थियो । उनका अनुसार धरहराभित्र २ वटा लिफ्ट सिस्टम हुने छन् । लिफ्टमा एक पटकमा १० जना चढ्न मिल्ने छ । अर्थात् एकैपटकमा २० जनाले धरहरा चढ्ने अवसर प्राप्त गर्नेछन् । यसअघि स्पाइरल भ¥याङ रहेकोमा अब भने तलातला छुट्याइएको छ । साथै धरहरा अपाङ्ग मैत्री पनि रहेको छ ।

डबल बेसमेन्टमा धरहरा ठडिएको छ भने २ वटा स्केलेटर पनि रहेका छन् । ट्रिपल बेसमेन्ट पार्किङ एरियामाथि गार्डेन (ल्याण्ड स्केपिङ),मण्डला, ३ वटा म्युजिकल वाटर फाउन्टेन, टिकट काउन्टर, सिटिङ एरिया, बाइसधारा, फुड कोर्ट (इटरी ब्लक), शौचालय, ४ तले मिन्ट म्युजियम समेत रहने जनाइएको छ ।

पार्किङका लागि ३ तले अण्डरग्राउण्डको व्यवस्था गरिएको छ । जसमध्ये दुई तलामा करिब २४१ गाडी र बाँकी एक तलामा झण्डै ७५८ मोटरसाइकल रहने ब्यबस्था गरिएको छ ।

पुरातात्विक दृष्टिकोणले मानन्धर गुठीको कुल देवता, पाटी (फाल्चा) बनाइएको छ भने जिर्ण अवशेषका रुपमा रहेको भिमसेन स्तम्भको पनि उचित ढंगले संरक्षण गरिने जनाइएको छ ।

परामर्शदाताका प्रतिनिधि अशोक मल्लले कोभिड र स्थानीय अवरोधका कारण पनि आयोजना ढिला भएको बताए । स्मरणीय के छ भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले भौतिकतर्फ ५४ प्रतिशत र वित्तियतर्फ जम्मा ४२ प्रतिशत मात्रै काम हुँदा पनि धरहराको उद्घाटन गरेका थिए ।