५० अत्याधुनिक मेट्रो बस सञ्चालन गर्दै छ सरकार ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

५० अत्याधुनिक मेट्रो बस सञ्चालन गर्दै छ सरकार !



हिमालपोष्ट/काठमाडौ २७ माघ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमार्फत घोषणा गरेको एक सय मेट्रो बस यातायात सञ्चालनविपरीत अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५० वटाका लागि मात्र बजेट उपलब्ध गराउने सहमतिसहितको पत्र पठाएको छ । एक सय बसका लागि ६८ करोड ४० लाख रुपैयाँ माग गरी स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई मंसिरमा पत्राचार गरेको थियो ।

सञ्चालन गर्न लागिएको नगरबस अपांगमैत्री हुनेछ, जसमा अपांगता भएका यात्रुलाई सहजताका लागि ‘अडियो नोटिस बोर्ड’ र स्थान जनाउन ‘डिस्प्ले बोर्ड’ व्यवस्था गरिनेछ । यसले कुन ‘स्टप’ आइपुग्यो र अब कुन आउँदैछ भनेर जानकारी दिनेछ । यात्रु सुरक्षाका लागि अगाडि र पछाडि सीसी क्यामेरा रहने बसमा निःशुल्क वाइफाई र मोबाइल चार्जको सुविधासमेत हुनेछ ।

५० वटा मेट्रो बस सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सहमति आएको स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । ‘प्रधानमन्त्रीले संसदमा जनाएको प्रतिबद्धताअनुसार एक सय ठूला र आधुनिक मेट्रो बस सञ्चालनका लागि ६८ करोड ४० लाख माग गरी अर्थमा पठाइएको थियो । तर आधा संख्याका लागि मात्र सहमति प्राप्त भएको छ’, शर्माले भने, ‘यही आधारमा जतिसक्दो चाँडो बस सञ्चालन प्रक्रियामा जान्छौं ।’

प्रधानमन्त्री दाहालले संसदमा गत भदौ २३ गते बुँदा नं १४ मा ६ महिनाभित्र एक सयवटा लामा र स्तरीय बस काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेत, धनगढी र घोराही गरी १३ सहरमा सञ्चालन गर्ने बताएका थिए ।

यसका लागि सरकारी स्तरबाटै ‘उपत्यका नगर यातायात लिमिटेड’ दर्ता प्रक्रिया पनि अघि बढाइसकिएको छ । यसका लागि काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, मध्यपुरलगायत गरी उपत्यकाका २२ वटै नगरपालिका साझेदार संस्था हुनेछन् । उनीहरूले सेयरका रूपमा लगानी गर्नेछन् भने सरकारबाट प्राप्त अनुदान रकमबाट बस सञ्चालन गर्न कम्पनी स्थापना गर्नेछन् ।

मन्त्रालयको पूर्वाधार विकास महाशाखाका अधिकृत महेश अर्यालका अनुसार अर्थ मन्त्रालयले ५० वटा बस सञ्चालनका लागि सहमति पठाएसँगै सञ्चालनको स्वामित्व, व्यवस्थापन, कर्मचारी व्यवस्थापन, भाडा निर्धारण र आम्दानी व्यवस्थापन, गाडी खरिदको यथार्थ लागत र कर छुटसहितको विस्तृत विवरण, ऋण अनुदान सेयर, सरकारले गर्ने मोडेल आदिबारे आधिकारिक जानकारी मागेको छ ।

नगरवासी सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले नगरबस सञ्चालन तयारी गरिएको हो । यसबाट नगरबासीले सस्तो, सुलभ, स्तरीय एवं भरपर्दो सेवा पाउने पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठको भनाइ छ । सेवा व्यवस्थित बनाउन महानगरपालिकाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा यातायात व्यवस्था विभागका मोहनप्रसाद भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर निशा ठाकुर सदस्य रहेको प्राविधिक समितिसमेत गठन गरिएको थियो ।

सञ्चालन गर्न लागिएको नगरबस अपांगमैत्री हुनेछ, जसमा अपांगता भएका यात्रुलाई सहजताका लागि ‘अडियो नोटिस बोर्ड’ र स्थान जनाउन ‘डिस्प्ले बोर्ड’ व्यवस्था गरिनेछ । यसले कुन ‘स्टप’ आइपुग्यो र अब कुन आउँदैछ भनेर जानकारी दिनेछ । यात्रु सुरक्षाका लागि अगाडि र पछाडि सीसी क्यामेरा रहने बसमा निःशुल्क वाइफाई र मोबाइल चार्जको सुविधासमेत हुनेछ ।