मेयर साप ! सडक बत्ती छन तर बल्दैनन , बाल्दिनुस । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेयर साप ! सडक बत्ती छन तर बल्दैनन , बाल्दिनुस ।



-दिपक घिमिरे ।

यो बिषयमा लेख्नु भन्दा पैला मेयर सापलाई धन्यबाद दिन चाहन्छु त्यो यसकारणले कि करिब एक महिना पैला मैले युगबोधमा धुलोले दिएको सास्ती र यसको समाधानको लागि मेयर ज्युलाई सम्बोधन गरेर एउटा लेख लेख्या थिए । लेख छापिएको केही दिन पछिबाट घोराहीको तुल्सिपुर चोक सम्म टेङ्करले पानी चारेर धुलो मार्न थाल्यो । म लगायत धुलो पिडितहरु अहिले अलि सजिलै कटुवा खोला सम्म पुग्न सकेका छौ अनि तुल्सिपुरचोक सम्मका बासिन्दाहरु केही राहत महसुस गरेका छन ।

एउटा हैसियतमा बसेको मान्छेले चाह्यो भने एउटा शहर मात्र होईन , देशलाई नै स्मार्ट सिटि बनाईदिन सक्छ । त्यो हामी सबैले बुझेका छौ । सायद मेयर सापले घोराहीमा धुलोको समस्या बुझ्नु भो , अनि समस्या समाधानका लागि सम्बन्धित निकायलाई आदेश दिनु भो । र त आज धुलो बाट केही बचेका छौ । यसरी हाम्रो समस्यालाई सुन्दिनु भएकोमा मेयर सापलाई धन्यबाद नदियर बस्न सकिँदैन ।

अब आजको बिषय बस्तुमा प्रबेश गरौ ।

केही दिन अघि तुल्सिपुर चोकको ॐ स्विट हाउस बाट सिटि गार्डेन जाने कर्नरमा एक जना बृद्ध मानिस गाडी कुरेर बसेका थिए । रातको नौ बजि सकेको थियो । हातमा अलि ठुलै झोला बोकेका ती मानिस कहिले उठेर अगाडि सम्म जान्थे त कहिले फर्केर त्यही कर्नरमा आउथे । ॐ स्विट हाउस बन्द भएपछी त्यो ईलाका सुनसान र अन्धकार हुन्छ । भएको एउटा सडक बत्ती पनि बल्दैन ।

एक्कासी दुई जना सडक बालकले ती बृद्धको झोला थुतेर भागे । सडक बालकले झोला थुतेर भागेपछी बृद्ध चिच्याउदै उनिहरुको पछि कुदे । अलि भित्रै पुगेपछी ती सडक बालकले झोला फाल्दिए । बृद्ध झोला टिपेर फर्किए अनि उज्यालो ठाउँ खोज्दै चोकमा भएको अस्थाई प्रहरी पोष्ट तिर आएर गाडी कुर्न थाले ।

यो एउटा घटना हो जो सडक बत्ती नहुदा रातीमा हिडने यात्रु या सर्वसाधारणले बेहोर्नु परेको समस्या हो । यस्तो समस्या हरेक चोकमा देख्न सकिन्छ ।

घोराहीलाई स्मार्ट सिटिको रुपमा परिमार्जित गर्दै लाने बिषयमा निक्कै बहस भएका छन । सायद भौतिक पुर्वाधार निर्माणको लागि बजेट पनि छुट्टिदै होला । तर भएका संरचनालाई बेवास्ता गरेर कस्तो खालको पुर्वाधार निर्माण हुने हो ?

शान्ती सुरक्षाको लागि भन्दै सिसि क्यामेरा जडान भए , कतिले दुई महिनामै काम गर्न छाडे , कति चै धिप धिप गर्दै होलान । सिसि क्यामेराका समाचार खुबै आए एक जमानामा । कति बने कति बनेनन , त्यो प्रसासन सँग लेखा जोखा होला । तर सडकका पोलमा झुण्डिएका बत्ती कति बल्छन कति बल्दैनन , त्यसको लेखा जोखा हरेक बजार बासी सँग छ ।

लाखौ बजेट खर्चेर गाडिएका पोल मा तुर्लुङ्ग झुण्डेका बत्तिहरु कि बल्दै बल्दैनन । कि भने धिप धिप गरेर त्यो बाटो हिडने यात्रुलाई समेत समस्यामा पार्छन । घोराही को तुल्सिपुर चोक बाट दामोदर चोक जाने बाटोमा पर्ने कति बत्तिहरु धिप धिप गरेर आखाको रोशनी नै बिगार्छन कि झै हुन्छ । बल्दा उज्यालो हुने अनि दुई सेकेन्डमै झ्याप्प बन्द भएर आँखा दुख्ने अनि फेरि झ्याप्प उज्यालो बल्ने । यस्तै धिपधिपे बत्तिमा दुई मिनेट उभिनुस त मेयर साप । कति समस्या हुन्छ भन्ने आफै बुझ्नुहुनेछ ।

बजार क्षेत्रमा जडान भएका सडक बत्तिहरु नबल्ने या धिप धिप गर्दै बल्ने अबस्था आउदा गाउ टोल भने रातभर झलमल्ल बलेका हुन्छन । घोराही बजारलाई एउटा नमुना शहरको रुपमा बिकसित गर्दै लाने सपना देख्ने तर भएका बत्ती समेत बाल्न नसकेर अध्यारोमा बजारलाई सुताईदिने हो भने बन्छ त स्मार्ट सिटी ?

यस्तो समस्या भएका सडक बत्ती बजारमा धेरै छन । रात परे गाउँ जाने अनि उज्यालो भए बजार भित्रनेहरुलाई सडक बत्तिको समस्याले खास्सै पिरोल्दैन तर बजारमै बस्ने या बिहान अध्यारै बजार आउनु पर्नेहरुलाई यसले निक्कै समस्यामा पार्दछ ।

आधुनिक खालको सोलार सिस्टम वाला सडक बत्ती जडान भएको एक बर्ष नबित्दै बिग्रेका हुन । कति बत्ती झलल बलेर बजारै उज्यालो बनाएका छन भने कति चै पाँच सेकेन्ड बल्दै पाँच सेकेन्ड निभ्छन । यस्ता समस्या भएका सडक बत्ती घोराही र नारायणपुर बजार क्षेत्रमा देख्न सकिन्छ ।

सडक बत्ती नभएका ठाउँ मा जोडनु पर्ने आबस्यकता एकातिर छ भने भएका जतिलाई बाल्ने अभिभारा पनि मेयर सापको काधमा आईपुगेको छ यतिबेला । बढदो चोरी अपराध अनि सडक बालकका हर्कतले आजित बजार बासीलाई निर्धक्क सँग हिडडुल गराउन पैला सडक बत्तीलाई झिलिमिली पारौ ।

बिग्रेका सडक बत्ती त्यसै छन , हरेक पोलमा ठुला ठुला सडक बत्ती छन तर बल्दैनन । अब यस्तो बजारमा न शान्तिसुरक्षाको दृष्टिले सुरक्षित महसुस हुन्छ न त स्मार्ट सिटीको सपना देखेर निदाउनै सकिन्छ ।

अझ मुख्य कुरा त दाङलाई प्रादेशिक राजधानी बनाउने सपना तुहि सक्यो । अब यस्तो अबस्थामा कमसेकम मेयरले आदेश दिनुस अनि स्मार्ट सिटिको पहिलो खुटकिलो स्वरुप बजारलाई उज्यालो बनाउनुस । बजारमा सडक बत्ती झलमल भएसी हाम्लाई घोराही बजार राजधानी भए जस्तै महसुस हुनेछ । अनि भोलि यहि स्मार्ट सिटीको बलले दाङलाई प्रादेशिक राजधानी बनाउने लाईनमा लगाउन सफल हुनेछौ ।