यस्तो सरकारमा बस्न नसक्ने भन्दै मन्त्रीद्वारा राजिनामा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो सरकारमा बस्न नसक्ने भन्दै मन्त्रीद्वारा राजिनामा



बेलायत । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एकपछि अर्को समस्या थपिँदै गएको छ । बिना सम्झौता बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने सम्बन्धी कानून बनाउन उनले ल्याएको विधेयक आफ्नै पार्टीका सांसद विपक्षमा उभिएपछि असफल भयो ।

त्यसपछि अक्टोबरको मध्यमा आम चुनाव गर्ने प्रस्ताव पनि सफल हुन सकेन । उनको बलिया सहयोगी ठानिएका भाइ जो जोन्सनले मन्त्रीबाट राजीनामा दिए । यी सबै समस्याबाट गुज्रिएका बोरिस जोन्सनलाई अर्को समस्या थप भएको छ ।

उनको मन्त्रीपरिषदकी अर्की एक मन्त्रीले पनि राजीनामा दिएकी छन् । वर्क एण्ड पेन्सन मन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । मध्यमखालका कन्जरभेटिभ सांसदलाई बर्खास्त गरिएपछि आफू सरकारमा बसिरहन नसक्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।

प्रधानमन्त्री जोन्सनको विधेयकको विपक्षमा मतदान गर्ने सत्ता पक्षका २१ सांसदलाई जोन्सनले मंगलबार बर्खास्त गरेका थिए । उनीहरुलाई बर्खास्त गरिनु शिष्टता र प्रजातन्त्रमाथिको अपमान रहेको उनले उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री जोन्सनको कार्यालयले प्रतिभाशाली मन्त्रीको राजीनामाबाट निराश भएको जनाएको छ । तर मन्त्रीपरिषदमा आएका सबै मन्त्रीले अक्टोबर ३१ सम्ममा जसरी भए पनि बेलायतलाई इयुबाट अलग गर्ने पक्षमामा हस्ताक्षर गरेको पनि कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राजीनामा दिएकी रडले भने सरकारको प्राथमिकता सम्झौतासहित बेलायतलाई इयुबाट अलग गर्ने पक्षमा रहेको विश्वास नरहेको उल्लेख गरेकी छन् । बीबीसी