के तपाइँलाई पनि मिस्डकल आएको छ? हुनसक्छ यस्तो खतरा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

के तपाइँलाई पनि मिस्डकल आएको छ? हुनसक्छ यस्तो खतरा



बीबीसी- विदेशको नचिनेको नम्बरबाट फोन आउने क्रम बढेपछि बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणले एउटा सार्वजनिक सूचना प्रकाशित गर्‍यो।

उक्त सूचनामा अपरिचित नम्बरबाट आएका कलहरू नउठाउन र कलब्याक नगर्न भनिएको छ।

फोनमा एक (वा दुई) घन्टी हानेर छोड्ने र प्रयोगकर्तामा उत्सुकता उत्पन्न गराई ‘कल ब्याक’ गर्न लगाएर त्यसबापत महँगो रकम लैजाने गिरोहहरूले त्यसरी फोन गर्छन्।

नेपालमा यसअघि ट्युनिसियाबाट त्यस्ता कलहरू धेरै आएका पाइएकामा यसपटक भने पोल्याण्ड देखिएको नेपाल टेलिकमले जनाएको छ।

त्यसबाहेक खासै नाम नै नसुनिएका देशबाट समेत बेलाबखत आउने त्यस्ता फोनले समयसमयमा नेपाली मोबाइल फोन प्रयोगकर्तालाई सताउने गरेको छ।

के हुन् ती कल?

धेरैलाई सबेरै वा मध्यरातमा एक-दुई घण्टी बज्ने यस्ता कलले झुक्याएको छ।

विदेशमा कसैलाई आपत् पर्‍यो कि भन्ने धेरैले ठानेका हुनसक्छन्।

अनि ‘मिस्ड कल’ होला भन्ठानेर ती नम्बरमा फोन गर्न सक्ने मनोविज्ञान बुझेका गिरोहहरू यसमा सक्रिय भएका छन्।

‘वान्गिरी’ पनि भनिने त्यस्ता फोनबारे मोबाइल सेवाप्रदायकहरूले बेलाबखत एसएमएस र सामाजिक सञ्जालबाट सतर्क रहन सूचना पनि दिने गरेका छन्।

यन्त्रमार्फत् स्वचालित रूपमा एकैपटक धेरै नम्बरमा सङ्गठित गिरोहहरूले मिस्ड कल गर्छन्।

‘फोन गरे मात्र समस्या’

अमेरिकी वा युरोपेली देशहरूसँग प्राविधिक साझेदारी नगरेका कोमरोज, चाड, क्युबा, माडगास्करजस्ता देशहरू मोबाइल फोन सेवामा उच्च शुल्क लिने स्थान मानिन्छन्।

“ती नम्बरमा जवाफ फर्काउँदा मात्र समस्या हुने हो। अन्यथा ठूलो समस्या नहुने भएकाले आत्तिनु पर्दैन,” नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरूषोत्तम खनालले बीबीसीलाई भने।

“विकासोन्मुख र अल्पविकसित देशमा यस्तो क्रम उच्च देखिएको छ।”

कलब्याक गर्दा ती कलको मार्ग अन्यत्रै मोडेर ती गिरोहहरूले उच्च रकम काट्नेजस्ता अवाञ्छित फाइदा लिने गरेको नेपाल टेलिकमका अधिकारीहरू बताउँछन्।

यसअघि रुसअन्तर्गत रहेको टार्टार्स्तानको +७ र युगान्डाको +२५६ बाट सुरु हुने विभिन्न नम्बरजस्ता कन्ट्री कोड भएका नम्बरबाट पनि मिस्ड कल आएको धेरैको गुनासो छ।

कसरी चिन्ने?

गलत उद्देश्यबाट आएका त्यस्ता कलबारे जानकारी दिने केही एप पनि छन्।

तर ती एप्‌ले समेत प्रयोगकर्ता र तिनको सङ्ग्रहमा भएका नम्बर तान्न सक्ने र गोपनीयता भङ्ग गर्न सक्ने सम्भावना भएको सूचना प्रविधिविज्ञहरू बताउँछन्।

स्प्याम कलबाट बच्ने एउटा उपाय आफ्नो नम्बर सुरक्षित राख्नु हो। असुरक्षित लाग्ने अपरिचित नम्बरबाट आएको फोन उठाउन वा फर्काउन नहुने विज्ञहरू बताउँछन्।

विदेशमा शङ्का लागेका त्यस्ता कलबारे सेवा प्रदायकसँग तिनको वैधताबारे बुझ्ने सुविधा समेत राखिएको छ।

तर नेपालमा भने शङ्कास्पद त्यस्ता नम्बर दूरसञ्चार प्राधिकरणलाई इमेल गरेमा त्यसलाई प्रतिबन्ध लगाउन सकिने बताइएको छ।

पहिले पहिले धेरै नाम नसुनिने देशबाट त्यस्ता फोन आए पनि अहिले त्यसको स्रोत पोल्याण्डजस्ता समृद्ध देश देखिन थालेको छ।

तर जुन देशको कन्ट्री कोड देखिए पनि ती कल त्यहाँबाट उत्पन्न भएका नहुने हुँदा थुप्रैपटक मिस्डकल देखिए पनि सचेत हुनुपर्ने बताइन्छ।

नेपालभरि जीएसएम र सीडीएमए गरेर अहिले झण्डै तीन करोड ९१ लाख मोबाइल फोनमा सेवा प्रदान गरिएको छ।