अब एमालेले ‘मिसन ८४’ अभियान चलाउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अब एमालेले ‘मिसन ८४’ अभियान चलाउने



मकवानपुर- नेकपा एमाले महासचिव शंकर पोखरेलले आफूहरूले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचन केन्द्रित रहेको बताएका छन् । उनले अब एमालेले ‘मिसन ८४’ लाई अभियानका रूपमा सञ्चालन गर्ने बताए ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडामा भएको प्रशिक्षणमा महासचिव पोखरेलले वर्षभरी एमाले हुने तर भोट हाल्ने दिन एमाले बिर्सने सदस्यहरू एमाले हुन नसक्ने भन्दै उनले नवीकरणमा भन्दा कटिबद्ध एमाले निर्माण अभियानमा जोड दिन मातहतका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

एक फरक प्रसङ्गमा महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको कोटाबाट टिकट दिने पार्टी नेतृत्वको निर्णयबारे खुलासा समेत गरेका छन् ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रममा पोखरेलले स्थानीय तहमा देखिएको पार्टीको पराजय, राजतन्त्रको पक्षमा रहेको राप्रपाको उदयको संकेतसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेर नाकाबन्दीको समयमा दिएको महत्वपूर्ण साथ तथा गणतन्त्रलाई स्वीकार गरेका कारण थापालाई एमालेले उम्मेदवार बनाएको बताए । यस्तै देशमा नाकाबन्दीको चर्को असर रहेको समयमा थापाले गरेको सहयोग निकै महत्वपूर्ण रहेको निष्कर्ष नेतृत्वले निकालेको र उनलाई एक पटक अवसर दिइएको उनको भनाइ थियो ।

यस्तै महासचिव पोखरेलले जनताको प्रश्न देखेर रिसाउने र भाग्नेहरू जनताको नेता हुन नसक्ने दाबी गरेका छन् । प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले अरुलाई प्रश्न गर्न सहज भएको मान्नेहरू आफूलाई प्रश्न आउँदा भाग्दै हिँडेको बताए ।

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका एकजना स्थानीय व्यवसायीप्रति गरेको व्यवहारप्रति व्यङ्ग्य गर्दै महासचिव पोखरेलले भने, ‘हिजो अरुलाई प्रश्न सोध्नेहरू आज जनताबाट आएको प्रश्न देखेर भाग्न पाइन्छ ?’ महासचिव पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले देशको अर्थतन्त्र बदल्न नसक्ने दाबी गरे । एमाले सरकारमा हुँदा नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तर एमालेको बहिर्गमनपछि देशको अर्थ व्यवस्था ध्वस्त हुँदै गएको उनले बताए ।

एसियाका दुई ठूला शक्ति राष्ट्रहरूको बीचमा आफूहरू रहेको र विश्वको अर्थतन्त्रको केन्द्र यी दुई राष्ट्र बन्दै गएका कारण नेपालमा विदेशी शक्तिको चलखेल बढ्न सक्ने भन्दै महासचिव पोखरेलले विदेशी शक्तिको केन्द्र बन्नबाट रोक्नका लागि एमालेलाई जनताले बहुमत दिनुपर्ने बताए ।