जब मिठाईको लोभ देखाउँदै मेरो इज्जत लुटियो « Himal Post | Online News Revolution
Logo

जब मिठाईको लोभ देखाउँदै मेरो इज्जत लुटियो



-दिपक घिमिरे

कक्षा दुईमा भर्ना भएर स्कुल जान थालेको थिएँ । अलिअलि सम्झना छ मलाई ती दिनहरूको । गाउँ घरमा बैँस चढेका दिदीहरूको ठुलै जमात थियो । नजिकै फिल्म हल थियो । त्यै हलले गर्दा पनि हाम्रो टोलमा बैँस चढेका दिदीहरू अलि उत्ताउला भएका थिए ।

एक दिन एक जना दिदीले मलाई सुटुक्क भनिन, “आज राती हाम्रो घरमा सुत्न आएस्, तलाई गोली मिठाई किन्दिन्छु ।”

एक रुपैयाँका चार वटा आउने गोली मिठाई हाम्रा लागी खुब मीठो बस्तु थियो । गोली मिठाई पाइने आशामा खुसी भएपनी राती सुत्न ऊनकोमा म जान पाउने वाला थिएन । बा आमाले रोक्नु हुन्थ्यो , मैले ती दिदीलाई भने “आमालाई भन्नू, जा भनेसी आउँछु ।”

दिदीले आमासँग कुरा गरिन, आमाले जा भन्नू भो । दिदी कुन कुरामा खुसी भइन खै, तर म चैँ गोली मिठाई खान पाइने कुरामा खुसीले पागल जस्तै भए । अनि बेलुका उनको घरमा सुत्न आए ।

घरमा दिदी एक्लै थिइन । म सात वर्ष पूरा गरेको बालक, उनी जवानीले ढकमक्क फुलेकी युवती । कोठामा पुग्ना साथ सोधे “खै मिठाई ?”

उनले मुठीमा मिठाई देखाउँदै भनिन “आइज सुतौँ ।”

घरमा बा, आमासँग सुत्ने म उनीसँग सुत्न के डर । बरु एक्लै सुत्न पो डर त ।

म उनीसँगै सुत्न गएँ । उनी मलाई एक एक गर्दै गोली मिठाई दिइन, अनि म माथि यौन दुर्व्यवहार पनि गर्दै गइन । निर्वस्त्र उनी मलाई सुम्सुम्याउथिन, म्वाई खान्थिन । मलाई यी कुनै कुरामा मतलब थिएन । काउकुती लाग्दा रिसाउँथे, अनि अर्को गोली मिठाई दिएर फकाउँथिन ।

म उसै त फुच्चे, त्यसमाथि निक्कै दुब्लो थिएँ । उनका बडेमानका खुट्टा मेरो शरीर माथि पर्थे । म मिठाई चुस्नमै व्यस्त हुन्थेँ । उनी चैँ मेरो शरीरमाथि खेल्नमै व्यस्त थिइन ।

बिहान भएर उठ्नै लाग्दा उनले धम्की दिँदै भनिन “छिट्टै निदाएको हु भनेस्, यस्तो उस्तो केही नभनेस् । भनिस् भने कुट्छु, भनिनस् भने फेरि मिठाई पाउँछस् ।”

म मिठाई पाउने आशामा त्यो रातको कुरा कसैलाई भनेन । उनी मलाई धेरै पछि सम्म मिठाई खुवाई रहिन, त्यही रात गोप्य राख्ने सर्तमा । तर मलाई चैँ धेरै समय सम्म थाहा भएन कि त्यो रात उनले म माथि के गरेकी थिइन भनेर ।

जब जवान भएँ अनि थाहा पाएँ, उनले म माथि यौन हिंसा गरेकी रहिछिन । पछि थाहा पाएर लजाउनु सिवाय अरू उपाय थिएन, आजभोलि त्यो रात सम्झिदा लाज लाग्छ ।

भाग्यको कुरा ! केही वर्ष पछि ती दिदी हरू त्यहाँ बाट बसाई सराई गरेर गएपछि आज सम्म देखेको छैन । तर सोच्छु ! त्यो बेला म बलात्कारको सिकार हुनबाट बचेको रहिछु । म माथि यौन हिंसा मात्र भएको रहेछ ।

यस्तै यौन हिंसामा परेको अर्को घटना छ ।

घरबाट हिँडेर एक घण्टा लाग्ने दुरीमा हाम्रो नजिकको बजार थियो । आजभोलि जस्तो सस्ता सवारी साधन पनि थिएनन् अनि सवारीमा खर्चिन सस्तो पैसा पनि थिएन ।

हामी मात्र होइन, गाउँ भरिका सबै हिँडेर बजार जान्थ्यौँ अनि हिँडेरै फर्कंथ्यों । मौका मिल्यो भने कहिले काहीँ गाउँ कै ट्रयाक्टर पाइन्थ्यो, बजार सम्म पुग्नका लागी । बाँकी लोकल चल्ने जिप ट्याम्पुले त नजिकै भनेर बस्न नि दिँदैनथे, सोर्स लाइयो भने पछाडि झुण्डेर यात्रा गर्न पाइन्थ्यो । त्यसो गर्न पहिला गोजामा भाडा तिर्न पुग्ने पैसा चाहिन्थ्यो । त्यो हामी केटाकेटीसँग झन् हुने कुरै भएन ।

एक दिन भाइ र म बजारबाट घर फर्कँदै थियौँ । महेन्द्र राजमार्गबाट फर्कँदा बाटो लामो पर्दथ्यो भने सटकट बाटो पकड्दा बाटोमा जङ्गल अनि सानो खोला पर्दथ्यो । हामी पैदल हिडनेहरु प्राय त्यही सटकट बाटो पकड्थ्यौ ।

बजार छाडेर खोला झर्‍यौँ , खोलाबाट उक्लिएपछि बेलनी डाँडो आउँथ्यो जहाँ अहिले घना बस्ती छ अनि सरकारी अस्पताल पनि । उक्लनासाथ चार पाँच वटी अधबैँसे केटीहरूले हामीलाई घेरा हाले ।

भाइ आत्तियो, म पनि उस्तै आत्तिएँ । उनीहरूले हामीलाई च्याप्प समाउँदै म्वाई खान थाले । हाम्रा नरम गाला टोक्न थाले । भाइ रुन थालेपछी मैले भने, “छाड्नुस् के दिदी ! बा लाई भन्दिन्छु नत्र ।”

बा प्रति हाम्रो भयङ्कर विश्वास थियो । हाम्रा बा संसारकै सबैभन्दा पहलमान हुन जस्तो लाग्थ्यो । हाम्रा बालाई यो कुरा भन्दियौं भने केटीहरूले रामधुलाई भेट्नेमा हामी विश्वस्त थियौँ ।

एउटीले मेरो भाइलाई कालु अनि कान्छू भन्दै मुसार्दै थिई भने अर्कीले मलाई जुरुक्क उचालेर कम्मरमा बोकी अनि गालामा कहिले म्वाई खाई त कहिले किटिक्क टोकिदिई । अरू बचेका केटीहरू रमिता हेर्दै हाँस्दै थिए । एउटाले छाडेपछि अर्कीले हामीलाई उचाल्ने, चुम्मा गर्ने अनि टोक्ने क्रम चलिरह्यो । भाइ रोईरह्यो, म पनि रुन थाले ।

बजारबाट किनेको डुनोट थियो, बाटोमा हिड्दा खाने योजनामा हामी दुई भाइ थियौँ । त्यो कता खस्यो थाहा भएन । हामी केटीहरूको अँगालो अनि काखबाट फुत्केर भाग्ने दाउमा थियौ ।

धेरै बेरको चुम्मा चाटी सकिएपछि केटीहरू उत्ताउलो बन्दै हाँस्न थाले, हामी रुँदै सुइँकुच्चा ठोक्यौ ।

फिता वाला बाटा चप्पललाई हातमा घुसारेर कुहिनासम्म पुर्‍याएका हामीहरू घर पुग्दा बा आँगन मै हुनुहुन्थ्यो । आमा भान्सातिर । भाइले रुँदै ती केटीको अन्यायबारे बताउन थाल्यो, म नजिकै बसेर सुँक्क सुँक्क गर्न थाले ।

भाइले सबै बेली(बिस्तार लाईसकेपछि बा गलल्ल हाँस्दै भन्नू भो “मर्द भएर रुन्च, तिमुरले पनि टोक्दिनु पर्ने तिनुरका गाला । केटीले किस खाई भनेर रुन्च बेकुफ ।”

हामी बक्क पर्‍यौँ, बा उनीहरूलाई सजाय दिन खोज्न हिडनुहुन्छ भनेको उल्टै हाम्रै गल्ती देखाएर हाँस्न थाल्नु भो ।

यो बालक माथिको यौन हिंसा होला कि नाई?

महिला हिंसाका मिठा गफ गाउँ समाजमा प्रशस्तै सुन्न पाइन्छ । तर त्यही समाजमा कति पुरुष हिंसाका सिकार भएकाहरू पनि छन् भन्ने किन नबुझेका होलान् ।

यो मेरो बाल्यकालको कथा सुनेर कतिले विश्वास गर्नु भए होला भने कतिले फटाहा भन्दै उडाउनु भयो होला । तर मैले धेरैलाई सोधेको छु, बाल्यकालमा गाउँ घरकै अन्टी दिदीहरूबाट यौन हिंसाका सिकार भएका छौ भन्दै ।

धेरै साथी हरू मुसुक्क हास्छन अनि सुरु गर्छन् आफ्ना बाल्यकालका ती यौन कथाहरू सुनाउन । सबैको एउटै कथा हुन्छ, “म अनजान थिएँ, अन्टीले प्रलोभनमा पारेर मजा लुटिन ।”

हुन त यस्ता कुरा मैले नलेख्नु पर्ने हो । तर बाल्यकालमै यौन हिंसाको सिकार पुरुष पनि भएका हुन्छन् भनेर देखाउन खोजेको मात्र हु । कुनै पनि प्रलोभनमा पारेर बाल बालिकाहरूमाथि यौन हिंसा जन्य क्रियाकलाप गरिनु दण्डनीय अपराध हो । तर यहाँ बालिका माथिको अन्याय छताछुल्ल पारिन्छ तर बालक माथिको अन्याय हाँस्दै लुकाइन्छ ।

हो ! गोली मिठाईको लोभमा मैले आफू माथिको हिंसा लुकाए तर गाला टोक्दै काखमा बोकेर गरिएको यौन हिंसा लुकाको थिएन । त्यति बेला बाले उनीहरूका विरुद्ध आवाज उठाएको भए हामी माथि न्याय हुन्थ्यो ।

मैले देखाएको जस्तै बाल्यकालको समस्या धेरै लाई परेको हुन्छ । धेरै जसो बालकहरू खान पाउने आशामा गाला टोकाउँछन् । मैले लुकाए जस्तो कुराहरू नलुकाई बा आमालाई भन्छन् पनि तर बाआमाको रियाक्सन छोरा भए भिन्दै अनि छोरी भए भिन्दै प्रकारले देखाउँछन् ।

मेरो छोरालाई किन खुट्टा बोकाएकी भनेर उसलाई सोध्नु भन्दा छोरालाई खिस्स हाँस्दै सोध्छन् “स्वाद लायो, नजा भन्या मानेको थिइस् र ?”

छोराछोरी बराबरी भनेर भाषणमा मात्र सीमित नराखौँ, छोराहरूलाई पनि गाउँले छिमेकी आन्टीहरूबाट हुने यौन हिंसाबाट बचाउन आजै देखि लागौँ ।