मोदीलाई दिने भनिएको अवार्ड विवादित बन्यो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मोदीलाई दिने भनिएको अवार्ड विवादित बन्यो



नयाँ दिल्ली । प्रधानमन्त्री बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही अन्तर्राष्ट्रिय अवार्ड मिलिसकेका छन् । अर्को एउटा अवार्ड पनि दिन लागिएको छ । यसमा भने निकै विवाद भइरहेको छ । बिल र मेलिन्दा गेट्स फाउण्डेसनले प्रधानमन्त्री मोदीलाई ग्लोबल गोलकिपर अवार्ड दिने घोषणा गरेको छ । तर, यो घोषणापछि प्रतिष्ठित वकिल, मानवअधिकार कार्यकर्ता र समाजसेवीले बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनको कडा आलोचना गरेका छन् ।

फाउण्डेसनको २४ सेप्टेम्बरमा भएको चौथो वार्षिक गोलकिपर्स ग्लोबल गोल्स अवार्डको क्रममा प्रधानमन्त्री मोदीलाई सम्मानित गरिने निर्णय गरिएको थियो । यो अवार्ड प्रधानमन्त्री मोदीको फ्लागशिप कार्यक्रम ‘स्वच्छ भारत’ अभियानलाई दिन लागिएको हो ।

सरकारको दाबी अनुसार यो कार्यक्रममार्फत् देशभरी लाखौं शौचालय निर्माण गरिएको छ र स्वच्छताप्रति मानिसले व्यापक जागरुकता देखाएका छन् । यद्यपि मोदीलाई अवार्ड दिने घोषणा गरिएपछि गेट्स फाउण्डेसनको आलोचना भइरहेको छ ।

सन् १९७६मा नोबेल शान्ति पुरस्कार विजेता मेरिड मैग्वेइरले गेट्स फाउण्डेसनलाई लेखेको पत्रमा भनिएको थियो, ‘‘हामीलाई यो थाहा पाएर निकै चिन्ता भएको छ कि बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनले यो महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो पुरस्कार दिँदैछ । नरेन्द्र मोदीको राजमा भारत खतरनाक र घातक अव्यवस्थाको तर्फ अघि बढिरहेको छ । जसको कारणबाट मानवअधिकार र लोकतन्त्र लगातार कमजोर भएका छन् । हामीलाई यो कुराले विशेष चिन्ता किन उत्पन्न भएको छ भने तपाईंहरुको फाउण्डेसनको घोषित मिसन जीवनलाई संरक्षित गर्नु हो । र, असमानतासँग लड्नु हो ।’’

यो पत्रमा उनीहरुले भारतमा अल्पसंख्यक (खासगरी मुसलमान, इसाई र दलित)माथि हमला बढेको र असम तथा काश्मीरमा मानवअधिकारको कथित उल्लंघनको बारेमा जानकारी गराउँदै फाउण्डेसनले प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने बारेमा दोस्रो पटक विचार गर्न आग्रह समेत गरेको छ ।

यो सम्मानको घोषणाको समयलाई लिएर पनि आलोचना भइरहेको छ । यो समय असम र काश्मीरमा मोदी सरकारले विवादित फैसला लिएको समय हो । त्यसको आलोचना भइरहेको छ । काश्मीरमा ५ अगस्टपछि हालत सामान्य हुन सकेको छैन ।

काश्मीरमा कैयौं जरुरी सेवा अझै पनि अवरुद्ध छन् । काश्मीरमा भारत सरकारमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ । प्रधानमन्त्री मोदीलाई दिइने सो अवार्ड उनलाई दुनियाँभरमा मिलेको अवार्डमा सबैभन्दा नयाँ हो ।

मंगलबार समाजसेवामा जोडिएका दक्षिण एशियाली अमेरिकीको एक समूहले गेट्स फाउण्डेसनलाई खुलापत्र लेखेका थिए । सो पत्रमा मानवअधिकारको उल्लंघनको हवाला दिँदै प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने निर्णयको आलोचना गरिएको थियो ।

पत्रमा भनिएको छ, ‘‘बितेको एक महिना भन्दा अधिक समयदेखि प्रधानमन्त्री मोदीले जम्मु काश्मीरका ८० लाख मानिसलाई नजरबन्दमा राखेका छन् । बाहिरी दुनियाँबाट त्यहाँ सञ्चार सम्पर्क हुन सकेको छैन । मिडिया कभरेज पनि बन्द छ । त्यहाँका बच्चासमेत हजारौं मानिस हिरासतमा रहेका छन् ।’’ पत्रमा अगाडि भनिएको छ, ‘‘भारतीय सुरक्षार्कीले स्थानीय मानिसलाई पिट्ने, यातना दिने र एक सानो बच्चाको हत्या समेत गरेको रिपोर्ट बाहिर आएको छ ।’’

यो पुरस्कारबाट भारत सरकारबाट भइरहेको मानवअधिकारको उल्लंघनमा अन्तर्राष्ट्रिय समुदायले मौनता देखाएको समेत जनाइएको छ । जब मोदी सत्तामा आए, उनले दुनियाँका कैयौं देशबाट पुरस्कार पाएका छन् । मोदीलाई फिलिप कोटलर राष्ट्रपति पुरस्कार लोकतन्त्र र आर्थिक विकासलाई नयाँ जीवन दिएवापत प्रदान गरिएको थियो भने सोल शान्ति पुरस्कार गरिब र धनीबीच सामाजिक र आर्थिक विषमतालाई कम गरेको भनेर दिइएको थियो ।

दक्षिण कोरियाको सोल पुरस्कारको पनि आलोचना भएको थियो । मोदीले लिएको नोटबन्दी समेतका कैयौं आर्थिक नीतिको पनि भारतमा आलोचना भइरहेको छ । पछिल्लो निर्णयबारेमा बिल गेट्सले चाहिँ स्वच्छ भारत मिसन भन्दा पहिला भारतमा ५० करोडभन्दा बढी मानिस समक्ष शौचालय नभएकोमा अहिले सुधार आएको जनाएका छन् । ‘‘अझैपनि लामो बाटो तय गर्नुछ । तर पनि भारतमा मोदीको स्वच्छता अभियानको असर देखिइरहेको छ,’’ फाउण्डेसले मिडियालाई दिएको जवाफमा भनिएको छ ।

‘स्वच्छ भारत मिसनले दुनियाँभरीको अन्य देशको लागि एक उदाहरणका रुपमा काम गर्न सक्ने जनाउँदै यसले दुनियाँभरीका गरीबका लागि स्वच्छतामा सुधार गर्न भूमिका खेल्न सक्ने फाउण्डेसनले जनाएको छ ।

(बीबीसी)