वर्तमान व्यवस्थालाई अस्वीकार गर्दछौँ – मोहनविक्रम सिंह « Himal Post | Online News Revolution
Logo

वर्तमान व्यवस्थालाई अस्वीकार गर्दछौँ – मोहनविक्रम सिंह



नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग हाम्रा सहकर्मीले गरेको कुराकानी

० तपाईँको कस्तो खालको पार्टी हो ? भूमिगत हो कि सार्वजनिक ?

– नेकपा (मसाल) भूमिगत पार्टी हो। यसका विभिन्न स्तरका प्रवक्ताहरू खुला हुन्छन्। जहाँसम्म महासचिवको प्रश्न हो, उनी अर्धभूमिगत हुन्छन्। अर्धभूमिगत यस कारणले कि उनको पद र नाम खुला हुन्छ, तर उनी सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुँदैनन्।

० तपाईँको आफ्नै पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले चुनावमा भाग लिइरहेको छ। मूल मसालका गतिविधिलाई सरकारले न निगरानी गरेको छ, न प्रतिबन्ध नै लगाएको छ। तर पार्टीलाई भूमिगत राख्‍नु भएको छ। पार्टीलाई भूमिगत राख्‍नु रहर हो कि बाध्यता ?

– रहर पनि होइन, बाध्यता पनि होइन। हाम्रो पार्टी नयाँ जनवादी क्रान्ति, समाजवाद र साम्यवाद जस्ता दीर्घकालीन उद्देश्यहरूका लागि काम गर्ने पार्टी हो। त्यसरी हाम्रो पार्टीले तात्कालिक रूपमा संसदीय प्रणालीलाई उपयोग गर्ने नीति अपनाएको छ, तर हाम्रो कार्यक्रम वा सङ्घर्ष त्यहीँसम्म सीमित रहँदैन। त्यसैले तात्कालिक कार्यक्रमहरूलाई हामीले वैधानिक मोर्चाद्वारा उपयोग गर्दछौँ भने दीर्घकालीन उद्देश्य पुरा गर्नका लागि हामीले हाम्रो सङ्गठनलाई भूमिगत राख्‍ने निर्णय गरेका छौँ।

० सरकारमा सहमागी हुनुभयो। चुनावमा तालमेल गरेर प्रतिस्पर्धा पनि गर्नुभयो। भनिरहनुभएको छ भूमिगत। जनताले तपाईँको पार्टीलाई कस्तो भनेर बुझ्ने ?
– कम्युनिस्ट पार्टीले एकातिर दीर्घकालीन र तात्कालिक कार्यक्रम र अर्कातिर, रणनीति र कार्यनीतिका बीचमा सामञ्जस्य कायम गरेर नै आफ्नो कार्यक्रमलाई अगाडि बढाउने प्रयत्‍न गर्दछ। यो मार्क्सवादी–लेनिनवादी वा द्वन्द्वात्मक पद्धति हो। त्यो पद्धति अनुसार हामीले एकैसाथ कैयौँ परस्पर विरोधी नीति अपनाउने वा उनीहरूका बीचमा सामञ्जस्य कायम गर्ने प्रयत्‍न गर्दछौँ। उदाहरणका लागि हामीले नेपाली काङ्ग्रेसलाई रणनीतिक वा वर्गीय दृष्टिकोणले दुश्मन शक्ति मान्दछौँ, तर कार्यनीतिक रूपले कैयौँपल्ट त्यससित कार्यगत एकता पनि गर्दछौँ, जस्तो कि २०४६ सालमा, २०६२–६३ सालमा। गत स्थानीय चुनावमा सहकार्य पनि एउटा कार्यनीतिक प्रश्न हो। हाम्रो पार्टीले एकातिर भूमिगत र अर्कातिर, खुला कार्यक्रमका बीचमा सामञ्जस्य कायम गर्दै आफ्नो नीति र कार्यक्रमलाई अगाडि बढाउने नीति अपनाउँछ।

० कुनै पनि पार्टीलाई क्रान्तिकारी शक्ति मान्नु हुन्न, आफू पनि केही गर्नु हुन्न र आलोचना मात्र गर्नु हुन्छ भन्ने तपाईँकै पूर्व सहकर्मीहरू भन्दछन् नि ?
– त्यस प्रकारको आलोचना तर्कसङ्गत छैन। हामीले कुनै राजनीतिक शक्तिको वर्गीय विश्लेषण, राजनीतिक चरित्र वा कुनै खास बेलामा त्यसले अपनाउने नीतिहरूका आधारमा नै गर्ने गर्दछौँ। त्यसका आधारमा नै कुनै राजनीतिक सङ्गठनको कुन प्रकारको चरित्र रहेको छ वा कुनै खास बेलामा त्यसप्रति कुन प्रकारको नीति अपनाउने ? त्यससम्बन्धी हाम्रो पार्टीको दृष्टिकोण वा नीति निर्धारण गर्दछौँ। जहाँसम्म हामीले आफूले केही नगर्ने वा अरूको आलोचना मात्र गर्ने भन्ने आरोपको प्रश्न छ, त्यसले वास्तविकतासित मेल खान्न। हाम्रो पार्टीको इतिहास लगातार सङ्घर्षको इतिहास रहँदै आएको छ भने जनताका तात्कालिक माग वा विकास कार्यहरूमा समेत हाम्रो महत्त्वपूर्ण भूमिका रहेको कुराको इतिहास साक्षी छ।

० जुन राज्यसत्ताको जीवनभर विरोध गर्नु भयो त्यसै राज्यसत्ताको प्रतिनिधि बनाउन जीवनसाथीलाई प्युठानबाट निर्वाचन लड्न पठाउनु भयो। यो विरोधाभास भएन र ?
– माथि हामीले उल्लेख गरेका कुराहरूबाट रणनीति र कार्यनीतिका बीचमा सन्तुलन कायम गर्दै अगाडि बढ्ने पार्टीको घोषित नीतिअनुसार नै हामीले तात्कालिक नीति र कार्यक्रमहरू निश्चित गर्दै आएकाछौँ। विद्यमान प्रतिक्रियावादी व्यवस्थाको अन्त गर्नु र त्यसका ठाउँमा नयाँ जनवादी सत्ता कायम गर्नु हाम्रो रणनीतिक उद्देश्य हो। संसदीय प्रणालीलाई पनि हामीले सैद्धान्तिक र रणनीतिक दुवै दृष्टिकोणले अस्वीकार र विरोध गर्दछौँ। तर कार्यनीतिक रूपमा त्यसलाई हामीले कुनै बेला बहिष्कार र कुनै बेला उपयोग गर्ने नीति अपनाउँछौँ। तत्कालका लागि हामीले संसदीय प्रणाली अन्तर्गतका चुनावलाई उपयोग गर्ने नीति अपनाएका छौँ। त्यस सन्दर्भमा दुर्गा पौडेल मात्र होइन, हाम्रो बैधानिक मोर्चाका कैयौँ नेताहरू गतकालमा संसदमा निर्वाचित हुने गर्नु भएको छ र अहिलेको चुनावमा प्रदेश र स्थानीय स्तरमा पनि कैयौँ साथीहरू निर्वाचित हुनु भएको छ। निर्वाचित भएका वाहेक गतकालमा हाम्रा हजारौँ समर्थकहरूले विभिन्न स्तरका चुनावमा भाग लिने गर्नु भएको छ। त्यस प्रकारको पृष्ठभूमिमा दुर्गा पौडेलको मात्र कुरा उठाउनु हास्यास्पद कुरा हो।

० तपाईँ फरक विचार राख्‍नेलाई देखिसहनु हुन्न, त्यसैले एकताभन्दा फुट/विभाजन धेरै हुन पुग्यो। पछिल्लो समय केन्द्रीय समितिका केही सदस्यले फरक मत समेत राख्‍नु भएको छ। खास एकपछि अर्को गर्दै फुट/विभाजन हुनुको मुख्य कारण के हो ?
– करिब सात दशक लामो इतिहासमा पार्टीमा कैयौँपल्ट फुट वा अनुशासनका कारवाही हुने गरेका छन्। विभिन्न सन्दर्भमा सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक र अनुशासन सम्बन्धी कारणहरूले पार्टीमा फुट वा अनुशासन सम्बन्धी कारवाही हुने गरेका छन्। त्यस प्रकारका सबै फुट वा अनुशासन सम्बन्धी सबै कारवाहीलाई “फरक विचार राख्‍नेलाई देखिसहनु हुन्न” भनेर प्रस्तुत गर्नु चीजलाई गलत प्रकारले बुझ्नु वा प्रस्तुत गर्नु हो। डा. केशरजङ्ग रायमाझीको गुटलाई उनीहरूले राजावादी लाइन लिएको हुनाले नै हामीले उनीहरूलाई पार्टीबाट निष्कासित गर्नु परेको थियो। त्यसै गरेर अन्य कतिपय पक्षहरूले राजापरस्त, काङ्ग्रेसपरस्त, उग्र “वामपन्थी” सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, नव ट्राटस्कीवादी आदि लाइन लिएको हुनाले हामीले उनीहरूलाई निष्कासन गर्नु परेको थियो वा उनीहरू हाम्रो पार्टीबाट अलग भएर गएका थिए। कतिपय व्यक्तिहरूले पार्टीका सङ्गठनात्मक प्रणाली, विधान वा नियमहरू उल्लङ्घन गरेका कारणले पनि हामीले कतिपय कार्बाहीहरू गर्नु परेको थियो। त्यस प्रकारको कार्बाहीमध्ये प्रत्येकका बेग्लाबेग्लै प्रकृति वा सन्दर्भहरू छन्। ती सबैको यहाँ चर्चा गर्नु सम्भव छैन।
अहिले हाम्रो पार्टी आठौँ महाधिवेशनको मुखमा छ। त्यस सिलसिलामा पार्टीभित्र बहुमत र अल्पमतका बीचमा दुई लाइनको सङ्घर्ष चलेको कुरा सत्य हो र त्यसरी पार्टीभित्र चलिरहेका कैयौँ छलफलहरूलाई हामीले सार्वजनिक पनि गरेका छौँ। जस्तो कि चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् भन्ने विषयमा बहुमत र अल्पमतका बीचमा मतभेदको प्रश्न। पार्टीभित्र चलेको यस प्रकारको छलफलले पार्टीमा उच्च प्रकारको जनवाद भएको कुरालाई नै बताउँछ। यसका लागि हामीले दावी गर्न सक्दछौँ कि नेपालका सबै राजनीतिक पार्टीहरूमध्ये हाम्रो पार्टीमा नै सबैभन्दा बढी जनवादी रहने गरेको छ। पार्टीभित्र बहुमत र अल्पमतका बीचमा भएका मतभेदहरूबारे पार्टीभित्र देशव्यापी रूपमा नै फोरम चलेका छन् र महाधिवेशनमा पनि त्यसबारे विस्तृत रूपले छलफल हुनेछ र बहुमतका आधारमा पार्टीको नीति तथा नेतृत्व निश्चित हुनेछ।

० तपाईँ आफ्नो पार्टीलाई क्रान्तिकारी दावी गर्नु हुन्छ तर संसदीय राजनीतिको अभ्यास गरिरहनु भएको छ। वास्तवमा तपाईँले भन्ने गरेको क्रान्ति कसरी पूरा हुन्छ ?
– मलाई लाग्दछ, यो प्रश्नको जबाफ पहिले नै गइसकेको छ। हामीले रणनीतिक रूपमा वर्तमान व्यवस्थालाई अस्वीकार गर्दछौँ, र त्यसलाई समाप्त गरेर नयाँ जनवादी सत्ता कायम गर्नु अहिलेको हाम्रो आधारभूत कार्यक्रम हो। तर प्रतिक्रियावादी व्यवस्थाभित्र पनि तात्कालिक परिस्थिति वा आवश्यकता अनुसार कतिपय अवस्थामा त्यसलाई उपयोग गर्ने नीति पनि अपनाउँछौँ। त्यस अनुसार नै तात्कालिक रूपमा हामीले कतिपय अवस्थामा संसदीय वा सुधारवादी नीति वा कार्यक्रमलाई पनि अपनाउने गर्दछौँ। त्यस प्रकारका नीतिहरू क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी सिद्धान्त अन्तर्गत नै आउँछन्। यस प्रकारको मार्क्सवादी–लेनिनवादी सिद्धान्त वा द्वन्द्वात्मक पद्धतिबारे ज्ञान नभएका व्यक्तिहरूले नै हाम्रा यी बेग्लाबेग्लै प्रकारका नीतिका बीचमा विरोधाभाष देख्दछन्, जबकि हामीले कुनै खास बेला अपनाउने कार्यनीति रणनीतिको नै सहायक वा पूरक अङ्ग हो। अर्को शब्दमा, त्यस प्रकारका बेग्लाबेग्लै समयमा अपनाइने कार्यनीतिका आधारमा हामीले आफ्ना क्रान्तिकारी रणनीतिक उद्देश्यहरू पुरा गर्न सक्दछौँ।

० सी.के. राउतसँगको सम्झौता र राजनीतिको मूलधारतर्फको अवतरणलाई कसरी हेर्नु भएको छ ?
– सिके राउतको सन्दर्भमा सरकारले गरेको प्रयत्‍नलाई हामीले सही उद्देश्य पूरा गर्न सरकारले अपनाएको नीतिका रूपमा नै बुझेका छौँ। स्वतन्त्र मधेशको नारा लिएर पृथकतावादी सङ्घर्षलाई अगाडि बढाउन काम गरिरहेका राउतलाई मूलधारको राजनीतिमा ल्याउन गरिएको प्रयत्‍नलाई गलत भन्न मिल्दैन। सहमतिको १ नम्बर बुँदा सहमतिको प्रधान पक्ष हो र त्यसका लागि राउतलाई सहमत गराउनुलाई सरकारको सफलताको रूपमा नै लिनु पर्दछ। तर सरकारको त्यो कार्य पूरै सफल भएको छ कि छैन ? त्यसबारे कतिपय आशङ्का र प्रश्नहरू पनि उठेका छन्। ११ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि राउतले बारम्बार उनीहरूले जनमत सङ्ग्रहको मागलाई नछाडेको बताएका छन्। त्यसको अर्थ हुन्छ– पहिले उनीहरूले आतङ्कवादी तरिकाद्वारा स्वतन्त्र मधेशका लागि सङ्घर्ष गर्ने नीति अपनाएका थिए भने अब उनीहरूले बैधानिक र शान्तिपूर्ण तरिकाद्वारा त्यो उद्देश्य पुरा गर्नका लागि प्रयत्‍न गर्नेछन्। त्यसका लागि उनीहरूको मुख्य जोड जनमत सङ्ग्रहमा नै छ। त्यसमा जोड दिनका लागि नै उनीहरूले आफ्नो सङ्गठनको नाम जनमत पार्टी राखेका छन्। उनीहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नेपाललाई टुक्र्याउने रणनीति अन्तर्गत नै आफ्नो पृथकतावादी गतिविधि सुरु गरेका थिए। यो प्रश्न पनि नउठाइकन रहन सकिन्न, कहीँ राउतले अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी योजना अन्तर्गत नै सरकारसित सम्झौता गर्ने नीति अपनाएका ता होइनन्। ११ बुँदे सहमतिको दोस्रो धाराको सरकार र राउत पक्षले बेग्लाबेग्लै प्रकारले व्याख्या गरेका छन्। सरकारले लगातार यो दावी दोहोऱ्याइरहेको छ कि त्यसको अर्थ जनमत सङ्ग्रह होइन, जबकि राउत पक्षले त्यसको अर्थ जनमत सङ्ग्रह नै बताइरहेको छ। आउने दिनहरूमा नै यो कुरा स्पष्ट हुँदै जानेछ, त्यो विवाद कुन रूपमा टुङ्गिने छ। जे होस्, हाम्रो पार्टीले सरकारको पृथकतावादी आन्दोलनमा लागिरहेका कुनै पक्षलाई मूलधारमा ल्याउने प्रयत्‍नको समर्थन गर्दै देशलाई टुक्र्याउने कुनै पनि पक्षको प्रयत्‍न वा नीतिलाई सधैँ दृढतापूर्वक विरोध गरिरहने छ।

० विप्लवको क्रान्तिको बाटोलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
– विप्लवको अहिलेको नीति पूर्व माओवादी समूहको उग्र “वामपन्थी” लाइनको अवशेष हो। उनीहरूले अझै उग्र “वामपन्थी”बाटो समातिरहेका छन् भन्न मिल्दैन। तर उनीहरूमा त्यस प्रकारका प्रवृत्तिहरू एक वा अर्को प्रकारले देखा परिरहेका छन् र त्यस प्रकारका प्रवृत्तिलाई हामीले गैरमार्क्सवादी–लेनिनवादी र गलत मान्दछौँ। गतकालमा उनीहरूसित पार्टी एकताका लागि सम्भावना खोज्‍न वार्ता पनि चलेको थियो। तर सैद्धान्तिक, राजनीतिक र उनीहरूको कार्यशैलीबारे नै हाम्रा गम्भीर प्रकारका मतभेद भएकाले उनीहरूसितको पार्टी एकताको वार्ता बीचैमा भङ्ग भयो। उनीहरूले विभिन्न गाउँपालिकामा निर्वाचित हाम्रा समर्थक जनप्रनिधिलाई विभिन्न प्रकारका धम्की दिने वा जबर्जस्ती चन्दा असुल गर्न दबाब दिने गरेकाले पार्टी स्तरमा कार्यगत एकताको नीति पनि स्थगित गरिएको छ। उनीहरूले जुन नीति र कार्यशैली अपनाएका छन्, त्यसद्वारा देशको क्रान्तिकारी र कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, प्रजातान्त्रिक आन्दोलनलाई पनि धेरै नै नोक्सान पुग्‍नेछ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ।

० विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध र नेता कार्यकर्ता पक्राउ धरपकडलाई कसरी लिनु भएको छ ?
– नेकपा विप्लव पक्षमाथिको प्रतिबन्धलाई गलत बताएर हामीले आफ्नो वक्तव्य जारी गरेका छौँ। विप्लव पक्षसँग सम्बन्धित भएको हुनाले उनीहरूका सबै कार्यकर्ताहरूलाई धरपकड गर्ने कार्यलाई हामीले सही मान्दैनौँ। त्यसका साथै हामीले यो कुरामा पनि जोड दिन्छौँ कि विप्लव पक्षसित पनि वार्ता चलाएर राजनीतिक प्रकारले नै समस्यालाई समाधान गर्ने प्रयत्‍न गर्नुपर्दछ।

० मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पार्टी र तपाईँको पार्टी निर्वाचनलाई उपयोग गरिरहेको छ। सारमा दुबैको राजनीतिक शैली एकै भएकाले एकताको सम्भवना कति छ ?
– हाम्रो पार्टी र नेकपा क्रान्तिकारी माओवादी पार्टीको राजनीतिक लाइन वा कार्यशैली सारमा एकै छ भन्ने तर्क सही छैन। हामीले वर्तमान संविधान अन्तर्गतको सङ्घीयतालाई विरोध गर्दै गणतन्त्र र संविधानलाई समर्थन गर्दछौँ र तिनीहरूलाई रक्षा गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौँ र कार्यनीतिक रूपले तिनीहरूलाई समर्थन गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौँ। तर यी प्रश्नहरूमा बैद्य पक्षको दृष्टिकोण हाम्रोभन्दा ठिक विपरित छ। उनीहरूले सङ्घीयतालाई समर्थन गर्दछन् र गणतन्त्र र संविधानलाई प्रतिक्रियावादी बताउँदै तिनीहरूको विरोध गर्दछन्। पहिले उनीहरूले संविधान सभाको चुनावको बहिष्कार गरेका थिएँ। अहिले आएर संसदीय चुनावको उपयोग गर्ने नीति अपनाएका छन्। त्यो प्रश्नमा हाम्रो नीतिमा केही समानता जस्तो देखिए पनि सङ्घीयता, गणतन्त्र र संविधानलाई हेर्ने प्रश्नमा हाम्रा बीचमा धेरै नै भिन्नता छन्। रणनीतिक रूपमा हामीले वर्तमान बुर्जुवा गणतन्त्र वा संविधानलाई समाप्त गरेर त्यसका ठाउँमा नयाँ जनवादी सत्ता कायम गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौँ। तर उनीहरूले जनवादी गणतन्त्रलाई नै तात्कालिक कार्यदिशाका रूपमा प्रस्तुत गर्दछन्। जनवादी गणतन्त्र जनवादी क्रान्तिपछि नै कायम हुन सक्दछ। तर त्यसका लागि अहिले परिस्थिति तयार छैन। त्यो अवस्थामा तत्काल नै जनवादी गणतन्त्रको नारा दिनु रणनीतिक नारालाई नै कार्यनीतिक रूपमा प्रस्तुत गर्नु हो र त्यसकारण त्यो गलत हो। अहिले राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुनर्स्थापना गर्न, नेपाललाई हिन्दु राष्ट्र बनाउन अभियान चालिरहेको, नेकाभित्रको पनि ठुलो पङ्क्तिले गणतन्त्र र धर्म निरपेक्षताका प्रश्नहरूमा प्रतिगामी नीति अपनाइरहेको, भारतका कट्टर हिन्दुवादी शासक वर्गहरूले पनि त्यस प्रकारका प्रयत्‍नहरूलाई बल पुऱ्याइरहेको पृष्ठभूमिमा गणतन्त्र र धर्म निरपेक्षतामा आँच पुग्‍ने कुनै पनि नीति अपनाउनुलाई हाम्रो पार्टीले सही मान्दैन। त्यस प्रकारको नीतिबाट अहिले खास गरेर गणतन्त्र र संविधानको प्रश्नमा क्रान्तिकारी माओवादीले जुन नीति अनुशरण गरिरहेको छ, त्यसबाट क्रान्ति वा अग्रगमनलाई होइन, प्रतिगमनलाई नै मद्दत पुगने कुरा निश्चित छ। उनीहरूले सङ्घीयताबारे अपनाइरहेको नीतिबाट पनि देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनलाई नै मद्दत पुग्‍नेछ। उनीहरूमा जातीवाद र क्षेत्रीयतावादप्रति पनि झुकाव पाइन्छ। त्यसैले ती प्रश्नहरूमा सहमति नभइकन पार्टी एकता हुन सम्भव छैन, तैपनि ती सबै मतभेदहरूको बाबजुद पारस्परिक सहमति भएका विषयमा उनीहरूसित कार्यगत एकता गर्ने हाम्रो नीति खुला छ। तर त्यस विषयमा उनीहरूले अपनाएको अपेक्षाकृत सङ्कीर्ण नीतिका कारण अहिले त्यस प्रकारको कार्यगत एकता पनि सन्तोषजनक प्रकारले अगाडि बढ्न सकिरहेको छैन।