नोखिरामसँग जोडिएका यादहरू - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नोखिरामसँग जोडिएका यादहरू



-खिमु केसी-
सधैँ अलार्मले उठाउने बानी भएको छ अचेल। त्यो दिन अर्लाम लाग्नु भन्दा पाँच मिनेट अगाडी आफै उठेछु। छिटो उठेर अर्लाम बन्द गरें। अर्लाम बन्दै गर्दा मलाई ट्याग गरी एक साथीको निधनको फोटोले एकाएक सबै निद्राको ह्ययाङ सबै गयो । पोस्ट गरेका रहेछन् सुरज बुढाथोकीले । साथी नोखिराम डाँगीको निधन । राती राती त्यो अपत्यारिलो फोटो देखेपछि केही समय म पुरै अडिएँ जसरी ब्याट्री सकिएको घडी झैँ ।

अघिल्लो दिन मात्र त्यही फोटो राखेर आफ्नो मात्र फेसबुक वालमा छिटो सन्चो भएर आउनु ल सोल्टी भनेर सुरजले नै पोस्ट गरेका थिए । धेरैले लाइक कमेन्ट गरेका थिए । मैले पनि सामान्य तरिकाले झैँ गेट वेल सुन साथी भनेर कमेन्ट गरें। १०/१२ घण्टाको अन्तरालमा त्यही फोटोमा निधनको अर्को पोस्ट देखेँ। पहिले आँखाले विश्वास गरेन । मेरो आँखा तिरमिराए । धेरैले गरेका समवेदनाका कमेन्टले सत्यलाई नकार्न मैले सकेन ।

अन्ततः स्वीकार गर्न बाध्य भयो आँखा । काम जाने त्यो समय बढो अप्ठ्यारो बन्यो । काममा जान मनै आएन । बढो समस्या मेरो कम्पनीको नियम । यदि काम जानू मन भएन भने कम्तीमा ३ घण्टा अगाडी जानकारी दिनुपर्छ । कि आपतकालीन अवस्थामा बस्न पाइन्छ जति बेला पनि तर, कारण चैं देखाउनुपर्छ। त्यो मात्र परिवारको लागि लागु हुन्छ । बिरामी भएको खण्डमा बस्न पाइन्छ तर डाक्टरको सर्टिफिकेसन चाहिन्छ । कुनै रिपोर्टिङ कागजात भएन घरमा बस्नको लागि । बाध्यकारी भएँ म काम जानको लागि ।

धिरेन्द्र दाइसँगै दुइजना थियौँ काममा जाने एउटै अपार्टमेन्टबाट । त्यो दिन दाइको अफ थियो । म एक्लै जानूपर्ने भयो । के-के सोच्दा अनि जबरजस्ती फ्रेस हुन खोज्दा अलि समय बढी नै लाग्यो अरू दिनको भन्दा। प्राय २ बजे म काममा निस्कने म, त्यो दिन २.१० भएको थियो । मेरो त काम सुरु हुन ५० मिनेट जति थियो । काममा जान ८/१० मिनेटमा लाग्छ । कोठा छोड्नु अघि बाबुलाई हेरेँ। सबिनालाई हेरेँ। दुवै मस्त निद्रामा थिए । मन मान्दै मानेन । मनलाई मनाउँदै गाडीमा चढें ।

अटोम्याटिक गीत बज्न सुरु गर्‍यो। सिधै पेन ड्राइभ निकालेर गीत बन्द गरें। गाडी अगाडी बढाएँ तर दिमागले काम झन्डै रातो लाइटमा गाडी हाँक्न लागेछु । झसङ्ग भएँ, कम्पनी पुगेँ, गाडी पार्किङ गरेर सोझै टिडिआर रुममा गएँ । २.२० भएको थियो, अझै समय भएकोले गर्दा त्यही बसेँ । फेरि दोहोराएर त्यही पोस्ट हेरेँ । अहिले कमेन्टहरू बढेका । अनि अरू धेरै साथीभाइ अनि आफन्तहरूले दिएका समवेदना हेरेपछि अब पुरै मनले स्विकार्नु पर्‍यो सत्यलाई ।

काम सुरु गर्नु अघि क्लक इन गर्न जाँदै थिएँ के छ केसी जी भन्दै लोक भण्डारी दाइ आउनुभयो । अर्को नेपाली दाइ जो सँगै काम गर्छौँ हामी । अलि फ्रेस देखिन्नौ नि केसी के भयो भन्दै हुनुहुन्थ्यो दाइ । राती राती कस्तो अपत्यारिलो खबर सुन्न पर्‍यो दाइ । के भयो र ? दाइले थप्नुभयो । एकजना सँगै पढेको एकै ठाउँको अति मिल्ने साथीको निधन भएछ दाइ बढो भारी मनका साथ भने ।

हतार थियो काममा जान अरू कुरा हुन पाएन । मनलाई कन्ट्रोल गर्न कोसिस गरें । मन न हो कहाँ मान्छ र ! उसको पनि आफ्नै संसार छ, आफ्नै तरिका छ, कहाँबाट कहाँ पुग्छ । त्यो घटना हुनु भन्दा ३/४ दिन अघि मात्र लेनिनले नोखिरामलाई के भएको हो र अनि कसैसँग नम्बर छ भने पाउन ल भनेर ग्रुप च्याटमा सोध्यो । हाम्रो ब्याचलर सँगै पढेका साथीहरूको ग्रुप छ । खासमा यो ग्रुप क्रीएट पनि जीवनले अस्ट्रेलियाबाट गरेको थियो । कुनै समय यो ग्रुप धेरै तात्यो । अहिले धेरै सेलाएको छ

लेनिनले नम्बर मागेपछि मैले टोपेन्द्र गिरिलाई सम्पर्क गर त सायद नम्बर उपलब्ध हुन सक्छ भने । टोपेन्द्र नोखिराम काठमाडौँ मास्टर पढ्ने समयका रुम पार्टनर थिए । दाङमा पनि यिनीहरू दुईको भेटघाट अरूको भन्दा बढिनै हुन्थ्यो । दाङमा नोखिरामलाई भेट्दा टोपेन्द्रलाई सम्पर्क गर्दा भेट हुन्थ्यो । यम केसी दाइलाई अनलाइन देखेँ । म्यासेज लेखे । दाइले पनि तुरुन्तै रिप्लाई दिनुभयो । दाइ पनि आफ्नै कामले काठमाडौँ आउनु भएको रहेछ । हिजो मात्र नोखिरामलाई भेट्न जानू भएको रहेछ अर्को दाइ अजय महरासँग ।

दाइले भने अनुसार खासमा नोखिरामलाई भेट्न त पाउनु भएन रे । भाउजूलाई भेटेर आउनु भएछ। दाइले म्यासेन्जरमा थप्नु भयो । पहिले ज्वरो आएको रहेछ । अनि पछि ल्याबमा रगत चेक गर्दा टाइफाइड बिग्रेकोले गर्दा रगतमा केही खराबी छ भनेपछि दाङबाट काठमाडौँ आएका रहेछन् ।

पहिले मनमोहन मेमोरियलमा चेक गराएछन्, त्यसपछि ग्रीन सिटी हस्पिटलमा। यही हस्पिटलमै उनले संसार छोडेछन् । एकाएक मन कीर्तिपुर पुग्यो जहाँ हामीले दुईवर्ष भन्दा बेसी समय बिताएका थियौ । धेरै दंगाली साथीहरू थियौँ मास्टर डिग्री पढ्ने । हामीहरू समाजशास्त्र तथा मानवशास्त्रका विद्यार्थी थियौँ । अरू धेरै दंगाली साथीहरू फरक विभागमा पनि थिए । नोखिरामको कोठा भाजंगल थियो । मेरो पाँगा सालिकसँगै थियो । नोखिरामको रुम पार्टनर टोपेन्द्र थिए । मेरो लेनिन र सुरज ।एउटै विभाग भएकाले सधैँ भेट हुन्थ्यो । त्यसमा पनि हाम्रो कलेज जाने बाटो नोखिरामको रुमतिरबाट पनि जान मिल्ने भएर हामी प्राय त्यही बाटो भएर एउटा हुलनै जान्थ्यौँ।

सुरेश, जीवन, थमसन, झबिन्द्र, भागवत, उमेश र देव पनि सँगै हुन्थे । हाम्रो एउटा जत्था मिलेको देख्दा अरू जिल्लाका साथीहरू र अरू विभागका साथीहरू पनि खुसी र अचम्मित हुन्थे । हाम्रो कलेजमा राम्रो माहौल थियो । विभागका सर र म्याडमहरू पनि हामीहरूलाई विशेष गरी चिन्ने गर्नु हुन्थ्यो । नोखिराम सधैँ नरिसाउने स्वभावका थिए । सोझो भएर नै होला हामीहरू अलि जिस्काउँथ्यौ । जति जिस्काए पनि हाँसोसँगै सबै माफ हुन्थे। धेरैजसो सजिलो अनि हँसिलो भएर पनि होला हाम्रो रमाइलो गर्ने रुम पनि नोखिरामकै हुन्थ्यो । विद्यार्थी जीवन न थियो, सबै कुरा भने जस्तो हुने थिएन ।

साथीहरू मिलेर पैसा उठाउने अनि केही मन परेको खानेकुरा पकाएर खान्थ्यौँ । कहिलेकाहीँ अलि सस्तोवाला कल ब्रेक पनि खेलिन्थ्यो । खेल्दा र खाना खाँदापनि नोखिलाइ जिस्काइन्थ्यो किनकि उनको हाँसो मीठो थियो साथै नरिसाउने । रिसाइ हाले भने पनि मुस्कान सहितको रिसाइ हुन्थ्यो। त्यसैले सायद नोखीको ओरिजिनल रिसाइ कसैले देखेन जस्तो लाग्छ । देखे पनि टोपेन्द्रले देखे कि!। तर, उनले कहिले हामीलाई भनेनन् । यस्तै गरी बिते दुई वर्ष । देव सैनिक सेकेन्ड ल्याप्टिनेन्ट तिर गयो। सुरेश डिभी परेर अमेरिकातिर गयो । म कर्णालीतिर गएँ । नोखिराम काठमाडौँमै थिए । म कर्णालीको हुम्लामा थिएँ सायद । नोखिराम बेलायत गए रे भन्ने कुरा सुनेँ ।

लामो समयको अन्तराल भयो नोखिरामसँग भेटघाट र कुराकानी भएन । म बस्ने ठाउँमा त्यति राम्रो संचारको सुविधा थिएन । उनीसँग कुराकानी पुरै ठप्प भयो । मैले पनि कामको दौरानमा कर्णालीका चार जिल्ला बस्दै गर्दा कालिकोट बस्ने समयमा नोखिरामसंग कुरा गर्ने मौका मिल्यो । नोखिराम फर्किसकेका रहेछन् बेलायतबाट। लामै कुरा भयो । आफूलाई पनि कर्णाली जाने रहर लागेको बताए । “मलाई पनि कर्णाली लग यार खिमु”, नोखिराम भन्थे । मैले पनि कोसिस गरेको उनलाई कर्णालीमा लग्नको लागि खै के तालमेल मिलेन । मैले उनलाई लग्न सकिन । नोखिले आफै पनि कोसिस गरेनन् त्यसपछि ।

म दाङ आएको समयमा झन्डै पाँच वर्षपछि भेट भयो उनीसँग । पातलो शरीर मोटो भएको । गोरो त उनी पहिले देखिनै थिए तर चिल्लो भएका । “अब त तिमी कुनै हिरो भन्दा कम देखिन्नौ यार नोखिराम” मैले जिस्काए। “कहाँबाट होला के उस्तै हो यार” उनले भने।

स्थानीय गैरसरकारी संस्थामा काम सुरु गरेका रहेछन् त्यतिबेला। पछि आफ्नै व्यापारमा लाग्दै गरेका नोखिरामको व्यापार मैले देख्न पाइन । फोनमै कुरा अनि कहिलेकाहीँ म्यासेन्जरमा कुरा हुन्थ्यो । उस्तै हँसिलो अनि रसिलो लाग्थ्यो उनीसँग कुरा गर्दा कीर्तिपुर बस्दा जस्तो लाग्थ्यो । सबै कुरा समय रहेछ। समयको अगाडि कसैको केही लाग्दो रहेनछ । लाग्दो हो त नोखीराम हामीलाई छोडेर जाने थिएनन् । त्यही समय हो जसले हामीलाई सँगै बनायो । अहिले टाढा लगेर गयो हामीबाट ।

मृत्यु अकाट्य सत्य हो । कसैले पनि बहस गर्न सक्दैन यो कुरामा । तर पीडा हुँदो रहेछ बैसको निधनमा, भर्खरै जिम्मेवारी बहन गर्ने समयमा, आफ्नो परिवारलाई खुसी राख्छु भन्ने समयमा, जन्मदिने बा आमालाई छोराको कर्तव्यबोध गराउँछु भन्ने समयमा। पापी समयले सबै कुरा नबुझी निष्ठुरी अनि निर्दयी बनेर टपक्क टिपेर लैजाँदा कस्तो हुन्छ त्यो पर्नेलाई मात्र थाहा हुन्छ।

बैगुनी समयलाई थाहा हुँदैन। हुँदो हो त यस्तो पीडा दिने थिएन । जति बह पोखे पनि तिमीलाई फर्काउन सक्दैनौँ । तिमी हामीलाई छोडेर गयौ साथी । तिमीसँग बिताएका हरेक पल सम्झनामा सधैँ रहनेछन् । तिम्रो आत्माले शान्ति पाओस् । अलविदा साथी ।