मोतिपुर औद्योगिक क्षेत्रभित्रका वस्तीको उचित व्यवस्थापन गरिने :पाण्डे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोतिपुर औद्योगिक क्षेत्रभित्रका वस्तीको उचित व्यवस्थापन गरिने :पाण्डे



वुटवल, ६ असार

उम्मेदवारी दर्तासंगै नेपाली कांग्रेस वुटवलले चुनावी अभियानका घरदैलो, भेटघाट र कोणसभालाई तीव्रता दिएको छ ।
वुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेलसंगै कार्यकर्तामा उत्साह बढेको छ भने मेयरका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरका उम्मेदवार माओवादी केन्द्रका जगतवहादुर पोखरेल संयुक्त रुपमा घरदैलो, भेटघाट र कोणसभामा सरिक हुनुभएको छ ।

सोमवार नगरको वार्ड नं. १८ को पोखरावारी, सौरहिया, दुवौली, धन्दापुर र मोतिपुरमा घरदैलो गरि आयोजित कोणसभामा संयुक्त प्यानलका उम्मेदवार द्वय पाण्डे र पोखरेलले मोतिपुर औद्योगिक क्षेत्रभित्र पर्ने वस्तीको उचित व्यवस्थापन गरि औद्योगिक क्षेत्र छिट्टै संचालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अव्यवस्थित र सुकुम्वासी समस्याको समाधानका लागि जो जहाँ हकभोग गरी वसिरहेका छन, त्यसैका आधारमा उनीहरुलाई तत्काल नामसारी र यथाशीघ्र जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिने उहाँहरुले वताउनु भयो । कोणसभामा बोल्दै मेयरका उम्मेदवार पाण्डेले बृद्धभत्ता असक्त तथा अपांगहरुको उत्थानका लागि असमानरुपमा वितरण भैरहेको सामाजिक भत्तालाई विभेदरहित किसिमले वितरणको व्यवस्था मिलाउने र स्थानीय तहवाट बृद्धभत्तामा बृद्धि गरिने धारणा राख्नुभयो ।  पाण्डेले मेयरमा विजयी भएपछि वुटवल उपमहानगरपालिकाको कार्यालयलाई सर्वसाधारणको पहुँचमा पारदर्शी, छिटो छरितो र सरलरुपमा सञ्चालनको व्यवस्था मिलाईने वताउनु भयो ।

त्यस्तै उहाँले नगर भित्रका सिद्धवावा धाम, ज्योतिनगर, लक्ष्मीनगर, पारी वुटवल, वेलवास, नयाँगाउँ, तामनगर लगायतका क्षेत्रमा चुरे पहाडवाट हुने भू–स्खलनलाई नियन्त्रण गर्न उपयुक्त प्रविधिको प्रयोग गरि भू– स्खलन नियन्त्रणको व्यवस्था मिलाउने नगरवासीहरु समक्ष प्रतिवद्धता जनाउनु भयो । त्यस्तै नगरको वडा नम्बर १५मा पनि सम्युक्त प्यानलका मेयर र उपमेयरका उम्मेदवार सहित कोण सभा गरिएको नेपाली काँग्रेसका वडा नम्बर १५का उम्मेदवार प्रेम पौडेलले बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र महिला परिचालन समिति बुटवलले आयोजना गरेको एक कार्यक्रममा वोल्दै मेयरका उम्मेदवार पाण्डेले वाल तथा महिला अधिकारको संरक्षण र उनीहरुप्रतिको सवै प्रकारको हिंसा निर्मूल गरि शून्य सहनशीलताको नीति अवलम्वन गर्दै अगाडी बढ्ने वताउँदै महिला तथा निम्न आयस्तर भएका जनताको आर्थिक उन्नतीका लागि सीप तथा रोजगारमूलक तालिमको व्यवस्थासहित सस्तो र सरल व्याज दरमा ऋणको व्यवस्था मिलाउने वताउनु भयो । ्

त्यस्तै उपमेयरका उम्मेदवार पोखरेलले नगरको समग्र विकासका लागि नयाँ नयाँ आर्थिक श्रोतको पहिचान र व्यवस्थापनको साथै आवश्यकता अनुसार पव्लिक पार्टनरसिप प्रोगामको मोडेल अवलम्वन गरिने उल्लेख गर्नुभयो ।
उहाँले शिशु बाल तथा महिला मृत्युदर कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उचित सेवा सुविधाको व्यवस्था मिलाईने प्रतिवद्धता जनाउनु भयो ।

कोणसभामा नेपाली कांग्रेस वार्ड नं. १८ का वडा सभापति होमराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रामवहादुर कार्की, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष प्रकाश राना, नेपाली कांग्रेसका क्षेत्रीय सचिव विक्रम केसी, माओवादीका वार्ड इञ्चार्ज जनक गौतम, वार्ड नं. १८ का वार्ड अध्यक्षका उम्मेदवार हुमनाथ आचार्य, महिला सदस्य राधिका थापा मगर, दलित महिला सदस्य अमृता विक, खुल्ला सदस्य जनार्दन मुराउ, राजेन्द्र ढकाल लगायतले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै नगरका १९ वटै वडा अध्यक्ष सहित सदस्यहरुले आ–आफ्नो वडामा घरदैलो तथा जनभेटघाटलाई तीव्र पारेको नेपाली कांग्रेसका क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हरि लम्सालले वताउनु भयो ।