मोतिपुरमा कब्जा गर्न खोज्ने 'फर्जी सुकुम्बासी' भएको सरकारको निष्कर्ष - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोतिपुरमा कब्जा गर्न खोज्ने ‘फर्जी सुकुम्बासी’ भएको सरकारको निष्कर्ष



काठमाडौँ- सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न संगठित गिरोहले ‘फर्जी सुकुम्बासी’ भेला गरेर प्रदर्शनमा उतारेपछि घटना भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री वालकृष्ण खाँणको अध्यक्षतामा सोमबार विहान मोतिपुर घटनालाई लिएर सुरक्षा बैठक बसेको थियो ।

बैठकमा सुरक्षा प्रमुखहरुले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न केही दिन अघिबाटै झापादेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाबाट फर्जी सुकुम्बासीलाई बुटवलमा उतारेको जानकारी गराएका थिए ।

सुरक्षा बैठकमा नेपाली सेनाका रथी वालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुकुम्बासीका नाममा फर्जी समूह खडा गरेर जग्गा हडप्ने र त्यही जग्गा पछि बेचविखन गरेर सम्पत्ति आर्जन गर्ने गिरोहको योजना रहेको बताएका थिए ।

बैठकमा गृहमन्त्री खाणले सरकारी जग्गा हडप्न सक्रिय गिरोहकै कारण अनाहकमा केही नागरिकले ज्यान गुमाउनु परेको पनि सरकारको निष्कर्ष छ ।

बैठकमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले कसैको उक्साहटमा हुने आपराधिक कार्यमा नलाग्न पनि सबैलाई अपील गरेको छ । यस्तै प्रदर्शनमा संयमता अपनाउन पनि सुरषा निकायलाई निर्देशन दिएको छ ।

कानुन विपरित बल प्रयोग गरिएको पाइए सुरषाकर्मीमाथी समेत विभागीय कारबही हुने चेतावनी गृहमन्त्री खाणले दिएका छन् । अहिले मोतिपुर क्षेत्र सशस्त्र प्रहरीको घेरामा राखिएको छ ।

३ सय बढी सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ । गृह स्रोतका अनुसार बैठकमा सुरक्षा प्रमुखहरुले मोतिपुर क्षेत्रका करिव ७५/८० परिवार खास सुकुम्बासी रहेको र उनीहरुको व्यवस्थापन सरकारबाट हुनुपर्ने तर त्यसलाई नै भजाएर नक्कली सुकुम्बासी परिवार खडा गर्ने योजनाबाट मानिस भेला गरेको ब्रिफिङ गरेका थिए ।

त्यसपछि गृहमन्त्री खाणले कुनैपनि हालतमा सरकारी सम्पत्ति हडप्न नदिन र त्यसका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएका थिए ।

मन्त्री खाणको निर्देशनपछि गृहसचिव खाणले रुपन्देही प्रशासन र सुरक्षा निकायका प्रमुखालई जग्गा हडप्न नदिन र त्यसका लागि सुरक्षा तैनाथी बाक्लो बनाउन निर्देशन दिएका छन् ।

‘मोतीपुर औद्योगिक क्षेत्रमा ७०/८० घरधुरी पर्छन्, उनीहरुको व्यवस्थापन सरकारबाट हुनुपर्छ, त्यसभन्दा बाकी कोहीपनि त्यहाँसुकुम्बासी छैनन्,’ सुरक्षा बैठकमा गरिएको छलफल उल्लेख गर्दै स्रोतले भन्यो, ‘तर झापा देखि कञ्चनपुरलगायत दर्जनौं जिल्लाबाट कसरी हजारौं मानिस आए ? ष्सले पनि पुष्टि गर्छ की औद्योगिक क्षेत्रमा सुकुम्बासीको संख्या बढाएर भूमाफिया, गुण्डागर्दी र केही राजनीतिक दलहरु नै जग्गा कब्जा गरेर धन आर्जन गर्ने योजनामा लागेका छन् ।’

मोतिपुर घटनामा सोमबार ४ जनाको मृत्यु भएको छ । प्रहरी र सशस्त्रका ५० भन्दा बढी अधिकृत तथा जवान घाइते भएका छन । प्रदर्शनमा करिब ६ हजार मानिस भेला भएको सुरक्षा रिपोर्ट गृहमा पुगेको छ । प्रदर्शनमा सहभागी धेरैजसो मानिस वुटवल बाहिरका छन् ।

सुरक्षा समिति बैठकपछि गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङद्धारा जारी विज्ञप्तिमा पनि निर्धारित काननी विधि र प्रक्रियाभन्दा बाहिर गएर सरकारी वा साबैजनिक जग्गा अतिक्रमण गर्ने जोसुकैलाई पनि कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।

गृहले ‘‘सैको बहकाउमा परी यस किसिमको गैरकानुनी कार्यमा संलग्न नहुन’ पनि सबैमा आग्रह गरेको छ । बैठकले सार्बजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा सुरक्षाकर्मी र प्रशासनका कामकारबाहीलाई अवरोध पुर्‍याइए जोकोहीलाई पनि कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएको छ ।

यसैबीच मोतिपुर घटनामा प्रदर्शनकारीको ढुंगामुढा र हिंसात्मक झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरी जवानद्धय जयकुमार थारु र गेहराज पुन मगर तथा सशस्त्र प्रहरी हवल्दार तिलक धामी र सहायक हवल्दार खुसीराम चौधरीलाई उपचारका लागि मंगलबार बिहान काठमाडौं ल्याइएको हो । प्रहरी जवानद्धयलाई प्रहरी अस्पताल महाराजगञ्ज र सशस्त्रका हवल्दारद्धयलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आइतबारको झडपमा प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ सुरषाकर्मी घाइते भएका थिए ।