एकै मृत्युका दुई रूप - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकै मृत्युका दुई रूप



-नीलम कार्की निहारिका

हिजोजस्तै लाग्छ जेठो छोराले भनेको– ‘आगुम साल टिन ठोक्ने हो । ऋण उकास्न सकियो भने साने बन्धकी बस्नुपर्ने छैन त्यहाँ, त्यसपछि त ।’

एकाबिहानै
रित्तो गाग्री लिएर
पँधेरोतिर जान्छु
फर्कँदा गाग्रीभरि छचल्काउँदै
आलो रगतको कथा बोकेर आउँछु
पालीमा झुण्डिएको रेडियो बोलिरहेछ कविता ।
भुन्टे, बिहान पाकेको ढिँडो सिल्टीको बटुकोमा लिएर बाहिर निस्किन्छ ।
हजुरआमाको काखमा बसेर चाउरी परेको गालामा कलिलो हातले सुमसुम्याउँदै सोध्छ– ‘आमा हाम्रामा चिउरा कहिले कुट्ने ? आमा ! हाम्रामा खसी कहिले ल्याउने ?’

हजुरआमालाई नातिनातिनाले आमा नै भन्ने गर्छन् । उनी केही नबोली पारि डाँडाबाट नागबेली हुँदै गरेको बाटो हेर्छिन् ।

पारि भञ्ज्याङमा आँखा बिछ्याउँछिन् ।
‘आमा हाम्रामा सेल कहिले पोल्ने ?’ नाति प्रश्न थप्छ ।
‘छिटो खाएर जा खेल्न !’ उनी नातिलाई पन्छाउने सुरमा छिन् ।

भुन्टे आफ्नो जिद्दी छाड्ने पक्षमा छैन । ‘आमा ! दसैँ आउन दुई दिन मात्र बाँकी छ अरे, हो ? भन्नुस् न, हाम्रामा कहिले ल्याउने खसी ? ठूलाघरकाले त बडेमाको कालो खसी ल्या’छन् । आऽऽमा ! मा ! सिङ त यति लामा–लामा । हाम्रामा पनि ल्याउने है आमा खसी !’यति बेला सिल्टीको बटुको भुइँमा हुन्छ । मसिना औ“लाले नाप्दै हुन्छ खसीको तौल ।

भुन्टेकी दिदी भाइको कुराले आकर्षित भएर अलि नजीक सर्छे । खसी ल्याइने आग्रहमा हजुरआमालाई हेर्छे । आँखा बोलिरहेको हुन्छ– हाम्रामा पनि त्यत्रै खसी किन्ने है आमा !
भुन्टेकी आमा पीँढीको पल्लो छेउमा घुमाउँदै गरेको जाँतोलाई टक्क रोकेर सासूलाई हेर्छे । एकै आसमा अल्झेका सासू–बुहारीका आँखा ठोकिन्छन् ।

बुहारी देब्रे हातले कोदाको घान थपेर दाहिने हातले जाँतोको हातो घुमाउँछे ।
‘आमा आज पानी पर्लाजस्तो छ । पाली चुहिन्छ होला, कसो गर्ने ?’ भोर्लाका पातमा छरिएको खुशी गाँस्न खोज्दै बोल्छे कान्छी बुहारी ।

नभन्दै बिजुली चम्कन्छ,
आकाशमा मडारिन्छ कालो बादल,
बादल छिचोलेर पानीका थोपा धर्तीमा खस्न थाल्छन् ।
छरिएका पात बटुलेर डोकामा राख्छे ।
सिन्काको मुठो घुसार्छे पालीमा ।

चार महिनाको छोरो लिएर भित्र पस्छे– कान्छी बुहारी ।
पानी तप्कन्छ पालीबाट । पिस्ने काम रोकिन्छ । पालीबाट तप्केको पानी खस्छ सिल्टीको बटुकामा पनि ।

हिजोजस्तै लाग्छ जेठो छोराले भनेको– ‘आगुम साल टिन ठोक्ने हो । ऋण उकास्न सकियो भने साने बन्धकी बस्नुपर्ने छैन त्यहाँ, त्यसपछि त ।’
कान्छो छोराको नाम जे भए पनि बोलाउने नाम ‘साने’ । आफ्ना बाजेले ऋण लिएबापत ‘हली’ बसेको धेरै नै वर्ष भइसक्या’थ्यो ठूलाघरेकहाँ ।

हली भनिए पनि उसका काम थिए–
हलो जोत्ने ।
बाउसे लगाउने ।
घाँसदाउरा गर्ने ।
भकारो सोहोर्ने ।
ठूलाघरको दोकानमा बेच्ने सामान राजमार्गदेखि बोकेर ल्याउने ।
घरधन्दामा ढिकी–जाँतो गर्ने ।
जुठा भाँडा माझ्ने ।
बाजेको लंगौटी अनि बाजैको फरिया धुने ।
कामको विवरण यत्ति नै, यस्तै नै भन्ने किटान थिएन ।

झिसमिसे उज्यालो हुन नपाउँदैदेखि झण्डै मध्यरातसम्म काम गरेबापत बाजेले लिएको ऋणको ब्याज खप्टन पाउँदैनथ्यो ।
दुईछाक खान र वर्षमा एकजोर लाउन पाउँथ्यो । परिवारका लागि मीठोमसिनो पाकेको हुन्थ्यो, तर हरेक दिन मकैको च्याँख्ला नै तेस्र्याउँछिन् पकाएको भट्टुसँगै, थालमा नपस्कीकन बजै । बासी मोहीको अमिलो सितनसँग मीठो मानेर निल्ने गथ्र्यो साने ।

ठूलाघरेको घरबारीछेउ सानो झुपडी थियो, सानो छँदा । ‘छोट्टाका सङ्गतले छोरानाति बिग्रन्छन्’ भनेर लेक सारिदिएका थिए, बाजेले । लेकमा सरेको दिन मन औधी रोएको थियो साथी छुटेकोमा । अब हप्कीदप्की खान नपर्ने भो बाजेबजैको भनेर मन बुझाए सानेहरुले ।
बाबु खसेपछि बेसी झर्नुपर्ने भो सानेलाई काम गर्न उनैकहाँ ।
साने कहिल्यै तिरेर नसकिने ऋणदेखि दिक्क भएर सोध्थ्यो आमासँग– ‘हैन आमा ! हाम्रा बाजेले कति ल्या’र’छन् ऋण, तिरेर कहिल्यै नसकिने ?’

– ‘खै ! मलाई बिहे गरेर ल्याउँदा तेरो बाबु त्यहिं हरmवा थिए । तमसुक तेरा बाबुले देख्या छैनन् भन्थे । एक दिन, बाजे हरहिसाब के हो ? हिसाब गर्ने हो कि ! भन्दा बाजे मान्छे नै सिङ्गै खाऊँलाझैँ गर्जेथे भन्थे (‘नाथे ,अहिले नै छनछ्नी गन धन, तिर सबै एकै चोटि’ । बजैले दुई दिन भोकै राखिथिन् हाम्लाई । त्यसबेला तँ मेरो कोखमा थिइस् । तेरी हजुरआमा बिरामी हुँदा ऋण काढेका हुन् अरे, भन्नेचै“ सुनेथे“ । कति हो ? यकिन छैन ।’

साने पसिना पोख्छ ठूलाघरेको जमीनमा । परिश्रमको बालीले बयली खेल्छ । साने मुस्कुराउन सक्दैन । धानको बालाले गिज्याउँछ– तेरो भाग्यमा कहाँ छ र मलाई भित्र्याउने ?

परिश्रमको बाली आफ्नो धनसारमा भित्र्याउन नपाए पनि मेलापात गर्दा मायाप्रेम बसेकी सानीलाई आफ्नो झुपडीमा भित्र्याएको थियो ।

आफुले माया गरेर ल्याएकी स्वास्नीलाई नाकमा एउटा फेलीसम्म हालिदिन नसक्दा निक्कै ग्लानि हुन्थ्यो सानेलाई ।

उसले पसिना रोपेको फसल बेचेर आम्दानी थन्क्याउँथे सन्दुसमा, ठूलाघरे बाजे ।
पैताला खियाएर बोकेको सामान बेचेर नाफा पठाउँथे, शहरको बैङ्कखातामा ठूलाघरे बाजे ।
आफु जाँतोमा बेसरी पिसिएको अनुभव गथ्र्यो । हृदय दुख्थ्यो नराम्ररी । अझ आफ्नी दुलहीलाई एकधरो लुगा उधारो माग्दा तथानाम गाली खप्नुपरेकाले अँध्यारो रातसँग घुँक्कघँुक्क रोएको थियो आफ्नो बन्दी कर्मलाई धिक्कार्दै ।

बजैले एउटा पुरानो गुन्यूचोलो ‘मुख हेराएको’ भन्दै सानीको हातमा राखिदिएकी थिइन् । सानीले खुशी–खुशी स्वीकारेकी थिई बजैको जडौरी ।
सानीको खुशी– लाज ढाक्ने खुशी । जडौरीमा फुलेको सानीको खुशी देख्दा सानेको मन ओइलाएको थियो ।
धिक्कार्‍यो सानेले पाखुरीलाई ।

पोहोरको साल पनि दसैँ आएको थियो यसै गरी । आउँछ दसैँ बडेमाको ताउलोमा सपनाहरु छड्काउँदै ।

आ–आफ्नै सपनाहरु –

  • भुन्टे र भुन्टेकी दिदीलाई ढिँडो र गुन्दु्रकभन्दा माथि उठेर मीठो र मसिनोको सपना, नाना र चाचाको सपना ।
  • भुन्टेकी आमालाई तोपको रापबाट सिउँदो–मालिकले वर्ष दिनपछि मायाको पोको बोकेर ल्याउँछ कि भन्ने सपना ।
  • भाइ सानेलाई बग्रेल्ती काँडाबाट उम्कन पाइन्छ भन्ने सपना ।
  • ती बूढीआमालाई छोराले झुपडीमा खुशी सजाउँछ भन्ने सपना ।

सबैका थरी–थरीका सपना । सपनाको थुप्रो बनेर भित्रिन्छ दसैँ । गएको दसैँमा पहिलो पटक त्यो झुपडीमा खुशी भित्रिएको थियो ।

जेठो छोराले बाकसभरि परिवारका लागि खुशी बोकेर ल्याएको थियो ।

– नयाँ बुहारी सानी र आफ्नी स्वास्नीलाई गुन्यूचोलो, पछ्यौरी

– छोरालाई कमिज र कट्टु, छोरीलाई जामा

– आमालाई ढाकाको खास्टो, सुतीको गुन्यूचोली

– भाइ सानेलाई कमिज, जिनको पाइन्ट, छालाको जुत्ता ।

साने बल्ल बेहुलोजस्तो देखिन्थ्यो लुगा फेरेर, सानी बेहुलीजस्ती ।

धित मारेर हेरेको थियो भाइ–बुहारीको जोडीलाई आँखामा राखुञ्ज्याल जेठाले ।

पहिलो पटक त्यो दसैँमा सिङ्गै कालो झक्कुले बोको ढालेका थिए । अघाउञ्जेल मासु–चिउरा खाएका थिए घरका सबैले । उसले भनेको थियो– ‘आमा, बल्ल जागिर लागे ! अब दुःखका दिन सबै भाग्ने भए हाम्रा ।’

जेठो प्रहरीमा भर्ती भएको डेढ वर्ष भएको थियो । पहिलो छुट्टीमा घर आएको ।

‘ठूलाघरे बाजे, ऋण तिर्न नसक्ने, लुगामा ठाँटिन सक्ने भनेर बेसरी रिसाएका छन् अरे ।’ राति सुत्ने बेला स्वास्नीले सुनाएकी थिई जेठासँग ।

उसले आफ्नी स्वास्नीलाई अँगालोमा कस्दै भन्यो– ‘आगुम तमसुक च्यात्छु–च्यात्छु, फिक्री नगर् ! अहिले खटाएको ठाममा तलब–भत्ता दुगुना हुन्छ ।’ यति बेला अँध्यारोमा पढ्न सकि“दैनथ्यो, उसको अनुहार हर्षले चम्किएको छ कि पीडाले मुर्झाएको ?

दाजुले भाइलाई– ‘अब छिट्टै बन्दी जीवनबाट छुटकारा दिलाउनेछु’ भनेर वचन दियो । साने चुपचाप दाजुलाई हेरि मात्र रह्यो, मुख नबोले पनि आँखा प्रशस्त बोलिरहेको भान हुन्थ्यो ।

भाइ दाइसँग धेरै कुरा बोल्न खोज्यो, तर बोलेन ।

घरमा ढकमक्क खुशी फुलेको छ ।

धेरै कोशिशपछि आँगनमा उभिएको दाइलाई बोलाएर पीँढी बाट सोधको थियो– ‘दाइ ! केका लागि जागिर खा’का ?’

‘त्यो पनि भनिरहनुपर्छ र लाटा ?’ झुपडीलाई हेर्दै जवाफमा बोलेको थियो जेठो ।

टीका थाप्ने बेला भैसकेकाले वार्तालाप अगाडि बढ्न सकेन । आमाले लस्करै बसेका सबैलाई टीका लाइदि“दै, आशिष फलाक्न लागिन् ।

जेठाको निधारमा टीका टाँस्दै भनिन्– ‘अब छिट्टै टाउकोबाट ठूलाघरेको ऋण उतार्नू, तरक्की गर्दै जानू, लामो आयु बाँच्नू ।’

यति बेला जेठो बोल्यो– ‘आमा ! सधै“ देशको लागि लड्ने योद्धा बन् भन्नू न !’

आमाले भनिन्– ‘तेरा मनका इच्छा पूरा होऊन् !’

जेठी बुहारीका लागि लामो आयु र सौभाग्यको आशिष बोलिन् ।

सानेको पालोमा भनिन्– ‘तिमीहरु जोई–पोइको मिलाप सधै“ जोडी ढुकुरजस्तो होओस् ! दुई भाइको मिलाप रामलक्ष्मणजस्तै !’

सानेले भन्यो– ‘आमा मलाई पनि दाइलाई झैँ आशिष दिनुस् न !’

– ‘हुन्छ तेरा चिताएका सबै कुरा पूरा होऊन् ।‘

केटाकेटीलाई लेखपढ गरेर ठूलो मान्छे बन्ने आशिष दिइन् ।

टीकाको भोलिपल्ट नै बिदाबारी भएर हि“डेको थियो जेठो । उसको वचन थियो अबको पालोमा बोक्न सक्ने जति खुशी लिएर आउँछु ।

फर्कँदा आपूmले किनेर ल्याएको सानो रेडियो पनि छाडेर गयो । अनि सानेको घरमा रेडियो बज्न लाग्यो । आमाले बालीघरे दमैलाई खोल सिलाउन भनिन् र लगाइदिइन् रेडियोलाई । घन्कन्थ्यो बेलाबखत पालीमा झुण्डेर ।

रेडियो बज्दा केटाकेटी उफ्री–उफ्री नाच्थे ।

०००

पूर्णिमाको अर्को दिन गाउँको मेलापात, पानीपँधेरो, गौचरन सबैतिर सनसनी फैलियो साने हराएको कुरा ।

धेरैले धेरै थरी कुरा गरे ।
– कसैले, ‘लाहुर गयो’ भने ।
– कसैले, ‘ऋण तिर्न नसकेर गाउँ छाडेर भाग्यो’ भने ।
– कसैले, ‘स्वास्नीसँग झगडा गरेर हि“डेको हो’ पनि भने ।
– कसैले, ‘ठूलाघरेको धन चोरेर गा’ छ’ भने ।
– कसैले, ‘दाजुसँगै भर्ती हुन गयो । दाइ–भाइको साँठगाँठ हो’ भने ।
रातिको बेला बेपत्ता भएको सानेबारे अड्कलबाजी भिन्न–भिन्न रहे ।
साने हराएपछि सबैभन्दा ढाड भाँचियो ठूलाघरेको ।
एक छोरामान्छे बराबर दुई छोरीमान्छे भने बाजेले । दुवै बुहारी काममा खटिए त्यहाँ ।

०००

गर्जेको आकाश थामिएको छैन । बलेनीबाट खसेका पानीका थोपा फोका बनेर फुट्ने क्रम चलिरहेको छ ।
घरको करेसाबाट बगेर आएको धमिलो भल आँगनको बीचबीचैबाट डोलि“दै दगुरिरहेको छ बगर र हिलो थुपार्दै आँगनभरि ।

रेडियो स्वाँ गर्दछ, ध्यान छैन कसैको ।
‘आमा, भित्र जाऊँ ! ढि“डो ओढालि सके“ ।’ जेठीबुहारीले ढोकाको सँघारबाट बोलाउँछे ।
छिप्पि“दै गएको रातले पारि भञ्ज्याङको चौतारोलाई ढाकिदियो, नागबेली हुँदै झरेको बाटो छेकिदियो ।

भुन्टे र उसकी दिदी राम्रो लुगा लाउने र अघाउञ्जेल मासुचिउरा खाने कल्पनामा भोकभोकै निदाइसकेछन् मुख मिठ्याउँदै ।
अगेनाछेउ रेडियोको बेट्री सेकाइन् र पुनः हालिन् आमाले रेडियोमा । रातिको समाचारमा आयो– ‘सात घन्टादेखि प्रहरी र आतङ्ककारीबीच दोहोरो भिडन्त भैरहेको छ । मौसमको खराबीको कारणले हेलिकप्टरबाट थप बल पठाउन सकिएको छैन ।‘

बिहान समाचार आयो–
– ‘क्याम्प ध्वस्त भयो । साठी जना प्रहरीले लड्दालड्दै वीरगति प्राप्त गरे । आतङ्ककारीतर्फ पनि ठूलो क्षति हुन गएको छ । एरिया कमाण्डर मारिएका छन् ।‘
समाचारमा वीरगति प्राप्त गर्नेका नाम उच्चारण हुँदै गयो ।
जेठोको नाम आउन समय लागेन ।
गाउँमा साने भेट्टिएको सनसनी फैलियो । साने त एरिया कमाण्डर भइसकेको रहेछ ।
आमा पीँढीमा बसेर छोराहरु आउने बाटो उसै गरी हेरिरहेकी छिन् ।
गाउँलेहरु समवेदना बोकी भेला भएका छन् ।
०००