'मृत्युको आयु' मृत्यु विज्ञान हो - रवीन्द्र समीर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘मृत्युको आयु’ मृत्यु विज्ञान हो – रवीन्द्र समीर



पुस्तकको बजार खस्केको समयमा रवीन्द्र समीरको उपन्यास मृत्युको आयुले संजीवनी बुटीको काम गरेको छ । देश तथा बिदेशमा मृत्युको आयु निकै लोकप्रिय भएको छ । मृत्यु जस्तो कठिन बिषयमा सरल ढंगले लेखेको यो उपन्यास नितान्त नयाँ शैलीको छ । प्रस्तुत छ, मृत्युको आयुका लेखक रवीन्द्र समीर संग हिमालपोष्टको लागि किङ खनालले लिएको अन्तर्वार्ता ।

१. मृत्युको आयुको बैज्ञानिक पक्ष के हो ?

– मृत्युको आयुका एक एक प्याराग्राफ केलाएर पढ्नुभयो भने तपाइंले चिकित्सा बिज्ञान घुलेको देख्नुहुन्छ । मृत्यु कसरी हुन्छ ? मृत्युपछि तत्काल शरीरमा के के परिवर्तन हुन्छ ? कसरी पोस्टमार्टम गरिन्छ ? शबलाई कसरी सुरक्षित राख्निन्छ ? शबलाई जलाउने आगो के ले बनेको हुन्छ ? खरानीमा कुन कुन रासायनिक तत्व हुन्छन ? लगायत मृत्युका बैज्ञानिक पक्ष समाबेश गरिएको छ । हामीले जीव बिज्ञान पढेका छौं । तर मृत्यु बिज्ञान पढेका छैनौं । मृत्यु बिज्ञान पढ्नु जरुरी छ ।

२. मृत्युको आयुको कानुनी पक्ष के हो ?

– बिदेशमा कामदारको मृत्यु भएपछि त्यो देशको कानुन तथा प्रक्रिया पुरा गर्नुपर्छ । हाम्रो दुतावासको कानुन तथा प्रक्रिया पनि पुरा गर्नुपर्छ । शबलाई आफन्तको जिम्मा लगाउने कानुनी प्रक्रिया पनि पुरा गर्नुपर्छ । तसर्थ मृत्युको आयुमा कानुनी प्रक्रियाको पनि यथेष्ट प्रयोग भएको छ ।

३. मृत्युको आयुको आध्यात्मिक पक्ष के हो ?

– हाम्रा धार्मिक ग्रन्थ, मान्यता तथा अध्यात्ममा आत्मालाई महत्वपुर्ण स्थान दिइएको छ । आत्माको अध्ययन गर्नको लागि वेद, उपनिषद्, गीता, गरुढ़ पुराण, शिब पुराण लगायतका धार्मिक ग्रन्थ पढ्नु जरुरी छ । मृत्युको आयुमा यी बिषयको अन्तरघुलन छ । त्यति मात्र हैन, बाइबल तथा कुरानको प्रसंग पनि छ । हाम्रो पूर्वीय संस्कृति, परम्परा तथा मान्यताको मृत्युको आयुमा प्रचुर व्याख्या गरिएको छ ।

४. मृत्युको आयुको सामाजिक पक्ष के हो ?

– मृत्युको आयुमा हाम्रो समाजको गरिबी, पछौटेपन, हातमुख जोड्नको लागि विदेश जानुपर्ने बाध्यता, त्यसले समाजमा उत्पन्न भएको पार्श्व प्रभाव, मान्छेमा देखिएको मानवताको खडेरी, बिदेशमा नेपालीले पाएका दुख, अकाल मरण तथा त्यसबाट सिर्जित सामाजिक तथा मनो बैज्ञानिक पक्षलाई मिहिन ढंगले प्रस्तुत गरिएको छ ।
त्यस्तै मृत्युको आयुमा हाम्रा झन्झटिला, अबैज्ञानिक, अहिलेको युगमा पुरा गर्न नसकिने खालका धेरै प्रचलनमाथि व्यंग्य प्रहार गरिएको छ | खास गरि किरियाकर्ममा रुढिबादी मान्यतामा समय सापेक्ष सुधार र परिवर्तनको पैरवी गरेको छु । पुस्तक सामाजिक परिवर्तनको संवाहक हुनु आवश्यक छ ।

५. मृत्युको आयुको दार्शनिक पक्ष के हो ?

– मृत्यको आयुमा दर्शनको ब्यापक प्रयोग भएको छ । मृत्यु भएपछि जीवनको महत्व कति हुन्छ ? हामीले सर्वस्व ठानेका धन, पद, रुप, प्रतिष्ठाको आयु कति छ ? संग्रह र परिग्रहको किन अर्थ छैन ? मृत्युलाई जीवनवादी कोणबाट हेर्दा कस्तो देखिन्छ ? के मृत्युको महत्व जीवन जति पनि छैन त ? सबैभन्दा ठूलो सत्य मृत्युलाई हामीले किन तिरस्कार गर्छौं ? लगायतका अनेकौं प्रसंग मृत्यु दर्शनको डोरीमा बाँधिएका छन् । यसमा बेदान्त दर्शन, सांख्य दर्शन तथा चार्बाक दर्शनको पनि सार अन्तर्निहित छ ।