नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने



चितवन । देशकै लाइफलाइन सडकखण्ड मानिएको नारायणगढ-मुग्लिन सडक खण्ड ११ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ ।

पहिलो पटकको सूचना अनुसार दुई साताको समयावधि सकिए पनि काम अझै नसकिएकोले नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

शुक्रबार आयोजनाले सूचना प्रकाशित गरी थप ११ दिन दैनिक ४ घण्टा बन्द हुने जानकारी दिएको हो ।

उक्त सूचना अनुसार यो सडकखण्ड पुस २२ गतेसम्म बन्द हुने भएको हो । पहिरो नियन्त्रण र मर्मतसम्भार कार्य नसकिएकोले मिति थप गरिएको आयोजनाले जनाएको छ ।

यसअघि पनि पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बन्द हुँदै आइरहेको छ ।

यो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी साधनलाई १५ किलोमा रोकिनेछ भने मालबहाक सवारी साधनलाई दासढुंगामा रोकिने छन्।

यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिने छ ।

काठमाडौंबाट मुग्लिनतर्फ आउने मालबाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालबहाक सवारी साधनलाई आँबुखैरहनीमा रोकेर व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

एम्बुलेन्स, शवबहान, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनको हकमा भने सुरक्षा निकायको समन्वयमा सडक पास गराउने व्यवस्था गरिएको छ ।

आयोजनाले कार्यातालिका अनुसार सवारी सञ्‍चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ । यो सडक खण्डमा दैनिक झण्डै १० हजार सवारी ओहोरदोहोर गर्दछन ।