प्रधानमन्त्रीका सल्लाहकारलाई नेकपा प्रवक्ताले दिए मुखभरीको जवाफ - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रधानमन्त्रीका सल्लाहकारलाई नेकपा प्रवक्ताले दिए मुखभरीको जवाफ



काठमाडौँ- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कडा जवाफ फर्काएका छन् । रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले त्यसको कडा जवाफ दिएका हुन् ।

उनले व्यक्तिगत आरोप- प्रत्यारोप वा गालीगलौजकै कारण यो अवस्था आएको संकते गरेका छन् । श्रेष्ठले वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न माग समेत गरेका छन् ।

श्रेष्ठले रिमालतर्फ संकेत गर्दै पार्टीको विवाद हलका लागि अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न प्रस्ताव गरेका छन् ।

‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ-आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं,’ उनले भनेका छन्, ‘बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।’

प्रवक्ता श्रेष्ठले थपेका छन्, ‘यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप- प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं । ’

स्थायी कमिटी सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर तीव्र असन्तुष्टि जनाएका थिए । नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा प्रवक्ता श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा छन् । त्यही समूहमा बसेर काम गरेको विषयलाई लिएर रिमालले प्रवक्ता श्रेष्ठमाथि टिप्पणी गरेका थिए ।

रिमालले प्रवक्ता श्रेष्ठलाई ट्विटरमा मेन्सन गर्दै विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका थिए ।

केही दिनअघि अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल र प्रवक्ता श्रेष्ठले संयुक्त रुपमा पत्रकार भेला गरेर आफ्ना असन्तुष्टि राखेका थिए ।

गत १३ साउनमा बालुवाटारमा प्रचण्ड–नेपाल समूहले बहुमत स्थायी समिति बैठक गरेपछि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक सुचारु गर्न मानेका छैनन् । उनले पहिले सचिवालय बैठक डाकेपछि मात्र स्थायी समिति बोलाउन सकिने अडान राखिरहेकै बेला गत २१ साउनमा प्रचण्डसहित सचिवालयका चार नेताले पत्रकारहरुसँग अनौपचारिक छलफल गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले अहिलेको पार्टीभित्र सैद्दान्तिक, वैचारिक र राजनीतिक विषयमा दुईलाईन अन्तरसंघर्ष अघि बढेको जानकारी गराएका थिए । त्यसयता प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सम्बाद हुन सकेको छैन ।