तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने



पोखरा, असोज ७ गते  ।  नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ ।

भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको  शिलान्यास र उद्धाटन कार्यक्रमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको समेत बताउनुभयो ।  उहाँले नेपाल र भारतबीच युगौँदेखि ऐतिहासिक सम्बन्ध रहेको बताउँदै शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको उल्लेख गर्नुभयो । राजदूत रायले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको र आगामी दिन ७५ जिल्ला पाँच सयभन्दा बढी योजना स्वास्थ्य र शिक्षामा क्षेत्रमा लगानी गर्ने बताउनुभयो ।

उहाँले पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको शिलान्यास  गर्नुभयो ।  भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपियाँमा बन्ने जिल्ला विकास समिति कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी भारतीय सहयोगमा सरस्वती टीका उच्च माविको दुईतले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपियाँमा निर्माण हुनेछ ।

सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यक भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।  स्थानीय विकास अधिकारी दामोदर भण्डारीले क्याम्पस एवम् विद्यालय निर्धारित समयमा निर्माण सम्पन्न गरिने बताउनुभयो ।

गोरखापत्र