मुलुकभर जगमग ,प्रमुख सहरहरू उज्यालाले धपक्क - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुलुकभर जगमग ,प्रमुख सहरहरू उज्यालाले धपक्क



काठमाडौं /कार्तिक ३ ।

मुलुकभर तिहारको उल्लास छाएको छ । प्रमुख सहरहरू उज्यालाले धपक्क छन् भने सर्वसाधारणले पनि आ–आफ्ना घर सजाएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ६, नयाँ बस्तीकी गंगा दुवालले बिहीबार झ्याल, ढोका, चोटा, कोठा, कौसी, अटाली र भर्‍याङ सरसफाइ गरी लक्ष्मी पूजा गरिन् । आजको कान्तिपुर दैनिकमा खबर छ– उनी ५ दाजुभाइ र ९ भदा गरी १४ जनाका लागि तिहारको उपहार जोहो गर्न व्यस्त छिन् ।

किनमेलका लागि तौमढीको तिहार विशेष मेलामा पुगेकी गंगाले भनिन्, ‘वर्षभरि मनाइने चाडपर्वमध्ये तिहारको महत्त्व बेग्लै छ । जगमग उज्यालाले मनै प्रफुल्ल हुन्छ । त्यसमाथि दाजुभाइ र दिदीबहिनीको विशेष आत्मीयता झल्किने भाइटीका र म्हस् पूजाले माहोलै अर्कै बन्छ ।’ यमपञ्चक अर्थात् काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा र म्हस् पूजापछि तेलको धाराले छेकेर कहिल्यै नओइलाउने मखमलीको माला लगाइदिई दाजुभाइको दीर्घायुको कामना गर्ने क्षण विशेष रहेको उनी बताउँछिन् ।

गंगाजस्तै अन्य दिदीबहिनी र दाजुभाइ पनि तिहारको रौनकमा झुम्मिएका छन् । बजारमा बिमिरो, ओखर, कटुस, सप्तरंगी टीका, मखमली, सयपत्री फूल, भाइमसला, ढाका टोपी, फलफूल, दीपावलीका लागि भित्रिएका रंगीचंगी विद्युतीय बत्ती, माटाका पाला, कुचो, मिठाईलगायत सामग्री किनमेलले तिहारको रौनक बेग्लै छ ।

प्रेम, स्नेह र सद्भावको पर्वका रूपमा मनाइने तिहारले जो कसैलाई उमंग थपेको छ । सहरका मुख्य–मुख्य चोक तिहारका लागि चाहिने सामग्रीले भरिभराउ छन् । ‘दीपावली, सप्तरंगी टीका, देउसीरभैली, मखमलीरसयपत्री फूल र स्नेहरूपी आशीर्वादले उमंग थपेको छ,’ स्थानीय सुन्तली जोशीले भनिन् ।

तिहारका लागि भक्तपुरका तौमढी, सूर्यविनायक, सल्लाघारी, नयाँ थिमि, पुरानो थिमि, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत राजधानी उपत्यकाका बजार र मुख्य चोकको रौनक बेग्लै छ । विशेष गरी लक्ष्मी पूजा, म्हस् पूजा र भाइटीकाका लागि किनमेलको थलोका रूपमा तौमढीलाई लिने गरेको तौमढी क्लबका अध्यक्ष विजय द्यौभडेलले बताए । ‘बिस्केट जात्रा, गाईजात्रालगायत भक्तपुरका अधिकांश चाडपर्वले तौमढीको रौनक बढेकै छ,’ उनले भने, ‘काभ्रे, कालीमाटीका व्यापारी तिहारमा तौमढी आउँछन् ।’ भक्तपुरका अन्य स्थानमा पनि किनमेलको भीड छ ।

केही वर्ष अघिसम्म माटाका पालाले दीपावली गर्ने भक्तपुर पछिल्ला वर्षमा विद्युतीय बत्तीले झिलिमिली देखिन्छ । थोरैले मात्र माटाका पाला प्रयोग गर्ने सिपाडोलका राजेन्द्र श्रेष्ठले बताए । बढ्दो देखावटीपन र आधुनिकताले तिहारको मौलिकता लोप भएको संस्कृतिकर्मी ओम द्यौभडेलको भनाइ छ ।

तिहारकै अवसरमा तराई मधेस पनि दीपावलीले झिलिमिली बनेको छ । मिथिलानगरी जनकपुरका पसल तथा व्यापारिक प्रतिष्ठानहरू सजाउन केराको बोट अत्यधिक प्रयोग गरिएकाले नगर पूरै हरियाली र झिलिमिली देखिएको छ । नगर क्षेत्रका प्रत्येक पसलका अगाडि चारदेखि दस वटासम्म केराका बोट गाडिएका छन् ।

शिवचोकका पसले रामकुमार साहले भने, ‘केराको बोट पवित्र हुने तथा यसमा दियो बाल्न पनि सजिलो हुने भएकाले सजावटमा प्रयोग गरिएको हो ।’

रंगीचंगी कलात्मक रंगोलीहरू निर्माण गरिएकाले नगर क्षेत्रमा झनै रौनकता बढेको छ । कतिपय पसलका अगाडि कलात्मक द्वारहरूसमेत निर्माण गरिएका छन् । सामग्री बिक्री गर्न जानकी मन्दिर प्रांगणमा हटिया नै लगाइएको छ । हाट पूरै पूजा र तिहारका सामग्रीले भरिएका छन् । मिठाई पसलहरूमा ग्राहकको भीड छ ।

पसल तथा व्यापारिक प्रतिष्ठान सजाउन केराको प्रयोग गरिए पनि पूजापछि यसको व्यवस्थापन भने जनकपुर उपमहानगरपालिकाका लागि टाउको दुखाइ हुने गरेको छ । अझै पनि डम्पिङसाइट अभाव रहेका कारण यी केराका बोट उपमहानगरपालिकाका कर्मचारीले यत्रतत्र फाल्ने गरेका छन्, जो पछि फोहरको डुंगुर बन्नेछ ।