आइपिएल: मुम्बई इन्डियन्सको पहिलो जित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आइपिएल: मुम्बई इन्डियन्सको पहिलो जित



मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ ।

२ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ सय ६७ रन मात्र बनाउन सक्यो । टोलीका लागि कप्तान विराट कोहलीले उच्च प्रदर्शन गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा टोली लक्ष्यमा पुग्न सकेन । विराटले अर्धशतक पुरा गर्दा अर्का ओपनर क्विन्टन डी कपले १९ रन जोडे ।

मन्दीप सिंले १६, क्रिस वाक्सले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गर्न सकेनन् । विराटले अविजित ९२ रन बनाएका थिए । ६२ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । मुम्बईका लागि कुर्नाल पाण्डेले ३, जसप्रित बुम्राह, मिचेल म्याक्लिनघानले समान २ तथा मयंक मर्कान्डेले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको उच्च प्रदर्शनबाट २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । टोलीका लागि रोहित र इभिन लुइसले अर्धशतक पुरा गरे । हार्दिक पाण्डेयले अन्त्यतिर धुवाँधार ब्याटिङ गर्दै टोलीको स्कोर बढाउने काम गरे ।

५ बल खेलेका हार्दिकले २ छक्का र १ चौकाको मद्दतमा अविजित १७ रन जोडे । टोलीका लागि रोहितले सर्वाधिक ९४ रन बनाए । ५२ बल खेल्दै रोहितले १० चौका र ५ छक्काको मद्दतमा ९४ रन बनाए । लुइसले ४२ बल खेल्दै ६ चौका र ५ छक्काको सहयोगमा ६५ रन जोडे । कुर्नाल पाण्डेयले १५ रन जोडे ।

बैंगलोरका लागि उमेश यादव र कारे एन्डरसनले समान २ र क्रिस वाक्सले १ विकेट लिएका थिए । आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।