म्यादी बन्न ठेलम ठेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

म्यादी बन्न ठेलम ठेल



भैरहवा : म्यादी प्रहरी बन्न रूपन्देहीबाट ९ हजार ८२ जनाले आवेदन दर्ता गराएका छन् । अगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सरकारले देशभरबाट ५८ हजार दुई सय ६८ म्यादी प्रहरीका लागि आवेदन माग गरेको थियो । रूपन्देहीबाट करिब १३ सय म्यादी प्रहरी छनौट गरिने रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

असोज २५ गतेदेखि खुलाइएको आवेदन ३० गतेसम्म चलेको थियो । आवेदन दिनेहरूमा पुरुष ७ हजार ३ सय ६७ र महिला १ हजार ७ सय १५ जना छन् । यसमा भूपू नेपाल प्रहरी १७, भूपू नेपाल आर्मी १२, सशस्त्र प्रहरी ५, वन रक्षक ५, भूपू भारतीय आर्मी १, स्थानीय निर्वाचनमा म्यादी प्रहरी भएर काम गरिसकेका भूपू म्यादी १ हजार ५ सय २६ र अन्य ७ हजार ५ सय १६ जना रहेको डिएसपी पाण्डेले बताए ।

आवेदन खुल्ला गरिएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा युवायुवतीको भीड बढेको थियो । देशमा बढ्दो बेरोजगारी र पछि प्रहरी सेवामा भर्ना हुँदा प्राथमिकतामा परिने आशामा युवायुवतीको आकर्षण बढेको हो । म्यादी हुन युवा युवतीको भीड बढेपछि भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलबाट पनि आवदेन लिने व्यवस्था गरेको थियो । भर्ना आवेदनका लागि मधेसी युवा युवतीहरूको उल्लेख्य उपस्थिति रहेको प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने हिसाबले नेपाल सरकारले म्यादी प्रहरी भर्नाको तयारी स्वरूप आवेदन लिएको हो । म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक भएको, कुनै पनि नैतिक पतनदेखि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त भएको म्यादी प्रहरीमा छनौट हुनेछन् । ५५ दिनको कार्यावधि रहने म्यादी प्रहरीको सेवासुविधा नेपाल प्रहरीको जवान सरह रहेको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा म्यादी प्रहरीको दरखास्त मात्र लिन निर्देशन दिएको छ तर कति संख्यामा राख्ने भन्नेबारे खुलाएको छैन । अन्य जिल्लाहरूमा दरखास्त नपरे छनोट भएका योग्य म्यादी प्रहरीलाई नजिकका जिल्लाहरूमा खटाइने छ ।

श्यामसंकर पाण्डेकाे सहयाेगमा