गुनासो बोकेर म्यादी प्रहरी आन्दोलनमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गुनासो बोकेर म्यादी प्रहरी आन्दोलनमा



जेष्ठ २३, २०७४- स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले आन्दोलन थालेका छन् । सरकारले भनेजति तलब–सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले मंगलबार प्रहरी परिसरमा नाराबाजी गरे ।

आफूहरूलाई ४९ हजार रुपैयाँ मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठुले राईले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । म्यादी प्रहरीलाई तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार २ सय ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए ।

आफुहरुले पाउनुपर्ने रकम ६१ हजार रुपैयाँ पुग्ने म्यादीको दाबी छ । जबकि प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको पत्रमा त्यति रकम दिइने उल्लेख छैन । कार्यालयको बजेट शाखाका अनुसार म्यादीलाई प्रहरी जवानसरह मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब तोकिएको छ । अर्थात्, ५५ दिनको सेवाबापत उनीहरुले ले ३१ हजार ५ सय ८८ रुपैयाँ पाउँछन् । त्यस्तै पोसाक खर्च ७ हजार १ सय, दैनिक २ सय ५० रुपैयाँका दरले ७ दिनको खाजाभत्ता र २ सय ५० रुपैयाँका दरले ७ दिनको विशेषभत्ता, यात्रा खर्च एक हजार रुपैयाँ दिने निर्णय थियो ।

रासन खर्चमा पनि सात दिनको भत्ता दिने व्यवस्था कार्यालयले गरेको छ । रासन खर्च जिल्लाअनुसार फरक हुने गर्छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाको रासन खर्च दैनिक १ सय ७५ रुपैयाँ तोकिएको छ । कार्यालयका अनुसार खाजा नखाने र नगदै लिनेका हकमा १५ प्रतिशत कर कट्टी गरिन्छ । तलबमा पनि एक प्रतिशत कर कट्टी गरिन्छ ।

म्यादी प्रहरीले आफुहरूलाई नियुक्तिपत्र नै नदिई काममा लगाइएको आरोप लगाएका छन् । एसएसपी राईले बीचमै काम छाड्ने समस्या देखिने भएकाले काम सकिएपछि पैसा र नियुक्तिपत्र सँगसँगै दिइएको बताए । कान्तिपुरमा समाचार छ ।