म्याग्दीमा मनोनयन दर्ता शान्तिपूर्ण, तीन सिटको लागि १८ जनाको उम्मेद्वारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

म्याग्दीमा मनोनयन दर्ता शान्तिपूर्ण, तीन सिटको लागि १८ जनाको उम्मेद्वारी



म्याग्दी: आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको हो । प्रतिनिधि र प्रदेशसभा गरि तीन सिटको लागि १८ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

जिल्ला स्थित राजनीतिक दलहरुले पार्टीको केन्द्रिय स्तरमा भएको चुनाबी तालमेल र एकता अनुसार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र कार्याकर्ताको ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेद्वारहरुले जिल्लाको राष्ट्रिय एकता र जिल्लाको समृद्धिको निम्ती आफुहरुले उम्मेदवारी दिएको प्रतिकृया समेत दिएका छन् । म्याग्दीमा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेर उमेद्वारी दर्ता गराएका हुन् ।

एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा र काँग्रेस–राप्रपा गठबन्धनबाट काँग्रेसका खमबहादुर गर्वुजा (खम्बिर)ले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरि प्रतिनिधीसभामा राप्रपा (प्रजातान्त्रीकका) रुपनारायण श्रेष्ठ, राप्रपा एकिकृतका रामबहादुर शाही, मंगोलियन नेशनल अर्गनाईजेशनका रनबहादुर फगामी, राष्ट्रिय जनमुक्ती पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाका फौजबहादुर कार्कीले उमेद्वारी दिएका छन् ।

त्यस्तै प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बिनोद केसी, राप्रपाका भिमप्रसाद गौचन, राप्रपा प्रजातान्त्रीकका बलबहादुर सुनार, स्वतन्त्र उमेद्वार नेत्रबहादुर महत, कर्णबहादुर भण्डारी (केबी) र केपी अधिकारीले उमेद्वारी दर्ता गराउनुभएको छ । चुनावी तालमेलका क्रममा राप्रपालाई सघाउने पार्टीको निर्णयको बिरोध गर्दै नेपाली काँग्रेसका नेता महत र भण्डारीले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको हो । माओवादीसंग तालमेल गर्ने एमालेको निर्णयमा असहमती जनाउँदै एमाले निकट अधिकारीले उमेद्वारी दर्ता गर्नुभएको हो ।

प्रदेशसभाको क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नरदेवी पुन, नेपाली काँग्रेसका अमलाल फगामी, राप्रपा प्रजातान्त्रीकका तिलाराम दमाई, राष्ट्रिय जनमोर्चाका रमेशकुमार पुनले उमेद्वारी दर्ता गर्नुभएको छ । मनोनयन दर्तापछि आयोजित कोणसभामा बाम गठबन्धनको प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र न. १ का विनोद केसी र प्रदेस सभा २ का उमेद्वार नरदेवी पुनले संबिधानको पूर्ण कार्यान्वयन, राजनितिक स्थिरता, जिल्लाको विकास र सम्बृद्धीका लागि बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।