पत्रकार डब्बु क्षेत्री यौन बिद्रोहका कथाहरु लिएर बजारमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पत्रकार डब्बु क्षेत्री यौन बिद्रोहका कथाहरु लिएर बजारमा



जेठ ७ काठमाडौं

 

पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरिएको हो ।

सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू…पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।

पुस्तक लोकार्पण पछि सो कथासँग्रहमाथि अन्तरक्रिया आयोजना गरियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा अभिनेत्री ऋचा शर्माले सँग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् । सँग्रहका थुप्रै कथाका पात्रहरु आफुलाई मन परेको र ती पात्रको रुपमा अभिनय गर्न आफ्नालागि चुनौती बन्ने सक्ने भनाई राख्दै उनले भनिन्,‘कथामा समेटिएका कतीपय पात्रहरु यस्तो मनोविक्षिप्त छन की उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण मैले ठानेको छु ।’ कथाहरु पढिरहँदा आफुलाई छोड्न मन नलागेको उनले बताईन् । हाल आफुले निर्माण गरेको चलचित्र आधा लभ पनि तेस्रो लिँगी तथा समलिँगी बिषयमा केन्द्रित रहेको र नमस्ते काठमाडौंका कथाहरु पनि यौन बिद्रोहमा केन्द्रित आफुले पाएको बताईन् ।

पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र सँग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए । डब्बु क्षत्रीले कथामा आफ्नो छुट्टै पन बनाएको पनि यज्ञशले बताए । समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको बताए ।

उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरु यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । तर कथाहरुलाई शिर्षकमा बर्ग नछुट्याई कुन कथा कुन बर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको हुन्थ्यो भनिन् । तथापि कथाले जो कोहीको मन छुने पनि उनले बताईन् ।

नमस्ते काठमाडौंका लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा कथाकार क्षत्रीले व्याख्या गरे । समाजमा जे देखेको त्यही घटनालाई कथामा बुनेको पनि उनले बताए ।

नमस्ते काठमाडौंका प्रकाशन सँस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग आफुले नमस्ते काठमाडौंमा पाएकोले यो सँग्रह प्रकाशन गरेको बताए । सँग्रह एक साता अघि बजारमा पठाएको र पाठकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराउँदै बिक्री पनि उत्साहजनक रुपमा भएको छ भने । सँग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।