पल प्रकरण: नाबालिगका बाबुले पनि फेरे बयान- 'अरूको उक्साहटमा लागेर जाहेरी दिएँ' - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पल प्रकरण: नाबालिगका बाबुले पनि फेरे बयान- ‘अरूको उक्साहटमा लागेर जाहेरी दिएँ’



काठमाडौं– पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आउने क्रम जारी छ । करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन्। नाबालिगका बुवाले आफूले उक्साहटमा लागेर जागेरी दिएको बताएका छन् ।

‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ स्रोतले भन्यो, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’

तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको अदालत स्रोतले भन्यो । यसअघि पीडित नाबालिगले पनि बयान फेरेकी थिइन्। आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी उनले आइतबार बकपत्रका क्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयान बदल्दै पलले आफूलाई बलात्कार नगरेको दाबी गरेकी थिइन्।

पीडितले आइतबार फरक व्यहोराको बकपत्र लेखाएकी थिइन् जबर्जस्ति करणी भएको बयान भने फेरेकी छन् । पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडित र उनको परिवारले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरुको आशंका छ।

‘तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। ‘मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। साविती बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायाधिवक्ताले भनेका छन्।

त्यस्तै आज पीडितका बुबाको बयानअघि गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन्। सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए।

नाबालिग गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जबर्जस्ती करणी गरेको आरोप पनि जाहेरीमा लगाइएको थियो।