"मध्यरातको भाईबर म्यासेज” |कथा | - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

“मध्यरातको भाईबर म्यासेज” |कथा |



-नबिन पन्त

मध्यरातमा मोबाईल भाइब्रेट गर्यो। क्रान्तिसंग च्याटलाई आजको लागि बिश्राम दिदै भर्खरै मोबाईल चार्जमा राखेको थिए। कुना तिर मुन्टो फर्काएर सुतेको मलाई फर्किन पनि झन्झट लाग्दै थियो। तै पनि मनले मानेन ” ह्या ! हेरेर सुत्नु पर्ला !” आफैसंग बर्बराउदै थिए ।

स्क्रिनमा हेरे भाईबरको नोटिफिकेसन थियो । मन मनै सोचे ग्रुपमा कुन मुर्ख बौलायो यति राति । आवश्यक अनावश्यक भाईबर, फेसबुक ग्रुप गराएर साथीहरुले जोडर हैरान बनाउने गर्छन। टुंगटुंग बजेर निद्रा खलबलाउने हुनाले नै भाइब्रेट मोडमा राखेको थिए। यसले पनि सुख दिएन, झर्को मान्दै खोले।मेरो अनुमान भन्दा फरक मार्टिनाको म्यासेज थियो । ” उत्सब” मेरो नाम मात्र लेखिएको थियो । रातको २ बजे त्यो पनि मेरो नाम मात्र लेखेर म्यासेज पठाएकी छ।केहि जरुरी कामले होला सोचेर ” भन” भनेर रिप्लाई लेखेर पठाए ।

केहि सेकेन्डमै उता बाट  जवाफ आयो ” आई लभ यू “। उसको रिप्लाईले एकै छिन् दिमाग शुन्य भयो , खासै काम गरेन।बिपनामा पनि सपनामा छु कि जस्तो लगायो ।नम्बर चेक गरे  उसकै थियो। प्रोफाइल पिक्चरमा निच्च दात देखाएर हासीरहेकी थिई। मार्टिना मैले काम गर्ने अफिसकि सहकर्मी थिई । तिन वर्ष भयो भेटेको, मेरो र क्रान्तिको रिलेशनशिपको बारेमा पनि ऊ जानकार छे । तर आज उसले अनपेक्षित कुरा भन्दै छे ।के जवाफ फर्कौऊ ? मनले मनसंग परामर्श लिदै थियो ।

” मार्टिना विकेन्ड लागे जस्तो छ त , आर यू ड्रङ्क” स्माइलि इमो म्यासेजमा जोड्दै पठाए ।

“मदहोशमा रमाउदै छु ”

उसको रिप्लाई पढ्दै थिए अर्को म्यासेज पनि टुप्लुक्क आई पुग्यो “। “कहिले कहिँ आफ्नो भावना कुण्ठित गरेर बस्नुको व्यथा सायद यहि व्हिस्कीले मात्र बुझ्न सक्दो रैछ ” अप्रत्याशित कुरा उसले ब्यक्त गरि।

” तिमीले घडी हेरेकि छौ? , रातिको २ बजेको छ” उसलाई सम्झाउने कोशिस गरे।

“उत्सब ! तिमीलाई थाहा छ , यहाँ मैले व्हिसिकी पानी बिना पिउन सक्दिन र यी रातहरु पनि अध्यारो बिना चम्किन सक्दैन।यहाँ कैयौ रातहरुले अध्यारोमा चम्किदै दुई बजाउने गर्छन । यो पहिलो रात होइन “व्हिस्कीको फोटोसंगै घुमाउरो कुनै फ्लिमको लागि लेखिएको संबाद जस्तो लाग्ने म्यासेज पठाई। यता मलाई निद्राले च्यापेको थियो उसलाई भने नशा र भावना उत्तिकै चढ्दै थियो । फेरी उतै बाट म्य्सेज आयो ” तिमीलाई थाहा छ , म तिमीलाई प्रेम गर्छु ”

उसले आज फरक पन देखाएकी थिई । अफिसमा समेत यी ३ वर्षमा उसले कहिले पनि प्रेमभाब दर्शाएकी थिईन। उसलाई म रिलेशनशिपमा छु भन्ने थाहा हुदा हुदै पनि यो सबै किन गर्दै छे? आफैलाई सोधे – उत्तर थिएन ।

मैले उसलाई सोधे ” प्रेम के हो तिम्रो लागी ? ”
” प्रेम नै तिमी हो उत्सब ” उत्सब = प्रेम लेखेर पठाई ।

उसले बिगतको बारेमा केहि बताउदै लेख्दै गई – कुनै दिन मैले सोधेकी थिए ” तिमी मलाई बिवाह गर्नु पर्यो भने के गर्छौ? उसले नै मैले त्यति बेला दिएको प्रतिक्रिया पनि बताई ” म कोरियन भएको र उमेरमा पनि ठुलो भएको हुनाले बिहे गर्दैन भनेर तिमीले भनेका थियौ ।” मलाई बिगतको कुरा सम्झाउन खोजि।

अफिसको डिनरमा कल्चर , भाषा , देशले बिवाह र प्रेममा फरक पर्छ पर्दैन भन्ने कुरा हाम्रो ग्रुपमा बादबिवाद चलेको थियो त्यति बेला नै मार्टिनले यदि बिहे गर्न पर्यो भने के गर्छौ भनेर सोधेको सम्झिए ।

हा हा त्यति पहिलेको डिनरको कुरा ? मैले हास्दै गरेको इमो पठाए।

“तिमीलाई प्रेम गर्छु भन्न डराएकी होइन , तिम्रो प्रतिक्रियासंग डराएकी थिए आज दिल खोलेर भनेकी हु , हुन त तिमीलाई मैले प्रेम गर्छु भन्ने कुरामा मजाक लागे जस्तो छ त्यसैले हास्दैछौ “उसले झर्किदै लेखि।

उसको लेखाईले मनमा प्रश्नहरु उबजाई रहेको थियो तर पनि उसलाई सम्झाउनु बाहेक विकल्प थिएन ” म तिम्रो प्रेमलाई सम्मान गर्छु तर प्रेम बाट अपेक्षा नराख “।

त्यति नै बेला क्रान्तिको म्यासेज आयो ” सुत्नु पर्दैन? ” फेरी अनलाईन?
होइन , पिसाब गर्न उठेको अब सुत्छु ” क्रान्तिलाई बहाना गराउदै भने ।
“ल ल सुत ! भोलि बिहान उठेर कल गर” मेरो मनकी महारानीको हुकुम भयो । मैले पनि “हवस ” भन्दै पानको पातमा तिरको बाणसंगको इमो पठाए ।

फेरी यता मार्टिनको म्यासेज आयो ” तिमीले मेरो प्रेमलाई गरेको सम्मानको लागि म कृतज्ञ छु । उसले थप्दै लेखि ” उत्सब! तिमीले अहिले सम्म मैले प्रेम गर्छु भन्ने ध्यान दिएका थियौ ?”।

कुरा लम्बिए उता क्रान्तिले अनलाईन देखि भने शंका गर्ने हो कि ? डरको त्यान्द्रोले बेर्दै थियो उपाय फुरी हाल्यो । भाईबरको प्राइभेसीमा गएर सेयर अनलाईन स्ट्याटस अफ गरेर ढुक्क भए ।

मैले आफुले अहिले सम्म त्यस्तो अनुभब नगरेको मार्टिनालाई बताए तर उसले प्रश्नहरु थप्दै गई ।

“तिमीलाई अझै पनि म चिम्सी र बुढी लाग्छ ? ”
– कसले भन्यो ? तिमी बुढी र चिम्सी छ भनेर !” हा हा हा च्याटको हासो सहित प्रतिक्रिया दिए ।

“मजाक लाग्छ है , तिमीले भनेका थियौ बिर्सियौ ” फेरी सोधी
-“मैले तिमीलाई कहिले पनि त्यस्तो भनेको छैन” मैले भने ।

“त्यो मेरो अन्तर्मनको आवाज थियो , हुन त मेरो भावना र प्रेम तिम्रो लागि भद्दा मनोरंजन बन्दो रैछ” उसले दुख पोख्दै भनि।
– मैले भनि सके ” म तिम्रो प्रेमलाई सम्मान गर्छु तर प्रेम अपेक्षा मात्र होइन मेरो लागि ” च्याटमा दोहोरी चल्दै गयो ।

” म त अपेक्षा राखेर तिमीसंग प्रेम गर्दैछु, माफ गर मेरो जिद्दीपनको लागि । तर पहिलो दिन जब तिमीलाई देखे , तिमी मुटुको धड्कन बन्नेछौ भनेर कल्पना पनि गरेकी थिईन। तिम्रो त्यहि हेराईले फिदा गरायो तिमी प्रति।

“कुन हेराई ? ” मैले थाहा नभएको बताए ।

“जब तिमी हाम्रो अफिसमा नया नै थियौ , हुन त त्यो हेराईले मेरो लागी मात्र थिएन होला तर त्यहि दिन देखि तिमी प्रति यो मन चंचल हुन सुरु गरेको हो ।

आफ्नो तारिफ पढ्दै एक्लै हास्दै उसलाई रिप्लाई लेखे ” मेरो त्यस्तो कुन हेराई हो ? पछाडी जिब्रो टोकेको इमो नि जोडीदिए। इमोले हुन सक्छ ” मेरो भावना मजाक लाग्छ है ” उता बाट खरो प्रतिक्रिया आयो।

त्यो हेराई कस्तो थियो ? मैले प्रश्न सोधे

मलाई थाहा छ , त्यो मेरो लागि थिएन तर पनि त्यो क्षणको बारेमा भन्छु सुन !

तिमी अफिस बाट लामो बिदामा नेपाल जानु भन्दा एक दिन अगाडीको कुरा हो। त्यो साझ हामीले संगै ओभर टाईम गरेका थियौ। तिमी अफिस छोडेर घर जादै थियौ , तिमीले हिड्ने बेला ढोकामा पुगेर मलाई फर्केर हेरेका थियौ ” त्यो हेराई मैले कहिले पनि बिर्सिन सक्दिन ।

त्यसको अर्को दिन तिमी नेपाल जादै थियौ । आज पनि जब आखा बन्द गर्छु , तिमीले छोडेर जादाको त्यो दिन आखा वरीपरी घुम्छ त्यति बेलाको आशा अहिले मनमा छैन त्यसैले त आशामा सुकेर निराशा बनेको यो मनलाई भुलाउन कयौ रातहरु यहि व्हिस्की साहारा बन्छन । तिमी जति बेला गयौ मलाई एकदमै गार्हो भएको थियो।जिबनमा पहिलो पल्ट कोहि टाडा जादा यस्तो अनुभब गरेकी थिए। ति ७ हप्ता पनि ७ वर्ष जस्तै लागेको थियो ।उत्सब त्यहि दिन देखि यो मुटु यसरी धड्किन लागेको हो तिम्रो लागि।

म नेपाल गएर अफिसमा फर्कदा सबैले सुखद दाम्पत्यको बधाई दिएका थिए , मेरो टेबुल भरि बधाईका कार्ड र फूलहरुले भरिएका थिए । कयौ दिन म बिवाह गरेको छैन भनेर सबैलाई बताउन परेको थियो । यो भ्रम फैलाउने मार्टिन नै थिई त्यसैले उसलाई सोधे ” तर तिमीले त म बिहे गर्न गएको भनेर अफिस भरि हल्ला पिटेकी थियौ त ?

आई यम सरि , मैले त्यति बेला ईर्ष्या गरेकी थिए र मनमा शंका पनि थियो यदि तिमीले बिवाह गर्यौ भने भनेर त्यसैले सबैलाई तिमी बिहे गर्न गएका छौ भनेर भनिदिए ।
…..

मार्टिनको प्रेमी थियो तै पनि उसले मलाई प्रेमका शब्द गुच्छाहरुले अभिषेक गर्दै थिई । उसले मलाई समुन्द्री तटहमा उसको प्रेमीलाई चुम्दै गरेको फोटो पनि देखाएकी थिई। तिमीले बिर्सियौ मार्टिन “तिम्रो प्रेमी छ भन्ने कुरा ? ” मैले सोधे
“मलाई थाहा छ मेरो प्रेमी छ , त्यो तिमी हौ जो हरेक रात सपनीमा आएर चुमीरहन्छ “। उत्सब ” मलाई आज धेरै नै लाग्यो, तिमीले लगाएको मोहोनी जस्तै , टाईप गर्न पनि गार्हो भएको छ मैले रिप्लाई गरिन भने नि नरिसाउ ल !” रक्सिले मातेर लट्ठ भएकी उसले आग्रह गर्दै थिई । थप्दै भनि ” लभ यु सो मच डर्लिङ्ग” चुमेको इमो सहित म्यासेज पठाई ।

निद्रा देवीलाई उसलाई निद्रालोकमा धकलेकोमा धन्यबाद दिए , रिप्लाई दिएमा कुरा बढ्न सक्थियो त्यसैले केहि लेखिन । मोबाईल भाइब्रेट गर्न छोड्यो , आनन्दको लामो सुस्केरो ताने । सुत्नु अगाडी मनमनै सोचे “के एकै चोटी दुई व्यक्तिसंग प्रेम हुन सक्छ त ? किन यो  सबै गर्दै छे ? रक्सिको नशामा त फेरी मनको कुरा बोल्छन रे ! आफै दिमाग घुमाउदै थिए ” के मार्टिनाले मलाई प्रेम गर्छे त ? कि व्हिस्कीको चुस्की प्रेम मात्र हो ।