नेकपामा प्रधानमन्त्री ओली समुहको नैतिक पराजय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेकपामा प्रधानमन्त्री ओली समुहको नैतिक पराजय



काठमाडौं- नेकपा सचिवालयको कात्तिक २८ गते बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले प्रस्तावको रूपमा स्वीकार नै गरेको छैन ।

उक्त प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सँगै बस्ने कुरो धेरै टाढाको विषय रहेकाले खुमलटारसँग नजिक भनिएकाहरूसँग हेराहेर गरेर सम्वादसमेत गर्न सकिँदैन भन्ने मनोविज्ञान बालुवाटार निकटहरूलाई परेको थियो भनिन्छ ।

तर,बुधबारको बैठकमा उक्त प्रस्ताव फिर्ता नहुँदा पनि स्वयम् प्रधानमन्त्री तथा अध्यक्षलगायत सबै सदस्यको उपस्थिति हुनुलाई खुमलटारले आफ्नो जीत ठानेको छ ।

त्यसैगरी, सचिवालयको बैठक तय भएको समय र स्थानमा एकाएक बुधबार बिहान क्याबिनेट बैठक बोलाइएको थियो । तर, विकसित घटनाक्रमले त्यो रणनीति पनि फेल खाएपछि तीन बजेतिर मात्र क्याबिनेट बैठक बस्न सक्यो ।

कार्यकारी अध्यक्षको प्रस्ताव फिर्ता गर्नुपर्ने माग राख्दै आएका अध्यक्ष तथा प्रधानमन्त्री उल्टै आफूले पनि सचिवालयमा अर्को प्रस्ताव पेश गर्छु भन्ने तहमा पुग्नुले त्यसअघि नै प्रस्ताव पेश गरेकाहरूको नजरमा बुधबार बसेको बैठकले बालुवाटारको नैतिक पराजय गराएको खुमलटार निकटस्थहरू बताउँछन् ।

अर्कोतर्फ, प्रधानमन्त्रीको सबैभन्दा ठूलो चाहना सचिवालय बैठकमा अनुपस्थित भएर संसद बिघटन गर्ने भन्ने नै थियो । तर,अब संसद बिघटन कुनै हालतमा हुने सम्भावना देखिँदैन । उनको उक्त योजनामा पनि प्रधानमन्त्री तथा बालुवाटार समूहले पराजय महशुस गरेको बताइन्छ । अब सचिवालयको आगामी बैठकमा प्रस्तुत दुईवटा प्रस्तावमाथि छलफल गरेर एउटा निश्कर्षमा पुर्याउनैपर्ने हुन्छ ।

यो विषय यसअघि कार्यकारी अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि पनि लागू हुने भएकाले प्रतिवेदन नै फिर्ता हुनुपर्छ भन्नेहरूको लागि दाँतमा ढुङ्गो लागेसरह भएको खुमलटारको विश्लेषण छ ।

बुधबार दिउँसो विकसित नेकपाभित्रको राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीको योजना र चाहनालाई पनि थप साँघुरो बनाइदिएको जनआस्थाले लेखेको छ ।