नाकाबन्दीको झल्को: तेल, ग्यास र उपभोग्य वस्तुको अभाव - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नाकाबन्दीको झल्को: तेल, ग्यास र उपभोग्य वस्तुको अभाव



काठमाडौँ- नेपालको भूभाग राखेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारतविरुद्ध जनता आक्रोशित भएका छन् । विभिन्न पक्षबाट जमिन फिर्ता गर्नुपर्ने भन्दै भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी भइरहेको छ ।

भारतले भने आफूहरूले उक्त भूभाग भारतकै भएको दाबी गरेको छ । जनस्तरमा आक्रोश बढेपनि सरकारले औपचारिक रूपमा केही कदम अगाडी बढाउन सकिरहेको छैन । यसै विषयलाई मुद्दा बनाएर भोलि भारतले जे पनि गर्न सक्ने केहीको अनुमान छ । यसै अनुमानको भरमा अहिले बजारमा उपभोग्य बस्तुहरूको चरम अभाव देखाउन सुरु गरिएको छ ।

रक्सौल नाका बन्द गर्नुपर्ने भन्दै भारतले बारम्बार दबाब दिइरहेको र नक्सा विवादले चरम रूप लिनसक्ने कारणले व्यापारीहरूले कृत्रिम अभाव सुरु गरेपछि उपभोक्ताहरूले सामान नपाउने अवस्था देखिएको छ । कतिपय दैनिक उपभोग्य बस्तुहरूको मूल्य २ सय गुनासम्म बढाइएको छ ।

पेट्रोल पम्पहरूले पनि पेट्रोलियम पदार्थमा अभाव देखाउँदै सीमित मात्र दिन थालेको सवारे चालकहरूको गुनासो सुरु भएको छ । कतिपय पेट्रोल पम्पमा भने नाकाबन्दी झल्काउने लामो लाइन देखिन थालेको छ । केही पेट्रोल पम्प व्यवसायीले तेल आउन छाडेको र पहिले भन्दा निकै कम आउने गरेको गुनासो समेत गरेका छन् ।

खाना पकाउने ग्यास पनि ब्यावसायीहरूले लुकाउन थालेको उपभोक्ताले बताएका छन् । भीमसेन गोला सानो व्यवसाय गरेका हेमबहादुर रानाले ३/४ वटा ग्यास एकै पटक साट्ने पसलले मुस्किलले एउटा दिन थालेको गुनासो गरेका छन् । पसलेसँग उनले जिज्ञासा राख्दा ग्यास सटेज हुनलागेको बताएपछि नाकाबन्दी नै लाग्न थालेको हो कि भन्ने लाग्यो उनले हिमालपोस्टसंग भने ।

बजारमा तरकारीको भाउ पनि २ सय प्रतिशत सम्म वृद्धि भएको छ । पसलेहरूका अनुसार भारतबाट आउनुपर्ने सामान निकै कम आउन थालेको र बजारमा तरकारी जन्य समानको अभाव देखिएको बताएका छन् । टमाटर र प्याज सबै भन्दा कम आएकोले अत्यधिक मूल्य वृद्धि भएको कुलेश्वरका एक व्यापारी राम गिरीले बताए । उनले भने ‘भारतीय पक्षले पहिले जस्तो सहज रूपमा सामान आउन दिएको छैन नेपालमा भइरहेको आन्दोलनले गर्दा यस्तो अवस्था आएको हुनसक्छ’ ।

कतिपय थोक व्यापारीले खुद्रा व्यापारीलाई अड्कलेर सामान दिन थालेको व्यवसायीहरूको गुनासो छ ।