रामप्रसाद खनाल: जसले मदन भण्डारीको नक्कली अन्तर्वार्ता छापेका थिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रामप्रसाद खनाल: जसले मदन भण्डारीको नक्कली अन्तर्वार्ता छापेका थिए



काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु भएको २७ वर्ष पुग्यो । उनको ह’त्या पुष्टि नभएको मृत्युलाई नेपालमा एउटा युग नै समाप्त पार्ने षड्यन्त्रको रूपमा आजका दिनसम्म पनि अर्थ्याइन्छ ।

दासढुङ्गामा भएको जीप दुर्घटनामा उनको मृत्यु भएको थियो। यतिधेरै वर्ष भइसक्दा पनि त्यो दुर्घटना थियो कि नियोजित षड्यन्त्रका कारण भएको ह’त्या थियो भन्ने विषयमा चर्चा चलिरहन्छ । नेकपाका सबैजसो शिर्ष नेताले यो घटनाको अनुसन्धान गरिने भाषण सधै गर्छन ।

मृत्यु भएको केहि समय त झन् कति हो कति चर्चा हुन्थे । घटना लगत्तै त झन् विभिन्न हल्लाहरु चल्नु स्वभाविकै थियो। यही घटनासँग जोडेर त्यतिबेलाका नेपाली सञ्चारमाध्यमहरूले त झन् अनेक अड्कल गरेरै पनि समाचार बनाए । उनको मृत्युलाई अड्कलका भरमा विभिन्न घटनाक्रमसँग जोडेर समाचार र लेख बनाइन्थ्यो ।

त्यतिमात्र होइन उनको मृत्युलाई लिएर कैयौं गीतहरू पनि बनेका छन् । धेरैपछि उनको घटनालाई आधार बनाएर चलचित्र पनि बनाइएको थियो । २०५० सालमै दासढुङ्गा दुर्घटना हुनेबित्तिकै एउटा अन्तर्वार्ता छापिएको थियो जसलाई मदन भण्डारीको अन्तिम अन्तर्वार्ता भनेर प्रचार गरियो ।

त्यो अन्तर्वार्ता छापेका थिए अहिले अमेरिकाको मेरिल्याण्डमा बस्ने त्यतिबेलाका चर्चित दोहोरी गायक तथा पत्रकार रामप्रसाद खनालले । जेठ ६ गते खनालले मदन भण्डारीको अन्तिम र ताजा अन्तर्वार्ता भन्दै उनको आफ्नै पत्रिका निष्पक्ष साप्ताहिकमा त्यो अन्तर्वार्ता छापेका थिए। तर, पछि त्यो अन्तर्वार्ता भने नक्कली प्रमाणित भएको थियो ।

चर्चा कमाउनकै लागि उनले मदन भण्डारीको झुटो अन्तर्वार्ता छापेर उनि त्यतिबेला निकै विवादमा पनि तानिएका थिए । पछि पो थाहा भयो, मदन भण्डारीले त्यो अन्तर्वार्ता दिएकै रहेनछन्।

खनालले नक्कली अन्तर्वार्ता छापेको प्रमाणित भएपछि पत्रकार महासंघले कारबाही समेत गरेको थियो । महासंघ, रुपन्देही शाखामा उजुरी परेपछि महासंघले कारबाही स्वरुप खनालको सदस्यता खारेज गरेको थियो ।

त्यतिबेला चर्चामा रहेका गायक तथा पत्रकार रामप्रसाद खनाल जनयुद्ध चलिरहेकै बेला अमेरिका छिरेका थिए । खनाल त्यतिबेला दरबारसंग निकै निकट थिए । माओवादी जनयुद्धका बेला दरबारमा सुराकी गरेको आरोप उनीमाथि लागेको थियो ।

पछि माओवादीबाट असुरक्षा देखाउँदै राजपरिवारको सहयोगमा उनि अमेरिका पलायन भएको आरोप उनीमाथि छ ।