काठमाडौंमै नेपाली नक्कली नोटको 'फ्याक्ट्री': मेसिन र नोटसहित केहि समातिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंमै नेपाली नक्कली नोटको ‘फ्याक्ट्री’: मेसिन र नोटसहित केहि समातिए



काठमाडौँ- राजधानी काठमाडौंमै नेपाली नक्कली नोटको बिगबिगी भएको फेला परेको छ । नेपाली नक्कली नोट छपाइ र कारोबार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती–८ घर भई काठमाडौं गोकर्णेश्वर–६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछाप सिरुवारी–२ घर भई बूढानीलकण्ठ–११ कपन बस्ने २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु–२ घर भई बूढानीलकण्ठ–१० मिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।

गोकर्णेश्वर–७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ–११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा पुष्पाका छोरा समरोज थापा मगरले कोठामा नक्कली नोटहरु छाप्ने गरेको खुलेको छ । उक्त कोठामा तयारी गरी राखेको अवस्थाको १०० रुपैयाँ दरको नक्कली नोटहरु र नोट बनाउन प्रयोग हुने १०० रुपैयाँ दरको रंगीन प्रिन्ट कागजहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसमा चिरञ्जीवी जोती र सुजन जोतीको समेत संलग्नता देखिएको छ ।

उनीहरुको साथबाट प्रहरीले सक्कलीजस्तो देखिने रकम ६५ हजार ३३५ रुपैयाँ, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १०० रुपैयाँ दरको नोट १६६ थान, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १००० रुपैयाँ दरको नोट ३६ थान, नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको १००० रुपैयाँ दरको ११६ थान र पछाडिको भागको ९२ थान कागज बरामद गरेको छ । उनीहरुले दुई महिनादेखि नक्कली नोट छाप्न थालेको प्रहरीसँगको बयानमा बताएका छन् । साथै हालसम्म १०० रुपैयाँ दरका १५ सय थान नक्कली नोट बौद्ध–जोरपाटी क्षेत्रमा पठाएको आरोपितहरुले बताएको प्रहरीले जनाएको छ ।

प्रहरीले नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको ५०० रुपैयाँ दरको ५६ थान र पछाडिको भागको ५६ थान, एफोर साइजको प्रिन्ट पेपरको एक पेजमा ३ वटा १०० रुपैयाँ दरको नोट रंगीन प्रिन्ट गरी छापिएको ३० थान पाना, एफोर साइजको प्रिन्ट पेपरको एक पेजमा ३ वटा १०० रुपैयाँ दरको नोटको अगाडिको भागलाई रंगीन प्रिन्ट गरी छापिएको १८९ पाना बरामद गरेको छ ।

उनीहरुको साथबाट कागज टाँस्ने फेबिकोलको बट्टा २ थान, मोबाइल २ थान, पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टर १ थान र उक्त प्रिन्टरभित्र फोटोकपी गर्न तयारी अवस्थामा टेपले टाँसेर राखिएको १०० रुपैयाँ दरको सक्कलीजस्तो देखिने नोट ३ थान, सोही प्रिन्टरमा प्रयोग हुने एचपीजीटी ५२ लेखिएको रङ प्रयोग नभएको मसीको बट्टा ३ थान र प्रयोग भएको मसीको खाली बट्टा ४ थान, लाँलीगुरास छाप भएको स्ट्याम (छाप) १ थान, काटिएको विभिन्न कागजका मसिना टुक्राहरु र पेपर काट्ने कैंची १ थान बरामद भएको एसपी बस्नेतले बताए ।