नक्कली भुटानी शरणार्थी प्रकरण- थप एक जना पक्राउ - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण- थप एक जना पक्राउ



काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना फरार प्रतिवादी समातिएका छन्। गिरोहमा संलग्न हरिभक्त महर्जन पक्राउ परेका हुन्।

उनलाई बिहीबार नियन्त्रणमा लिएर आजै जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। योसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका समातिने सदस्य १८ जना पुगेका छन्।

यसअघि पक्राउ परेकाहरुको जिल्ला अदालत काठमाडौंमा बयान लिने क्रम जारी छ। पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमसेर मियाँको बयान आज सकिएको छ। उनीहरुसहित आजसम्म १५ जनाको बयान सकिएको छ।

आफ्नो पालोमा बयान दिन बहाना बनाउँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आज हुनेछ। यसअघि खाण बयान दिन मंगलबार अदालत पुगेका थिए तर उनले बयान दिएका थिएनन्।

खाणसहित सक्कली भुटानी शरणार्थीका नेता एवं मानवअधिकारकर्मी टेकनाथ रिजाल र महर्जनको बयान आज हुने जिल्ला अदालत काठमाडौंले बताएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले आज शुक्रबार ३ जनाको बयान हुने भएपछि थुनछेक बहस आइतबार मात्रै सुरु हुने बताए।

थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ८ जना वकिलले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि प्रतिवादीहरु तर्फका वकिलले बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि अदालतले पक्राउ परेकाहरुलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुर मुद्दा चलाइएका ३० मध्ये आजसम्म १८ प्रतिवादी पक्राउ परेका छन्। उनीहरुमध्ये १५ जनाको बयान सकिएको छ। फरारको सूचीमा रहेका अन्य १२ जनाको खोजी तीब्र पारिएको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्।

३० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा पेश गरेकै भोलिपल्ट सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका तर अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा अघि बढाउन प्रहरीलाई पत्राचार गरिसकेको छ।

साथै, सार्वजनिक पदमा रहेर गिरोहमा संलग्न प्रतिवादीहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाईसमेत कार्यालयले पत्राचार गरिसकेको छ।

सरकारी वकिलको कार्यालयका पत्रानुसार बयानमा नाम पोलिएकाहरुमाथि पनि अनुसन्धान तथा प्रमाण खोज्न प्रहरी लागि परेको छ। जाहेरीका साथमा पेश भएको अडियो फाइलमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती एवं सांसद डा. आरजू राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती एवं सांसद मन्जु खाण, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापाका नाम छन्।

बादलका छोरा प्रतीकविरुद्ध मुद्दा दायर भएको छ भने रामबहादुर र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन।

प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्यमाथि छानबिन गर्ने बाटो खुलेको थियो।

प्रहरीले यो विषयमा अनुसन्धान जारी रहेको बताएको छ। यो अनुसन्धान रोकिन अवस्था नरहेको जिकिर गर्दै काठमाडौंका एसपी रिजालले प्रहरीले अनुसन्धान जारी राखेको बताएका छन्।