नक्कली चालक अनुमतिपत्र लिनेको सङ्ख्या बढदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नक्कली चालक अनुमतिपत्र लिनेको सङ्ख्या बढदै



हिमाल पोष्ट /२४ मंसिर, बनेपा ।नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या काभ्रेपलाञ्चोकमा बढदै गएको छ ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारीसाधन सञ्चालन गरेको आरोपमा जिल्लाको च्याम्रेङवेँसी गाविस– ५ का २२ वर्षीय सूर्य स्याङतानलाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् । स्याङतानलाई पक्राउ गरेपछि नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गर्नेको सङख्या काभ्रेपलाञ्चोकमा ३२ पुगेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्याङतानको नाममा रहेका ०६३७०९८० नम्बरको सवारी चालक अनुमति पत्र शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा किर्ते सवारी चालक अनुमतिपत्र फेला परेको हो । उहाँलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

पक्राउ परेकामध्ये आर्थिक वर्ष ०७२÷७३ मा २३ र चालु आर्थिक वर्षमा नौजना रहेका छन् । तीमध्ये चारजना विचौलिया, तीनजना नक्कली परमिट लिएका र २४ जना नक्कली सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यसैबीच ढुङ्गा गिट्टी लिएर पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेका टिपरले नियम विपरित सडकमा पानी चुहाउँदै गरेको आरोपमा १२ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उनीहरुसँग प्रहरीले सवारी चालक अनुमतिपत्र माग गरेपछि हुलहुज्जत गरी अपशब्द प्रयोग गरेको कारण सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय, धुलिखेलको हिरासतमा राखिएको छ । पक्राउ परेका अधिकांश काभ्रेपलाञ्चोकका छन् भने ललितपुर, धादिङ र नुवाकोट जिल्लाका पनि केहि छन् ।